०४८ देखि बन्द बागलुङको बलेवा विमानस्थलमा २६ वर्षपछि ९ चैत ०७४ मा विमान अवतरण भएको हेर्न गाउँलेको बाक्लै भिड लाग्यो । पुनः सञ्चालनमा आएको विमानस्थलमा अब नियमित उडान हुन्छ भन्नेमा स्थानीयहरू आशावादी थिए । तर, केही महिनामै उडान बन्द भयो । गाउँगाउँमा सडकको पहुँच पुगेपछि महँगो भाडा तिरेर जहाज चढ्ने यात्रु नहुनाले उडान बन्द भएको थाहा हुँदाहुँदै फेरि नियमित उडान गर्ने भनेर आठ करोड लगानी गरेर धावनमार्ग कालोपत्रे गरियो । तर, बलेवामा उडान भने हुन सकेन । खर्च व्यर्थ भयो ।
मनाङको हुम्दे विमानस्थल बाह्रै महिना सञ्चालन गर्ने भन्दै ०७० मा नौ करोड खर्चेर स्तरोन्नति गरियो । ६ सय मिटरको धावनमार्ग नौ सय मिटर मात्र बनाइएन, कालोपत्रे गरेर टलक्क पारियो । लगत्तै, नागरिक उड्डयन प्राधिकरण (क्यान)को एउटा टोलीले परीक्षण उडान गरेकोमा उक्त विमानस्थलमा अर्को जहाज पुग्न ६ वर्ष कुर्नुपर्यो । त्यो पनि सर्वसाधारणका लागि होइन । ०७६ भदौमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोली समिट एयर चढेर मनाङमा ओर्लिएको थियो । त्यसयता अहिलेसम्म फेरि एउटा पनि अवतरण भएको छैन ।
स्तरोन्नति गरेर पनि सञ्चालनमा नआएको अर्को विमानस्थल हो, बैतडीको पाटन विमानस्थल । यस्तै, ०७२ मा कालोपत्रे गरिएको ओखलढुंगाको रुम्जाटार विमानस्थल पनि बन्द छ ।देशभर कालोपत्रे गरेर पनि सञ्चालनमा आउन नसकेका विमानस्थल नौवटा रहेको क्यानले जनाएको छ । बागलुङको बलेवा, मनाङको हुम्दे, बैतडीको पाटन र ओखलढुंगाको रुम्जाटारबाहेक रुकुमको चौरजहारी, डोटीको दिपायल, खोटाङको लामिडाँडा, डोल्पाको मसिनेचौर र कालिकोट विमानस्थलमा करोडौँ रुपैयाँ खर्चिएर कालोपत्रे गरिए पनि उडान हुन सकेका छैनन् । बरु यी विमानस्थल धुले वा ग्राभेल मात्र हुँदा भने नियमित उडान हुने गथ्र्यो ।
बढ्दो सडक सञ्जाल, घट्दो हवाई यात्रु, साना जहाज नै कम हुनु र चर्को भाडाका कारण सर्ट टेकअफ ल्यान्डिङ (स्टल) अर्थात् छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थलहरू स्तरोन्नति गर्दा पनि नियमित सञ्चालनमा ल्याउन नसकेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘प्राधिकरणले पटक–पटक सरकारी र निजी वायुसेवा कम्पनीलाई सञ्चालनका लागि आग्रह गरे पनि कुनै चासो देखाएका छैनन्,’ उनले भने, ‘भौगोलिक कठिनाइका साथैे दुर्गममा लोडको ग्यारेन्टी कम हुने भएकाले वायुसेवा कम्पनीहरूले उडान भर्न मान्दैनन् ।’ नियमित उडान गर्न सम्भव छ कि छैन भनेर सम्भाव्यता अध्ययन नगरी नेता र उच्चाधिकारीहरूको लहडमा विमानस्थलहरू स्तरोन्नति गर्दा करोडौँ नोक्सान भएको छ ।
