१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विश्वनाथ ठाकुर
२०७७ श्रावण ३० शुक्रबार ०८:३७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सकारात्मक समाचार : संक्रमितलाई हौसला

Read Time : > 2 मिनेट
विश्वनाथ ठाकुर
२०७७ श्रावण ३० शुक्रबार ०८:३७:००

असार ३१ गतेबाट अस्वस्थ भएपछि मैले स्थानीय चिकित्सकको सल्लाहबमोजिम औषधि खान थालेँ । तर, निको नभएपछि म थप उपचारका लागि ७ साउनमा काठमाडौं आइपुगेको थिएँ ।

म काठमाडौं आएर ललितपुरस्थित पाटन अस्पतालमा भर्ना भएँ । यतिन्जेलसम्म मलाई खोकी, ज्वरो र टाउको दुख्ने लक्षण देखिएको थियो । अस्पताल भर्ना भएपछि अक्सिजन पनि दिइयो, मेरो स्वाब पनि संकलन गरियो । 

१० साउनमा आएको रिपोर्टले कोरोना नेगेटिभ देखाएको थियो । तर, डाक्टरहरूले सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो भएको भन्दै फेरि एकपटक स्वाब परीक्षण गराउनुपर्छ भने । फेरि मेरो स्वाब संकलन गरियो । १० गते संकलन गरिएको स्वाबको रिपोर्ट १२ गते आयो । त्यस रिपोर्टले मलाई कोरोना संक्रमण भएको पुष्टि गर्‍यो ।

त्यसपछि मलाई सामान्य वार्डबाट कोरोना संक्रमितलाई छुट्याइएको वार्डमा सारियो । ७ देखि १२ गतेसम्म मलाई लगातार पाँच दिन अक्सिजन दिइएको थियो । कोरोना वार्डमा हामी १५ जना थियौँ । १५ जनामा वृद्धवृद्धादेखि बालबालिकासम्म संक्रमित थिए । वार्डमा हाम्रो स्वास्थ्य अवस्था जाँच गर्न नियमित डाक्टर र नर्सहरू आउँथे । दैनिक हाम्रो ज्वरो र अक्सिजन लेभल जाँच गरिन्थ्यो । संक्रमण पुष्टि भएपछि एकछिन डर लाग्यो, तर डाक्टर र नर्सहरूले केही हुँदैन भनेर भरोसा दिलाएपछि मेरो डर कम भएको थियो । दिनहुँ नर्स र डाक्टहरू हाम्रो वार्डमा आएर मनोबल बढाउने खालका कुरा गरिदिन्थे ।

सञ्चारकर्मी भएका नाताले पनि संक्रमणको जोखिमपूर्ण अवस्थामा सकारात्मक समाचारले ठूलो प्रभाव पार्ने रहेछ भन्ने मलाई महसुस भयो । सकारात्मक समाचारले संक्रमितलाई हौसला प्रदान गर्ने रहेछ । कोरोनालाई जित्छु भन्ने विश्वास बढ्ने रहेछ।

सञ्चारकर्मी भएकाले समाचार संकलनका क्रममा म निरन्तर फिल्डमा हुन्थे । मानिसहरूसँगको भेटघाटमा पनि सतर्कता अपनाइरहेकै थिएँ । मास्क, पन्जा, स्यानिटाइजरको प्रयोग निरन्तर गरिरहेकै थिएँ । तर, उच्च सतर्कता अपनाउँदाअपनाउँदै पनि मलाई संक्रमण भयो । मलाई अक्सिजन नै दिनुपर्ने अवस्था आयो ।

मेरो परिवारमा १० महिनाकी छोरी र श्रीमती छन् । संक्रमण देखिएपछि मलाई सबैभन्दा बढी यही कुराले डर लागेको थियो । उपचारका लागि काठमाडौं आउँदा श्रीमती र छोरी पनि सँगै थिए । कोरोना पुष्टि भएपछि उनीहरूलाई घर पठाइयो । जोखिमका बीच संक्रमितको मनोबल उच्च राख्न डाक्टर, नर्सहरूले गरिरहेको काम ज्यादै सराहनीय पाएको छु । उनीहरूकै कारण म संक्रमणमुक्त भएको छु ।

