१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ फाल्गुण ११ आइतबार १०:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

एनआरटीविरुद्ध एपिएफको कठिन जित

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ११ आइतबार १०:०१:००

विभागीय क्लब एपिएफले शनिबार न्युरोड टिम (एनआरटी)माथि २–१ को कठिन जित निकाल्दै खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफलाई जित दिलाउने क्रममा रमेश दंगाल र बिकु तामाङले एक–एक गोल गरेका थिए । एनआरटीले खेलमा अग्रता लिएको थियो । तर, अग्रता रक्षा गर्न नसक्दा एनआरटी प्रतियोगिताको पहिलो खेलबाटै बाहिरियो । 

खेलको ३१औँ मिनेटमा दर्शन गुरुङले एनआरटीलाई १–० को अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासमा दर्शनले डिबक्सभित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए । खेलमा सुधार गरेको एपिएफले ६१औँ मिनेटमा १–१ को बराबरी गोल फर्कायो । 

एपिएफका लागि रमेश दंगालले बराबरी गोल फर्काएका हुन् । उनले सुदीप शिख्राकारको कर्नरमा अनमार्क रहँदै गोल गरे । खेलको ६७औँ मिनेटमा वैकल्पिक खेलाडी बिकु तामाङले एपिएफलाई २–१ को अग्रता दिलाए । खेलमा बिकुकै निर्णायक गोलको मद्दतमा एपिएफले जित निकाल्यो । कप्तान टोपबहादुर विष्टले प्रहार गरेको रिबाउन्ड बलमा बिकुले गोल गरेका थिए ।

प्रतिस्पर्धाको पहिलो हाफमा एनआरटीले राम्रो गोल अवसर पाएको थियो । तर, एनआरटीका स्ट्राइकरले प्राप्त अवसरमा गोल गर्न सकेनन् । उत्कृष्ट प्रदर्शन गरेका एपिएफका रमेश दंगालले म्यान अफ द म्याच चुनिँदै १० हजार रुपैयाँ हात पारे । एनआरटीका विदेशी खेलाडी जोर्डन जुनियर एपिएफका गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके । 

उनले खेलको अन्तिम समयमा प्रहार गरेको बल पोस्टनजिक हुँदै बाहिरियो । एपिएफका दर्शन गुरुङ र विदेशी खेलाडी एनेरे थेरीको प्रहार एपिएफका गोलरक्षकले बचाए । प्रतियोगिताअन्तर्गत आइतबार जनजागृति युवा क्लब सिमरा र मदन भण्डारी स्पोर्टस् क्लबबीच खेल हुनेछ । दुई विदेशीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताका उपाधि विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।