मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
सुशील विके
२o८३ श्रावण २९ शुक्रबार o८:२८:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अतिवादको अन्त्य : शान्ति र सद्भावको शुभारम्भ

Read Time : > 5 मिनेट
सुशील विके
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o८:२८:oo
  • सामाजिक सञ्जालबाट तीव्र गतिमा फैलिने घृणास्पद अभिव्यक्ति, अफवाह र अतिवादी विचारले हिंसाको वातावरणमा घिउ थप्ने काम गरेको छ

चारजनाको मृत्यु हुने गरी भएको मधेशको धार्मिक द्वन्द्वले फेरि एकपटक नेपाली समाजलाई नराम्रोसँग झस्काएको छ । जेन–जी आन्दोलनका नाममा भएको विध्वंशले त्रसित नागरिक कतै देश अकल्पनीय साम्प्रदायिक हिंसामा प्रवेश गर्ला कि भन्ने भयमा देखिए । घृणा, आलोचना र गालीका माध्यमबाट नेपाली समाजको सतहमा योजनाबद्ध रूपमा फैलाइएको मन्द विषको प्रभाव अहिले सबैतिर प्रकट हुन थालेको छ । जसरी सामाजिक सञ्जालको प्रयोग गरी नेपाली समाजमा विद्यमान निराशा र आक्रोशमाथि खेलबाड गरी जेन–जी आन्दोलनलाई अराजकतामा बदलेर विध्वंश मच्चाइएको थियो, त्यसैको ‘साइड इफेक्ट’ मधेशमा देखियो । 

नेपाललाई विभिन्न बहानामा प्रयोगशाला बनाएर आफ्नो स्वार्थ पूरा गर्ने खेल लामो समयदेखि हुँदै आएको पाइन्छ । यसकै कडीका रूपमा देखिएको यो घटना धार्मिक मात्र होइन, नेपाली समाजमा लामो समयदेखि रहेका अन्तरविरोधको उपज पनि हो । नेपाली समाजमा जात, धर्म, भाषा, लिंग, क्षेत्र र भूगोलसँग सम्बन्धित अन्तरविरोधलाई जबर्जस्ती राजनीतिसित जोड्ने, चुनावी जोडघटाउ गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति देखिँदै आएको छ । अहिले यस्तो वेलामा धर्मलाई जोडेर आफ्नो स्वार्थ पूरा गर्ने कुत्सित योजना अगाडि आयो, जतिवेला सरकार चौतर्फी आलोचना र संकटको घेरामा परेको छ । राजनीतिक अविश्वास, जनतामा भएका असन्तुष्टि, निराशा र आक्रोशले अहिले युवा विद्यार्थी, किसान, मजदुर, सुकुमवासी, पत्रकार, सरकारी कर्मचारीलगायत समाजका सबै तप्का आन्दोलनमा भएको तरल अवस्थामा मधेशमा धार्मिक द्वन्द्व बढ्नु गम्भीर हो । 

अतिवादी सोच र साम्प्रदायिकता : नेपालमा ऐतिहासिक समयदेखि एकखालको अतिवाद हाबी छ । मेरो धर्म सर्वश्रेष्ठ, मेरो धर्म पुरानो, तेरो नयाँ, मेरो जात सर्वश्रेष्ठ, तेरो सानो, म शुद्ध, तँ अशुद्ध, म छुत, तँ अछुत, म राम्रो, तँ नराम्रो, म सबै हिसाबले ठिक, तँ बेठिक भन्ने अतिवाद हाबी छ । नेपाललाई विविधतामा एकता, धार्मिक र सामाजिक सहिष्णुता भएको देश भनिए पनि अन्तर्यमा विभिन्न अन्तरविरोध जरा गाडेर बसेका छन् । यसले हिन्दु र मुस्लिम, मधेशी र पहाडी, दलित र गैरदलित, जनजाति र गैरजनजातिबिच जुनसुकै वेला पनि द्वन्द्व गराउन सक्छ । हुँदाहुँदा यस्तै अतिवाद अहिले राजनीतिमा पनि हाबी छ । मेरो दल नयाँ अनि सिद्धान्त, नेता, संरचना मेरै दलको राम्रो, अरू दल पुराना, नराम्रा र कमजोर भन्ने अतिवाद हाबी छ ।