अहिले देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ विमानस्थल निर्माण भएका छन् । जसमध्ये ३३ विमानस्थलमा मात्र उडान तथा अवतरण हुने गरेको छ । बन्द हालतमा रहेका २२ विमानस्थलमध्ये नौवटा पक्की र १३ कच्ची रहेको क्यानको तथ्यांक छ । कुल विमानस्थलमध्ये ४२ विमानस्थल (उडान नहुनेसमेत) पक्की रहेको सूचना अधिकारी भुलले जानकारी दिए । उडान नहुने धेरैजसो विमानस्थल घाँसे मैदान, फुटबल मैदान र गौचरनमा परिणत भइसकेका छन् । कतिपय त विमानस्थल नै हो कि होइन भनेर ठम्याउन नसकिने स्थितिमा पुगेका छन् ।
यी हुन् पक्की भएर पनि उडान नहुने विमानस्थल
बैतडीको पाटन विमानस्थलमा नियमित उडान गर्ने भनेर धावनमार्ग र एप्रोन पिच गरियो । ५९० मिटरको धावनमार्ग र एप्रोन पिच गर्न तथा विमानस्थलको कार्यालय भवन निर्माणमा १६ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । कालोपत्रे भएपछि समिट एयरले केही समय उडान गरे पनि ०७७ चैतयता उडान हुन सकेको छैन । ०३५ मा सञ्चालनमा आएको यो विमानस्थल माओवादी सशस्त्र युद्ध सुरु भएकै वर्ष ०५२ देखि बन्द छ ।
त्यस्तै, ०७२ मा साढे पाँच अर्ब खर्चेर कालोपत्रे गरिएको रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा ०७५ देखि एउटै उडान हुन सकेको छैन । ०२८ मा सञ्चालनमा आएको विमानस्थलमा जहाज उडाउन कठिन भएको भन्दै ४४ वर्षपछि पिच गरिएको थियो ।
सांसद प्रेमबहादुर आलेले चुनावी प्रतिबद्धताबमोजिम डोटीको दिपायल विमानस्थल ०७७ मा पिच गराए, तर नियमित उडान गराउन सकेनन् । पौने सात करोडमा चार वर्ष लगाएर पक्की बनाइएको विमानस्थलमा केही समय समिट एयर र नेपाल वायु सेवा निगमले धनगढीबाट उडान गरे पनि अहिले विमानस्थल बन्द छ । अझै विमानस्थल विस्तार गरेर ४५ सिटका जहाज उडाउन मिल्ने बनाउने लक्ष्य थियो, तर जग्गा अधिग्रहणमा किचलो निस्किएर अलपत्र छ ।
त्यस्तै, ०७२ मा कालोपत्रे गरिएको डोल्पाको मसिनेचौर विमानस्थलमा अहिलेसम्म परीक्षण उडानसमेत हुन सकेको छैन । सडकमार्गले छुन नसकेको डोल्पामा जुफाल विमानस्थलको विकल्पका रूपमा मसिनेचौर विमानस्थल निर्माण गरिएको थियो । ०७२ मा कालोपत्रे गरेको ओखलढुंगाको रुम्जाटार विमानस्थलमा पनि नियमित उडान हुन सकेन । कालीकोट विमानस्थल पनि निर्माण सम्पन्न भइसकेको छ । ६९० मिटरको धावनमार्ग कालोपत्रे गरेर टल्काइएको छ । निर्माणमा अहिलेसम्म २५ करोड खर्च भएको विमानस्थलमा उडान कहिलेदेखि सुरु हुन्छ भन्ने निश्चित छैन ।
त्यस्तै, ०४८ देखि बन्द बागलुङको बलेवा विमानस्थलमा २६ वर्षपछि ९ चैत ०७४ मा विमान अवतरण भएकोमा केही महिनामै बन्द भयो भने ०७० मा नौ करोड खर्चेर स्तरोन्नति गरिएको मनाङको हुम्दे विमानस्थल पनि ०७६ मा एउटा परीक्षण उडान गरेर हालसम्म बन्द छ ।
यी हुन् उडान नहुने १३ कच्ची विमानस्थल
