
चौथो प्रयासमा पनि नेपाली महिला फुटबल टिम एसिया कप खेल्ने सपनाबाट बञ्चित भएको छ। एएफसी महिला एसियन कपअन्तर्गत समूह ‘एफ’ छनोटको निर्णायक भिडन्तमा शनिबार नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले पराजित बनेको छ ।
निर्धारित समय ३–३ भएपछि खेललाई टाइब्रेकरमा लगिएको थियो। नेपालकी कप्तान साबित्रा भण्डारीले गरेको प्रहार पोलमा लागेर बाहिरिएको थियो भने कप्तान अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानकी किपरले रोकेकी थिइन्। नेपाललाई पराजित गरेसँगै उज्वेकिस्तान एसिया कपका लागि छनोट भएको छ।
खेलमो दोस्रो मिनेटमै नेपालले गोल खाएको थियो। पहिलो हाफमा नेपाल ३–१ ले पछि रहेकोमा दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दे २ गोल थपेर बराबरीमा पु¥याएको थियो । तर, टाइब्रेकरमा नेपाल एसिया कप खेल्ने सपनाबाट टाढियो ।
नेपालले सन् १९९९ यता एसियाकप खेल्न पाएको छैन । त्यसवेला नेपालले सीधै प्रतियोगितामा सहभागिता जनाएको थियो । सन् १९९९ पछि नेपालले कुनै पनि अवसरमा छनोट चरण पार गर्न सकेको छैन । यसपटक उज्वेकिस्तानमा नेपालले इतिहास रची एसिया कपमा स्थान बनाउने लक्ष्य राखेकोमा सपना अधुरै रह्यो ।
नेपाली महिला टिमले अहिलेसम्म चार दशकको अन्तर्राष्ट्रिय यात्रामा १२ फाइनल खेलेको छ । तर, कुनै पनि फाइनल नेपालले आफ्नो नाममा राख्न सकेन । उज्वेकिस्तानलाई हराएकोमा नेपाल फिफा विश्वकपमा समेत नजिक पुग्नेथियो।
नेपाली महिला टोलीले सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको थियो । त्यसपछि १९८९ र १९९९ को एसिया कपको संस्करण खेल्यो ।
एएफसीले सन् २००६ देखि एसिया कपमा छनोट चरण फम्र्याट बनाएको हो । यो फम्र्याट लागू भएयता नेपाल असफल हुँदै आएको छ । गत संस्करणमा नेपाल फिलिपिन्ससँग पराजित हुँदा यो अवसरबाट चुकेको थियो ।