१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १९ बुधबार o९:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको काम तीव्र

ठेकेदार कम्पनी हिमालयन कालिञ्चोक बिबिआर जेभीले  पहिलो चरणको कामका लागि दैनिक चार सय १५ कामदार खटाएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार o९:४६:oo

रंगशालाको निर्माणकार्य १० प्रतिशत सकिएको र बुधबारदेखि पारापिट, पार्किङ, कम्पाउन्ड तथा सोलिङको काम हुने बिबिआर जेभीका अध्यक्ष विकास गौतमले बताए

आर्थिक अभावका कारण रंगशाला निर्माण काम रोकिएको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पुनर्निर्माणले तीव्रता पाएको छ । ठेक्का पाएको ललितपुरको हिमालयन कालिञ्चोक बिबिआर जेभीले पहिलो चरणको कामलाई तीव्रता दिएको छ । अहिले दैनिक चार सय १५ जना कामदार सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश रंगशाला निर्माण कार्यमा खटिरहेका छन् । 

गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गर्दा दैनिक एक सय २० जना कामदार लगाएको थियो । ३० महिनाभित्र पहिलो चरणको निर्माण कार्य सम्पन्न गर्न बिबिआर जेभीले दैनिक काम गर्ने संख्या बढाएको बिबिआरका अध्यक्ष विकास गौतमले नयाँ पत्रिकालाई बताए । ‘हामीले अहिले दैनिक चार सय १५ जना कामदारलाई फिल्डमा लगाएका छौँ,’ गौतमले भने, ‘आवश्यकताअनुसार अब यो संख्या पाँच सय पुग्नेछ ।’ 

उनका अनुसार रंगशालाको निर्माणकार्य १० प्रतिशत सकिएको छ । बुधबारदेखि पारापिट, पार्किङ, कम्पाउन्ड तथा सोलिङको काम हुने गौतमले बताए । ‘हामीले आजदेखि विशेष प्राथमिकताका साथ पारापिट बनाउने काम सुरु गर्छौँ,’ उनले भने, ‘यसलाई चाहिने आवश्यक सामग्री सबै तयार भइसकेको छ ।’ 

रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको गौतमले बताए । ‘२६ साउदेखि हामीले दुई सिफ्टमा गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘बिचमा केही अवरोध नआउँदा यही गतिमा अगाडि बढ्दा सम्झौताअनुसारै पहिलो चरणको काम सकिने अपेक्षा छ ।’  भरतपुर महानगरपालिका र बिबिआर जेभीबिचको २४ असारमा भएको सम्झौताअनुसार रंगशालाको पहिलो चरणको निर्माण ०८३ पुस २२ सम्म सक्नुपर्नेछ । 

१० हजार क्षमताको पारापिट
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गरेको वेला पारापिटको क्षमता १५ हजार दर्शकको थियो । बिबिआरले पुरानो फाउन्डेसनको डिपिआरअनुसार नहुने जनाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यसअघि काम थालेको भन्दा फरक संरचनामा हुने कम्पनीका अध्यक्ष गौतमले बताए । ‘धुर्मुस–सुन्तली फाउन्डेसनले कमलफूल आकारमा बहुपक्षीय रंगशालाको रूपमा यसको परिकल्पना गरेको थियो । अहिले यसलाई परिमार्जन गरी पहिलो चरणमा बन्ने रंगशालाको पारापिट क्षमता १० हजारको बनाउन लागेका छौँ,’ उनले भने । 

उनका अनुसार भरतपुर महानगरले बनाएको डिपिआरअनुसारको सम्झौतामा ग्राउन्डको सबै काम गरिनेछ । रंगशालामा मैदानसहित पाँचवटा पिच, मैदानमा ड्रेनएजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण काम भइरहेको गौतमले बताए । ‘समान दुईवटा टावर बन्नेछन् । मुख्य गेट र वाल लगाउने डिपिआरमा छ,’ उनले भने । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण कार्य रोक्नुअघि पाँच हजार क्षमताको पारापिट निर्माण गरेको थियो । 

बजेटका कारण डिपिआर परिवर्तन
पहिलो चरणको ठेक्कामा रंगशाला निर्माणको लागत भ्याट र पिएससहित ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बताए । 

‘धुर्मुस–सुन्तली फाउन्डेसनको डिपिआरअनुसार बनाउन ४ देखि ६ अर्ब रकम लाग्छ । महानगरपालिकासँग पर्याप्त रकम पैसा छैन,’ उनले भने, ‘त्यहीकारण पहिलोचरणमा न्यूनतम खेल्न लायक बनाउन खोजेका हौँ ।’ पर्याप्त बजेट हुँदा रंगशालाको स्वरूप पुरानै डिपिआरअनुसार बन्ने अर्यालले बताए । ‘दोस्रो वा तेस्रो चरणमा बजेट निकासा हुँदा हामी पुरानै डिपिआरअनुरूपकै रंगशाला बनाउनेछोँ,’ उनले भने । 

कहाँबाट आउँदै छ  बजेट ?
रंगशाला निर्माण गर्न आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षका लागि चार करोड ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ । संघीय सरकारले २५ करोड र बागमती प्रदेश सरकारले १० करोड छुट्याएका छन् । गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारको पाँच करोड रकम विनियोजन भएको थियो । प्रदेश र केन्द्र सरकारकै साझेदारी र सहकार्य गरेर महानगरपालिकाले रंगशाला निर्माण हुनेछ ।