
बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८२/०८३ का लागि ल्याएको बजेट आइतबार (२२ असार) पास गर्ने तयारी गरेको छ । बजेटमाथिको बहस र विवादका कारण पटकपटक स्थगित हुँदै आएको प्रदेश सभा शनिबार साँझ बसेको बैठकले अन्ततः बजेट पारित गर्ने दिशामा ठोस कदम चालेसँगै सत्ता पक्षीय दलहरू बजेट पारित गरेर जाने तयारीमा जुटेको छन् ।
शुक्रबार बजेट वक्तव्यमाथि छलफल गरी विनियोजन विधेयक प्रदेश सभामा पेश गरिएको थियो । तर, विपक्षी दलहरूले बजेटमा संशोधन आवश्यक रहेको भन्दै पूरक प्रस्ताव माग गरेपछि बैठक स्थगित भएको थियो । शनिबार बिहान दलहरूबिच सहमति खोज्ने प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेपछि साँझ सरकारले प्रदेश सभा बैठकमा प्रतिपक्षी दलहरुको माग अनुसारको बजेटको पूरक प्रस्ताव पेश गरेको छ ।
त्यसपछि बसेको बैठकमा बजेटको पूरक प्रस्तावसहित विनियोजन विधेयकमाथि छलफल सुरु भएको थियो । छलफलपछि सभामुख भुवनकुमार पाठकले खर्च कटौती प्रस्तावका लागि समय दिँदै बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
सभामुख पाठकका अनुसार आइतबारको बैठकमा मन्त्रालयगत छलफल, मन्त्रीहरूको जवाफ तथा खर्च कटौती प्रस्तावमाथि निर्णय गरेर बजेट पास गरिनेछ ।
कांग्रेसले सांसदलाई ह्विप जारी
बजेट पास गर्ने तयारी तीव्र भइरहेका बेला सत्ता साझेदार कांग्रेसले आफ्ना सांसदहरूलाई बैठकमा उपस्थित हुन र पार्टी निर्देशनअनुसार मतदान गर्न ह्विप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालद्वारा शनिबार जारी गरिएको पत्रमा कांग्रेस सांसदहरूलाई आइतबार बिहान ११ बजे बस्ने बैठकमा अनिवार्य उपस्थिति जनाउन भनिएको छ । साथै, पार्टीको नीतिगत निर्णयअनुसार बजेटसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।
यसअघि बजेट प्रस्तावमाथि सत्तारूढ दल र प्रतिपक्षबीच मतभेद देखिएको थियो । सत्ता पक्षिय सांसदहरुले समेत बजेटको बिरोध गर्दै आएका थिए । सोही परिप्रेक्षमा कांग्रेसले सांसदहरूलाई सरकारको विरोधमा अभिव्यक्ति नदिनसमेत सचेत गराउँदै बजेटको पक्षमा एकढिक्का बन्न निर्देशन दिएको हो ।