संक्रमितलाई दिइने खानाको गुणस्तर पनि राम्रो नै थियो । तर, सुगरका रोगीका लागि समेत सधैँ आलुका परिकार दिँदा अलिक अप्ठेरो परेको थियो । मलाई पनि सुगर छ । रोटी त झन् बच्चाहरूले पेन्टिङ बनाएका कागजमा बेरिएको हुन्थ्यो । १५ जनाका लागि शौचालय एउटै थियो । नुहाउने ठाउँ थिएन । यस्तो भौतिक व्यवस्थापनलाई कसरी राम्रो भन्नु ! केही राम्रो थियो भने चिकित्सक टोलीको लगन र प्रयासै थियो । 

संक्रमितलाई निको पार्न डाक्टरहरूले ठूलो योगदान गरिरहेका छन् । हामीले उनीहरूको पनि मनोबल बढाउनुपर्छ । साथीभाइ, परिवारको हौसलाले संक्रमणमुक्त हुन मद्दत गर्ने रहेछ । संक्रमित भएकै कराण घृणा गर्ने, अपमान गर्ने, हेला गर्ने गरियो भने संक्रमित मात्र होइन, संक्रमित व्यक्तिका परिवारको समेत मनोबल गिर्छ । संक्रमित भएर आइसोलेसनमा बसिरहँदा मैले सधैँ सकारात्मक समाचार पढेँ । संक्रणबाट निको भएर फर्किएका मानिसको कथा पढेँ । मनोरञ्जनात्मक भिडियो हेरेँ । जसले मलाई सकारात्मक बनाउन सहयोग गरेको थियो । 

सञ्चारकर्मी भएका नाताले पनि संक्रमणको जोखिमपूर्ण अवस्थामा सकारात्मक समाचारले ठूलो प्रभाव पार्ने रहेछ भन्ने मलाई महसुस भयो । सकारात्मक समाचारले संक्रमितलाई हौसला प्रदान गर्ने रहेछ । कोरोनालाई जित्छु भन्ने विश्वास बढ्ने रहेछ ।

आइसोलेसनमा रहँदा मैले डाक्टरको सिफारिसअनुसार नियमित औषधि सेवन गरेँ । अस्पतालभित्रै हामी योग, प्रणायाम अभ्यास गर्थ्याैं ।  एक-अर्काको हौसला बढाउने काम पनि गर्थ्याैं । संक्रमितको हौसला बढाएर उसलाई छिटो संक्रमणबाट मुक्त गराउन सकिने रहेछ । अस्पतालभित्र सरसफाइका कर्मचारी पनि हाम्रो हौसला बढाउने काम गर्नुहुन्थ्यो । यतिका मान्छे निको भएर गएका छन्, तपाईंहरू पनि चाँडै निको हुनुहुन्छ भनेर हौस्याउँथे । १४ दिनको अस्पताल बसाइपछि २४ साउनमा मेरो स्वाब संकलन गरियो । २६ साउनमा आएको नतिजाले मलाई संक्रमणमुक्त देखायो । अहिले म डाक्टरहरूको सल्लाहअनुसार होम क्वारेन्टाइनमा छु । घरबाटै समाचारको काम गरिरहेको छु । त्यसबाहेक संक्रमित व्यक्तिलाई फोन गरेर संक्रमण निको हुन्छ, डराउनु पर्दैन भनेर हौसला दिने काम पनि गरिरहेकै छु । 

नभुलौँ, संक्रमणको जोखिम सबैलाई छ । अझ सञ्चारकर्मीलाई त अरूलाई भन्दा बढी जोखिम छ । त्यसैले सतर्क र सचेत हुन जरुरी छ । यदि कसैलाई संक्रमण भइहाले पनि नडराउनुहोला । आत्तिनु पर्दैन, संक्रमणबाट निको हुन सकिने रहेछ ।

(पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष ठाकुर कोरोना संक्रमणबाट निको भएका व्यक्ति हुन्)