१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ बैशाख २० शनिबार ०९:५३:००
Read Time : > 1 मिनेट
नयाँCity

लकडाउनमा सहरका हब शान्त अनि सुनसान असन

Read Time : > 1 मिनेट
२०७७ बैशाख २० शनिबार ०९:५३:००

जन्मदेखि मृत्यु संस्कारसम्मका सबै सामग्री पाइने काठमाडौं उपत्यकाकै प्रमुख स्थल हो असन । जे सामग्री खरिद गर्न जाँदा पनि रित्तो हात फर्किनुपर्दैन । यहीकारण हो, असनमा बाह्रैमास भिडभाड रहनु पनि । चाडपर्व र जात्रा आउनुपर्छ, यहाँका व्यापारीले एकछिन फुर्सद पाउँदैनन् । दसैँ–तिहारमा यहाँ पाइला टेक्ने ठाउँ पाउन मुस्किल हुन्छ । त्यो कोलाहलयुक्त असन अहिले शान्त अनि सुनसान छ । कोभिड–१९ फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण उपभोक्ता र व्यापारी दुवै घरमा छन् । उपत्यकाको यो प्राचीन बजारले इतिहासमै सम्भवतः पहिलोपटक लामो छुट्टी पाएको छ ।

यहाँको चर्चित अन्नपूर्णलगायत मठ–मन्दिरमा १० चैतयता नित्य पूजा भएको छैन । यसपटक चैतेदसैँका दिन सेतो मच्छिन्द्रनाथको रथ यहाँ बिसाइएन । घोडेजात्राको अघिल्लो दिन रथ पनि जुधाइएन यसपटक । असनको ठ्याक्कै बीचमा उभिएर पश्चिमतर्फ नजर डुलाउँदा सहजै तलेजु मन्दिर देख्न सकिन्छ अहिले । भिडभाडयुक्त असनमा यस्तो दृश्य दुर्लभ हुन्थ्यो । चारैतिर आँखा घुमाउँदा सटरहरूमा झुन्डिएका ताल्चै–ताल्चा देखिन्छन् ।

अन्नपूर्ण मन्दिर अघिल्तिरको डबलीमा अगरबत्ती र धूप किन्नेको भिड हुन्थ्यो, जहाँ अहिले छाडा छाडिएका कुकुरको राज छ । स–साना कवलका सयौँ पसलले घेरिएको असनमा मुस्किलले एक दर्जन दोकान पनि खुला हुँदैनन् अहिले । त्यो पनि साँझ–बिहान मात्र । सामाजिक दायित्व बोधका साथ उनीहरू जोखिम मोल्दै ग्राहकको आवश्यकता पूरा गर्छन् ।

असनको ठ्याक्कै बीचमा उभिएर पश्चिमतर्फ नजर डुलाउँदा सहजै तलेजु मन्दिर देख्न सकिन्छ अहिले । भिडभाडयुक्त असनमा यस्तो दृश्य दुर्लभ हुन्थ्यो । चारैतिर आँखा घुमाउँदा सटरहरूमा झुन्डिएका ताल्चैताल्चा देखिन्छन् ।

‘अहिले केवल १० प्रतिशत व्यापार हुन्छ,’ स्थानीय व्यवसायी त्रिरत्न तुलाधर भन्छन् । लगातार तीन पुस्ता धानेको त्यही सानो कवलमा खाद्यान्नको पसल गर्दै आएका छन् तुलाधरले । उनी यस पसलमा बस्न थालेको नै ५० वर्ष नाघ्यो । ‘पहिले समय बितेको पत्तै हुँदैनथ्यो, अहिले दुई घन्टा कटाउन मुस्किल पर्छ,’ उनी भन्छन्, ‘मानिस नहिँडेको असन देख्दा मन खिन्न हुन्छ ।’

०४० सालदेखि खाद्यान्न पसल गर्दै आएका अनाररत्न तुलाधर महामारीले असनलाई शान्त बनाएको बताउँछन् । उनले बाल्यकालमै सुनेका थिए, ‘असन बजार बन्द भयो भने सिंगो काठमाडौं नै बन्द हुन्छ ।’ बन्द हडतालका वेला दिनभर बजार बन्द भए पनि साँझपख खुल्थ्यो । ‘यति लामो समय असन शान्त भएको कहिल्यै देखेको थिइनँ,’ तुलाधर भन्छन् । नयाँ बजारमा बस्ने उनी सरकारले छुट्याएको साँझ–बिहानको समयमा पसल खोल्न मोटरसाइकल चढेर आउँछन् । तर, बीचमा सुरक्षा जाँचका कारण गाह्रो परेको बताउँछन् । भन्छन्, ‘कहिलेकाहीँ त प्रहरीले दुई–तीन घन्टा बाटोमै उभ्याइदिन्छ ।’ अप्ठ्यारोबीच पनि उनले उपभोक्ताप्रतिको दायित्व सम्झेका छन् । ‘यो एउटा सेवाको भावना पनि हो, हाम्रा कारण कोही भोकै नपरून्,’ उनी भन्छन् ।

अन्नपूर्ण मन्दिरअगाडि दही पसल गर्ने जितबहादुर नगरकोटी कोरोना भाइरसले दैनिक गुजारा चलाउनै मुस्किल पारिदिएको बताउँछन् । बिहान पाँच बजे नै उनी क्षेत्रपाटीबाट पसल खोल्न आइपुग्छन् । साबिकको तुलनामा १५ प्रतिशत मात्र व्यापार भइरहेको उनी बताउँछन् ।

अन्नपूर्ण मन्दिरको पछाडि एउटा सानो कवलमा सामान मिलाउँदै गरेको भेटिए, व्यवसायी चन्द्र सापकोटा । अहिले दैनिक एक–दुईजना मात्र ग्राहक आउने गरेको उनी बताउँछन् । पसल गर्न थालेको ३५ वर्षमा पहिलोपटक यस्तो अवस्था आएको बताउँदै उनले भने, ‘सधैँ यो आँखाले भिड मात्र देखेको असन अहिले सुनसान देख्दा नरमाइलो लाग्छ ।’