देशभर १३ स्टल विमानस्थल कच्ची छन्, जहाँ उडान पनि हुँदैन । उक्त क्षेत्रमा सडक सञ्जालको पहुँच पुग्नुका साथै साना जहाज र यात्रुको अभावले विमानस्थल बन्द भएका हुन् । ती विमानस्थल अधिकांशजसो गौचरन र फुटबल मैदानमा परिणत भएको स्थानीयहरू बताउँछन् । ती १३ विमानस्थलहरू दार्चुला, बागलुङको ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, सोलुखुम्बुको कागेलडाँडा र स्याङ्बोचे, ओखलढुंगाको खिजी चण्डेश्वरी, रसुवाको लाङटाङ, कञ्चनपुरको महेन्द्रनगर, चितवनको मेघौली, रोल्पा, कैलालीको टीकापुर र अछामको कमलबजार विमानस्थल हुन् । कमलबजार विमानस्थल ०५८ मा माओवादीले आक्रमण गरेपछि परीक्षण उडानसमेत गर्न नपाउँदै उडान बन्द भएको थियो । यीमध्ये ढोरपाटन, पालुङटार, जिरी, लाङटाङ, मेघौली, स्याङ्बोचे विमानस्थलको त अस्तित्व नै मेटिन लागिसकेको छ ।
३३ विमानस्थल जहाँ हुन्छ नियमित उडान
३३ विमानस्थलमा मात्र नियमित उडान हुन्छ । क्यानका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक उडान मात्र), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक उडान मात्र), पोखरा डोमेस्टिक एयरपोर्ट (पुरानो), बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, बाजुरा, चितवनको भरतपुर, बझाङ, भोजपुर, मोरङको विराटनगर, झापाको चन्द्रगढी, दाङ, डोल्पाको जुफाल, इलामको फाल्गुनन्द सुकिलम्बा, रामेछाप, मुगुको रारा, बाराको सिमरा, सुर्खेत, पश्चिम रुकुमको सल्ले, हुम्लाको सिमिकोट, अछामको साँफेबगर, संखुवासभाको तुम्लिङटार, सोलुखुम्बुको लुक्ला, ताप्लेजुङ, खोटाङको थामखर्क र गुल्मीको रेसुंगा विमानस्थलमा उडान भइरहेको छ । तर, सञ्चालनको सूचीमा रहे पनि दुर्गम क्षेत्रका धेरै विमानस्थलहरूमा जहाज र यात्रुको अभावमा सातामा एक वा दुईवटा मात्रै उडान हुने गर्छन् ।
यी विमानस्थलमा राति पनि उडान
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित झापाको चन्द्रगढी, मोरङको विराटनगर, धनुषाको जनकपुर, बाराको सिमरा, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, चितवनको भरतपुर र सप्तरीको राजविराज गरी १० विमानस्थलमा रात्रिकालीन उडान हुँदै आएको छ । जसमध्ये विराटनगर, नेपालगन्ज र भरतपुर विमानस्थलको धावनमार्ग विस्तार र नयाँ टर्मिनल भवन निर्माण हुँदै छ । क्यानले क्रमशः देशका व्यस्त विमानस्थलहरू स्तरोन्नति गर्दै लैजाने योजना बनाएको छ ।
पोखरा र भैरहवामा भएन अन्तर्राष्ट्रिय उडान
भैरहवा र पोखरामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । करिब ६० अर्ब रुपैयाँ खर्चिएर बनाइएका विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नभएपछि संसद्, संसदीय समितिदेखि जनस्तरबाट पनि सरकारको आलोचना हुँदै आएको छ । २ जेठ ०७९ देखि भैरहवाको गौतम बुद्ध र १७ माघ ०७९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको थियो ।
