मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ श्रावण २९ शुक्रबार २१:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भदौ १५ सम्म करिब १५ वटा विधेयक संसद्‌मा दर्ता गर्ने तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार २१:२o:oo

सरकारले घोषणा गरेको ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समितिअन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ ।

बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो । विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन सुरु गरिसकेका छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रलगायत मन्त्रालयका सम्बन्धित अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कानुनमन्त्री गौतमले कानुन सुधारको कामलाई ‘फास्ट ट्र्याक’मा अघि बढाउँदा अध्ययनको गुणस्तर र विषयवस्तु नहराउने गरी अघि बढ्नुपर्ने बताइन् । उनले विषयगत आधारमा कानुन सुधारको अध्ययन अघि बढाउँदा कामलाई व्यवस्थित र निश्चित दिशामा लैजान सहज हुने धारणा व्यक्त गर्दै अध्ययन समितिका बैठकहरू निरन्तर राख्नुपर्ने बताइन् ।

उनले सरकार विधेयक निर्माणमा समेत ‘फास्ट ट्र्याक’मा अघि बढिरहेको उल्लेख गर्दै भदौ १५ गतेसम्म करिब १५ वटा विधेयक अघि बढ्ने अवस्था रहेको जानकारी गराइन् ।


बैठकमा सबै मन्त्रालयलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित सुधार वा संशोधन गर्नुपर्ने तथा नयाँ निर्माण गर्नुपर्ने कानुनको विवरण उपलब्ध गराउन तत्काल पत्राचार गर्ने विषयमा समेत छलफल भएको छ । अध्ययनको दायरा हाल प्राथमिकतामा रहेका १६६ विधेयकमा मात्र सीमित नराखी आवश्यकताअनुसार अन्य विद्यमान कानुनसमेत समेट्न सकिने विषयमा छलफल भएको छ । १६६ विधेयकको प्राथमिकता सूची र अध्ययन समितिका कार्यदलले गरिरहेको कानुन सुधारसम्बन्धी अध्ययनबिच दोहोरोपन नहोस् भन्नेतर्फ बैठकले विशेष ध्यान दिएको छ ।

बैठकले उच्चस्तरीय समन्वय र दोहोरोपन न्यूनीकरणका लागि प्रत्येक १५-१५ दिनमा उच्चस्तरीय बैठक बस्ने व्यवस्था प्रभावकारी हुने निष्कर्ष निकालेको छ । त्यस्ता बैठकबाट अध्ययनको प्रगति समीक्षा गर्ने, तत्काल अध्ययन गर्नुपर्ने कानुनको प्राथमिकता निर्धारण गर्ने, एउटै कानुनमा विभिन्न निकायबाट भइरहेको अध्ययनको दोहोरोपन पहिचान गर्ने तथा जिम्मेवारी र कार्यविभाजन स्पष्ट गर्ने विषयमा नियमित समीक्षा गरिनेछ ।

अध्ययन प्रतिवेदनले ‘के सुधार गर्ने’ मात्र नभई ‘किन सुधार गर्ने’ र ‘सुधारपछि के प्रभाव पर्छ’ भन्ने प्रश्नको समेत उत्तर दिनुपर्नेमा जोड दिइएको छ । उच्चस्तरीय अध्ययन समितिको आगामी बैठक भदौ १५ गते बस्ने तय गरिएको छ ।