१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असार १९ शुक्रबार १५:१९:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री मोदीले चीनलाई लक्षित गर्दै भने– विस्तारवादको युग समाप्त भयो

Read Time : > 1 मिनेट
२०७७ असार १९ शुक्रबार १५:१९:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीनबीच झडप भएको क्षेत्र लद्दाखमा शुक्रबार भारतीय सैनिकहरूलाई सम्बोधन गर्दै विस्तारवादको युग समाप्त भएको टिप्पणी गरेका छन् । 

शुक्रबार भारतीय सेनाका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणे तथा भारतीय सेनाको चिफ अफ द डिफेन्स स्टाफ विपिन रावतसहित आकस्मिक रूपमा लद्दाख पुगेका मोदीले चीनप्रति कठोर टिप्पणी गरेका हुन् । 

मोदीले आफ्नो सम्बोधनमा चीनको नाम भने लिएनन् । चिनियाँ विदेश मन्त्रालयले अप्रत्यक्ष रूपमा लद्दाखमा मोदीको भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

भारतीय र चिनियाँ सैनिकबीच १ असारको मध्यरातमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि भारत र चीनबीच आरोप–प्रत्यारोप हुँदै आएको छ । 

त्यस झडपमा कति चिनियाँ सैनिक हताहत भए भन्नेबारे चीनले अहिलेसम्म केही बोलेको छैन । 

दुई देशबीच सैनिक र कूटनीतिक तहमा वार्ता जारी रहे पनि सीमा क्षेत्रमा दुवै सैनिक अझै आमने–सामने छन् । 

क्रमशः दुवै सैनिक फिर्ता जाने सहमति भए पनि कार्यान्वयन भइसकेको छैन । यही परिस्थिति माझ भारतीय प्रधानमन्त्री मोदी शुक्रबार लद्दाख पुगेका हुन् ।

समुद्री सतहबाट ११ हजार फिटमा अवस्थित सिन्धु नदीछेउको निमुमा सैनिकलाई सम्बोधन गर्दै मोदीले विस्तारवादको युग समाप्त भएको र विकासवादको युग रहेको चीनलाई स्मरण गराएका छन् । 

उनले विस्तारवादले अघिल्लो शताब्दीमा पनि विश्व शान्तिका लागि खतरा पैदा गरेको आरोप लगाए । 

मोदीले भने, ‘यो युग विस्तारवादको होइन, विकासवादको हो । विस्तारवादले विश्व शान्तिका लागि खतरा पैदा गरेको छ ।’

मोदीले जुनसुकै चुनौतीको सामना गर्न भारत तयार भएको र भारतले विजय प्राप्त गरेरै छाड्ने पनि बताए । 

उनले सशक्त र आत्मनिर्भर भारत बनाएरै छाड्नेसमेत दाबी गरे । उनले सैनिक र परिवारको सुविधा बढाउनेसमेत उद्घोष गरे ।

अर्को एक सन्दर्भमा प्रधानमन्त्री मोदीले चीनसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माणका लागि तीन गुणा बजेट बढाएको तथा सीमा क्षेत्रमा सडक निर्माणको काम द्रुत गतिमा भइरहेको पनि जानकारी दिए । 

भारतले चीनसँगको सीमा क्षेत्र जोड्ने ६९ सीमासडक निर्माण गरिरहेको छ ।