क्यानले अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्ने भनेर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङलगायत सेवामा छुट दिएको छ । तैपनि उडान गर्न कुनै अन्तर्राष्ट्रिय वायुसेवा तयार देखिएका छैनन् । भैरहवामा सुरुवाती समयमा कुवेतको जजिरा एयरवेजले उडान गरे पनि पोखरामा अहिलेसम्म केही चार्टर्डबाहेक एउटै नियमित उडान हुन सकेको छैन ।
विमानस्थल सधैँ बन्द, सरकारको आश्वासन सधैँ खुला
सरकारले हरेक वर्षको बजेटमा बन्द विमानस्थल सञ्चालनबारे कुनै न कुनै आश्वासन बाँडिरहेको हुन्छ । बन्द विमानस्थल स्तरोन्नति गरेर चलाउने भन्दै सम्बन्धित क्षेत्रका नेताहरूको दबाबमा सरकारले बजेटको व्यवस्था गर्छ । तर, कार्यान्वयन भने कहिल्यै हुँदैन । पछिल्लो समय बन्द विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउनेबारे चर्चा हुन थालेको छ ।
निवर्तमान अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा ७६ मा उल्लेख गरेका छन्, ‘सञ्चालनमा नरहेका बलेवा, लामीडाँडा, मनाङ, रुम्जाटार, बैतडीलगायत आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, प्यारासुट, स्काई डाइभिङ, अल्ट्रालाइटजस्ता मनोरञ्जनात्मक साहसिक पर्यटनका लागि उपयोग गरिनेछ ।’
त्यस्तै, ०८०/८१ को बजेटको बुँदा १९२ मा भनिएको थियो, ‘विराटनगर, भरतपुर, नेपालगन्ज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिनेछ । रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलंगालगायत विमानस्थलको स्तरोन्नति गरिनेछ । दुर्गम क्षेत्रमा उडान गर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइनेछ ।’
त्यसअघि ०७९/८० को बजेटको १०१ र १०२ बुँदामा समेटिएको थियो, ‘धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ । सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण कार्य अघि बढाइनेछ । आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न डडेल्धुरा, बलेवा, दाङ, टरीगाउँ, टीकापुर, चौरजहारीलगायत विमानस्थलको स्तरोन्नति गरिनेछ । यस्तै उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ ।’
०७८/७९ को बजेटमा पनि यस्तै आश्वासन थियो । भनिएको थियो, ‘चौरजहारी, टरीगाउँ, टीकापुर, डडेल्धुरा र बलेवा विमानस्थलको स्तरोन्नतिका लागि बजेटको व्यवस्था गरिएको छ । उदयपुर विमानस्थल निर्माण कार्य थालिनेछ ।’ यसअघिका बजेटमा पनि बन्द विमानस्थल सञ्चालनबारे कुनै न कुनै बुँदा समेटिँदै आइरहेको देखिन्छ ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्– प्राधिकरणले पटक–पटक सरकारी र निजी वायुसेवा कम्पनीलाई सञ्चालनका लागि आग्रह गरे पनि कुनै चासो देखाएका छैनन् । भौगोलिक कठिनाइका साथैे दुर्गममा लोडको ग्यारेन्टी कम हुने भएकाले वायुसेवा कम्पनीहरूले उडान भर्न मान्दैनन् ।
किन बन्द भए विमानस्थल ?