म, मेरो पार्टी र मेरो पार्टीको सिद्धान्त मात्र राम्रो र अरू सबै नराम्रो भन्ने अतिवादी सोच बोक्ने तथा अरूलाई होचो देखाएर आफू अग्लो हुने सोचले राजनीतिमा निषेध, प्रतिशोध र पूर्वाग्रह बढाउँछ । यसले राजनीतिलाई संकीर्ण र दूषित बनाउँदै अन्ततः सद्भाव, विश्वास, समन्वय र सहकार्यको वातावरणलाई बिथोल्छ । विगतका अनेकौँ द्वन्द्वले पनि यही देखाउँछन् ।

अतिवाद सधैँ हानिकारक हुन्छ । चाहे जातीय, धार्मिक अतिवाद होस या राजनीतिक, जे भए पनि त्यसले नोक्सान नै पुर्‍याउँछ । दलहरूले धर्मका नाममा राजनीति गरी सत्तामा पकड जमाउन खोज्ने प्रवृत्तिले पनि समस्या आएको छ । यसले मधेशमा धार्मिक अतिवाद र दंगा फैलाउन सघाएको छ । साथै, पछिल्लो समय सामाजिक सञ्जालबाट तीव्र गतिमा फैलिने घृणास्पद अभिव्यक्ति, अफवाह र अतिवादी विचारले हिंसाको वातावरणमा घिउ थप्ने काम गरेको छ ।

मधेशको कमजोरीमा खेल्ने सोच : मधेश विकासका अधिकांश सूचकमा पछि परेको प्रदेश हो । उर्वर भूमि र सहज सडक यातायातको उपलब्धता भए पनि मधेश सधैँ पछि परेको छ । यहाँको सामाजिक तथा राजनीतिक परिवेश अन्यत्रभन्दा निकै फरक छ । विभिन्न जातीय, धार्मिक र भाषिक समुदायको सघन बस्ती छ यहाँ । भारतसँग खुला सिमाना भएका कारण उताको राजनीतिक तथा सांस्कृतिक प्रभाव पनि यस क्षेत्रमा बढी नै पर्ने गरेको छ । तथ्यांकले यहाँ बेरोजगारी, गरिबी, अशिक्षा, चेतनाको कमी, विभेद, असमानता चर्को रहेको देखाउँछ । यी सबै कमजोरी र सामाजिक परिवेशको जगमा तराई मधेशमा विभिन्न शक्तिले खेल्ने गरेका छन् ।

नागरिकको कमजोर अवस्था र चेतनाको कमी भएको ठाउँमै देशी–विदेशी प्रतिगामी तŒवले खेल्ने र अस्थिरता मच्चाउने गर्छन् । नेपालमा यस्तो प्रयास बारम्बार हुने गरेको सरकार र दलहरूको जानकारीमै छ । तर, उनीहरू दीर्घकालीन समाधानमा नलागी आफ्नो स्वार्थमा लाग्दा घाउ सधैँ बल्झिरहेको छ । तराई मधेशमा विभिन्न समयमा अतिवादी हर्कत देखिँदै आएका छन् । सुनसरी, वीरगन्ज, रौतहट, कपिलवस्तु, नेपालगन्ज, दाङलगायत जिल्लामा कहिले जातीय, त कहिले धार्मिक भड्काउ देखिने गरेको छ ।

खुला सिमानाका कारण भारतमा निरन्तर बढ्दै गएको भाजपाको प्रभाव तथा अतिहिन्दुवादी प्रभाव पनि यस क्षेत्रमा परेको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गराउने तथा धर्मका नाममा नेपाललाई अस्थिर बनाएर आफ्नो स्वार्थको रोटी सेक्ने पंक्तिले यहाँ बारम्बार धर्मका नाममा आतंक फैलाइरहेका छन् ।

चुकेको सरकारको टालटुले समाधान : साम्प्रदायिक दंगाजस्तो गम्भीर र संवेदनशील घटना हुँदा तीव्र गतिमा राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नबाट सरकार नराम्रो गरी चुक्यो । वार्ता र संवादबाट निकास खोज्नुपर्नेमा अनावश्यक बल प्रयोग गरेर बसेको सरकार घटनाको पाँचौँ दिनपछि मात्र समस्या समाधानमा अग्रसर भयो । सरकारको यस्तो लापरबाहीले दंगा धेरैतिर फैलिने, चारजनाको ज्यान जाने तथा ठुलो संख्यामा घाइते हुने अवस्था आयो । सामाजिक सञ्जाल र ‘स्टन्टबाजी’मा रमाउने प्रधानमन्त्री र गृहमन्त्रीमा अनुभव र शासकीय कौशलको अभाव प्रस्ट देखियो ।

मधेशी समाजको बनोट र मनोविज्ञान तथा घटनाको गाम्भीर्य बुझेर गरिनुपर्ने संवाद र समन्वयलाई बेवास्ता गर्ने, सेनासहितको सुरक्षा संयन्त्र र स्वकीयसचिव परिचालन गर्ने, आफूले सर्वदलीय बैठक नराख्ने र पार्टी सभापतिले राखेको बैठकमा पनि नजाने, जनतालाई महसुस हुने गरी पहल नगर्नेजस्ता कमजोरीले सानो घेरामा रोक्न सकिने घटना मधेश प्रदेशमा फैलिने मौका पायो । शासनसत्ताको नेतृत्व गर्ने व्यक्ति, राजनीतिक दल, तिनको दर्शन, सिद्धान्त र तिनका कार्यशैली र व्यवहारले संकट व्यवस्थापन कसरी गर्छन् भन्ने दृष्टान्त यो घटनाले देखाउँछ ।

अहिले राजनीतिक दलहरू, धार्मिक समुदाय, नागरिक समाज र ढिलो गरी सरकारले गरेको पहलले संकट मत्थर भएको देखिन्छ । यो टालटुले समाधान हो, दीर्घकालीन होइन । बरु, तत्कालको संकट टार्ने नाममा भविष्यमा थप जटिल द्वन्द्व निम्त्याउन खोजिएको छ । कमजोर अनुभव र अपरिपक्व शैलीका गृहमन्त्रीले मृतकका परिवार र आन्दोलनरत पक्षसँग वार्ता गरेर समाधानको प्रयास त गरे । तर, धार्मिक द्वन्द्वले नै संकट आएको वेला अतिवादी धार्मिक समूहसँग वार्ता गरेर संविधान र कानुनविपरीत आश्वासन दिएका छन् । एकातिर प्रधानमन्त्रीले धर्मनिरपेक्षता र गणतन्त्रमा प्रतिबद्धता जनाउने अर्कातिर गृहमन्त्रीले हिन्दु राष्ट्र कामय गर्ने मागमा छलफलमा बस्नु र आश्वासन दिनुले सरकारको दोहोरो चरित्र देखिन्छ ।

संविधानमा व्यवस्था गरिएको, सबै धार्मिक समुदायले स्वीकार गरेको, विश्वव्यापी रूपमा धर्मलाई राज्यबाट अलग गरेर व्यक्ति र धार्मिक समुदायको आस्था र विश्वासमा छोड्नुपर्छ भन्ने मान्यता स्थापित भएको अवस्थामा कुन उद्देश्यले धर्मनिरपेक्षताको विषयमा बहस गर्न खोजिएको हो ? के यस्ता बहसले अन्य समुदायलाई उत्तेजित बनाएर झन् ठुलो धार्मिक द्वन्द्व त हुँदैन ? संविधान संशोधनका नाममा संविधानका मुख्य स्तम्भलाई चलाउने, भत्काउने योजनामा यो बहस भएको त होइन ? सरकारले यस विषयमा प्रस्ट पार्न जरुरी छ । स्मरण रहोस्, राज्यको कुनै धर्म हुँदैन र सबै धर्मलाई समान व्यवहार गर्न धर्मनिरपेक्षता आवश्यक छ भन्ने स्थापित मान्यतामा छेडखानी गर्न पाइँदैन ।

शान्ति र सद्भावको दीर्घकालीन बाटो : जंगी बाटोबाट समस्या समाधान नभएपछि मात्र सरकारले संवादको शैली पछ्यायो । बोल्दै नबोल्ने, संवाद गर्न नरुचाउने प्रधानमन्त्रीले अवस्था जटिल भएपछि मात्र राष्ट्रका नाममा सम्बोधन गरे, राष्ट्रपतिलाई भेटे र अन्य सरोकारवालासँग संवाद गरे । सुरुमा रवि लामिछाने र पछि बालेनले समेत हिजो पुराना भनेर तिरस्कार र घृणा गरेका दलहरूसँग संवाद गरे ।