दुर्गम क्षेत्रका विमानस्थल बन्द हुनुमा सडक यातायातको सुविधा पुग्नु मुख्य कारण हो । अहिले धेरैजसो ठाउँमा सडक यातायात पुगिसकेको छ । मनाङको चामेसम्म सडक निर्माण भएर गाडी चल्न थालेपछि हुम्दे विमानस्थलमा जहाज उड्न छाडेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् ।
सडक पुगेपछि जनताले यात्राको विकल्प पाएका छन् । दुर्गम क्षेत्रमा छोटो धावनमार्ग हुनु, साना जहाज उडाउँदा भाडा महँगो हुनु र तीव्र बसाइँसराइका कारण पहाडमा यात्रुको अभाव हुनुले पनि धेरै विमानस्थल बन्द भइसकेका छन् । सञ्चालनमा रहेका विमानस्थलमा पनि साताको एक–दुई मात्र उडान हुने गरेको देखिन्छ ।
देशभर रहेका ५५ विमानस्थलमध्ये अधिकांश स्टल (दुर्गम तथा छोटो धावनमार्ग भएका) हुन् । सरकारले दुर्गम उडान नियमित गर्ने नीति पनि ल्याउन सकेको देखिँदैन । अहिले जोखिम बढी हुने दुर्गम क्षेत्र र सुगम क्षेत्रमा उडान गर्ने वायुसेवालाई एउटै व्यवहार गरिएको छ । इन्धनको मूल्यदेखि पार्टपुर्जा र जहाज खरिदमा एउटै नीति छ । यसैले वायुसेवा कम्पनीहरू जोखिम मोलेर दुर्गममा उडान गर्नुभन्दा सुगम गन्तव्यतर्फ उडान गर्न केन्द्रित भएको देखिन्छ । त्यसो त दुर्गम उडानमा सिजनल हुन्छ र यात्रु पनि एकतर्फी मात्र हुने वायुसेवा कम्पनीको भनाइ छ ।
‘हिजोका दिनमा पहाडमा वायुयान नै प्रमुख साधन थियो, सडक पुगेको थिएन, मान्छेलाई सकिनसकी जहाज चढ्नैपर्ने बाध्यता थियो,’ क्यानका सूचना अधिकारी भुल भन्छन्, ‘अहिले जहीँ–तहीँ सडक पुगेको छ, भाडा पनि चर्को छ, फेरि बसाइसराइँका कारण यात्रु पनि कम हुन्छन् ।’ दुर्गममा पाइलटले आँखाले हेरेर भिएफआर उडान गर्नुपर्ने हुँदा दुर्घटनाको सम्भावना बढी हुन्छ । दुर्घटनाले वायुयानको संख्या पनि घट्दै गएका छन् । दुर्घटनाग्रस्त जहाजबाट प्राप्त हुने इन्स्योरेन्सले नयाँ जहाज किन्न सक्ने स्थिति पनि रहेन ।
दुर्गम उडानबाट सर्भाइभ हुन नसक्ने स्थिति बनेपछि निजी वायुसेवा कम्पनी स्टल उडानबाट ब्याक हुन थालेका छन् । एक वायुसेवा कम्पनीका सञ्चालकले भने, ‘नेताहरूलाई गाउँमै विमानस्थल चाहिने । तर, नियमित उडान गर्न जहाज र यात्रु चाहिन्छन् । एयरपोर्ट पिच गर्दैमा नियमित उडान हुने हो र ?’
बन्द विमानस्थल राजनीति गर्ने थलो मात्रै
चुनाव आएसँगै नेताहरू बन्द विमानस्थल सञ्चालन गर्ने आश्वासन दिँदै हिँड्छन्, तर चुनावपछि ओझेल पर्छ मुद्दा
स्थानीय नेताहरूको दबाबमा क्यानले हालै ६० करोड खर्चेर दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्यो । तर, दुईवटा उपमहानगरपालिका रहेको दाङ उपत्यकाकै विमानस्थलमा नियमित उडान हुन कठिन भइरहेको छ । सानो जहाज चढेर दाङ पुग्न डेढ घण्टा लाग्ने, भाडा १२ हजार । तर, एटिआर चढेर ५० मिनेटमै नजिकै नेपालगन्ज झर्न सकिने । भाडा पनि ६ हजार मात्रै । ‘अब भन्नुस् १२ हजार तिरेर डोर्नियर वा ट्विनअटर चढी दाङ जानुहुन्छ कि ६ हजारमा एटिआर वा जेटस्ट्रिम जहाज चढेर नेपालगन्ज जानुहुन्छ,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रश्न गर्दै भने, ‘नेपालगन्जबाट बस चढेर सजिलै दाङ उपत्यका जान सकिन्छ, यात्रा पनि सहज र खर्च पनि कम भयो ।’
अब प्रश्न आउन सक्छ– दाङ एयरपोर्ट हिजो किन चल्यो, आज किन चलेन ? ‘हिजो नेपालगन्ज र दाङ दुवै ठाउँमा ट्विनअटर चल्थ्यो, नेपालगन्ज जान एक घण्टा ३० मिनेट र दाङ जान एक घण्टा २० मिनेट लाग्थ्यो । नेपालगन्जको भाडा १३ हजार हुँदा दाङको ११ हजार थियो । उस्तै, प्रकारको जहाजमा प्रतिस्पर्धा पनि हुन्थ्यो । अहिले नेपालगन्जमा ७२ सिटका एटिआर उडान गर्न थाले, समयसँगै भाडा पनि घट्यो, तर दाङमा अहिले पनि डोर्नियर वा ट्विनअटर उडाउनुपर्छ, भाडा र समय घटेन । यात्रुहरूले सजिलो र सस्तो रोजे,’ भुलले भने ।
बन्द विमानस्थल नेताहरूको राजनीति गर्ने थलो बन्दै आएका छन् । स्थानीय, प्रदेश र संघीय संसद्मा उठ्ने राजनीतिक दलका प्रतिनिधिहरू चुनाव आएसँगै बन्द विमानस्थल सञ्चालन गर्ने आश्वासन दिँदै हिँड्छन् । बागलुङको बलेवा विमानस्थल सञ्चालन गर्ने भनेर राजनीति गर्न थालेको तीन दशक नाघिसकेको छ । तर, विमानस्थल अहिले पनि अलपत्र छ । पोखरा–बागलुङ सडक सञ्चालनमा आएपछि विमानस्थलमा उडान ठप्प भएको हो । चामेसम्म गाडी चल्न थालेपछि जहाज उड्न छाडेको मनाङको हुम्दे विमानस्थल सञ्चालनका लागि अहिले पनि गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि संघीय सांसदहरूले बोल्दै आइरहेका छन् ।
आर्थिक सम्भाव्यता, यात्रुको चाप, जहाजको संख्या नहेरी भोटको राजनीति गर्दै विमानस्थल स्तरोन्नति र पुनः सञ्चालनको आश्वासन दिने गरिएको छ । कतिपय विमानस्थल सम्भाव्यताविना नै कमिसनको लोभमा स्तरोन्नति गर्दा राज्यको करोडौँ नोक्सान भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको जोडबलमा इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थल निर्माण त भयो, तर २५ करोडभन्दा बढी खर्च भइसकेको विमानस्थलमा नियमित उडान नै हुँदैन । पर्यटनमन्त्री हुँदा कांग्रेस नेता बलबहादुर केसीको जोडबलमा सोलुखुम्बुमा खिजी चण्डेश्वरी विमानस्थल निर्माण भयो । ०७६ मा निर्माण सकेर परीक्षण उडान मात्रै भयो ।
विराटनगर विमानस्थलबाट करिब ४० किलोमिटर दूरीमा रहेको धरानमा विमानस्थल सञ्चालन गर्न विगतका पर्यटनमन्त्रीहरू, मन्त्री, स्थानीय नेतादेखि धरानका मेयर हर्क साम्पाङसम्मको जोडबल रह्यो । तर, आर्थिक र प्राविधिक रूपमा व्यावहारिक नहुने भन्दै क्यानले अध्ययन गराएरै धरान विमानस्थल निर्माणमा अटेर गर्दै आएको छ । अहिले अर्घाखाँचीमा पनि विमानस्थल निर्माण भइरहेको छ । तर, आर्थिक र प्राविधिक रूपमा नियमित उडान सम्भव नरहेको हवाई पूर्वाधार विज्ञहरूको भनाइ छ ।