जेन–जी आन्दोलनपछिको संक्रमण व्यवस्थापन गर्न सबै दल मिलेर जानुपर्छ । संवैधानिक तथा राजनीतिक संकट, समाजमा फैलिएको त्रासको वातावरण, एउटा पुस्ता अर्को पुस्ताविरुद्ध उभिएको, पुराना पार्टी र नेताको तेजोबध गरेको, आमरूपमा निराशा, आक्रोश र घृणाको अवस्था देखिएको तथा पूर्वाग्रह तथा प्रतिशोधपूर्ण राजनीतिक वातावरणमा संक्रमणकाल व्यवस्थापन गर्न जटिल हुन्छ ।

ढिलै भए पनि यो संकटले रवि र बालेनलाई पुराना दलसँग संवाद गर्न बाध्य बनायो । जति नै शत्रुतापूर्ण सम्बन्ध भए पनि संकटका वेला एकठाउँमा बस्ने र संवादबाट निकास निकाल्ने नेपाली राजनीतिको विशेषता यसपटक पनि देखियो । जेन–जी आन्दोलनको वेला यस खालको संवादको अभावले ठुलो क्षति व्यहोर्नुपरेको भए पनि अहिले ढिलै भए पनि सबै दललेे साम्प्रदायिक हिंसा रोक्न संयुक्त रूपमा पहल गरेर सकारात्मक सन्देश दिएका छन् । यसले दिगो समाधानसहित शान्ति र सद्भाव स्थापित गर्न सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

पारदर्शी र प्रभावकारी संवाद तथा जवाफदेहिता नै हरेक समस्याको दिगो समाधान हो । सरकारले नागरिकका समस्या समयमै सुन्ने, समाजका अन्तरविरोध र संरचनागत समस्या समाधान गर्ने, जवाफदेही बन्ने, विदेशी चलखेलबाट जोगिने, अतिवादी सोच त्याग्ने काम गरे मात्र अहिलेको समस्याको दिगो समाधान सम्भव हुन्छ । यदि हामीले साँच्चिकै सद्भाव र सामाजिक एकता चाहन्छौँ भने जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक र अन्य सबै किसिमका विभेद, विभाजन, घृणास्पद अभिव्यक्ति तथा अतिवादी सोच र व्यवहार अन्त्य गर्नुपर्छ । जबसम्म यस्ता अतिवादी सोचको अन्त्य हुँदैन, तबसम्म शान्ति र सद्भावको कल्पना गर्न सकिँदैन ।

अन्त्यमा, साम्प्रदायिक दंगा फैलाउन, धार्मिक र जातीय ध्रुवीकरण गराउन सामाजिक सञ्जालमा फैलने अफवाह, मिथ्या र भ्रामक सूचना, पूर्वाग्राही र अतिवादी राजनीतिको मुख्य भूमिका छ । अबको निकास पनि यही विन्दुबाट खोज्न आवश्यक छ । भ्रामक, उत्तेजक, घृणास्पद र समाजलाई साम्प्रदायिक दंगातिर धकेल्ने लेख, समाचार, भिडियो र कन्टेन्टलाई उचित नियमन गर्न अति आवश्यक छ । देश दण्डहीनता र अराजकताको दलदलमा फसेको अवस्थामा मधेश घटनाको न्यायिक छानबिन गरी कार्यान्वयन गर्दा पीडितले न्याय पाउने र अगामी दिनमा यस्ता साम्प्रदायिक घटना रोक्न सहज हुनेछ ।

एकले अर्काको सम्मान गर्ने, भाइचारा स्थापित गर्दै आपसी विश्वास कायम गर्न सकियो भने मात्र शान्ति र सद्भाव स्थापित हुने हो । अतिवादी सोचको अन्त्य गर्ने तथा मधेशका संरचनागत समस्या हल गरी शान्ति र सद्भाव स्थापना गर्न स्थानीय सरकार, दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, धार्मिक समुदाय, पेसागत संगठन, मिडिया, बुद्धिजीवीले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता छ ।