१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जितपुरसिमरा गोल्डकप : एपिएफलाई हराउँदै पुलिस फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o८:oo

विभागीय डर्बीमा नेपाल पुलिस क्लबले नेपाल एपिएफलाई ३–२ ले हराउँदै १४औँ जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा एपिएफले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा गोल्डकपको सेमिफाइनलबाट बाहिरियो । दोस्रोपटक फाइनल स्थान पक्का गरेको पुलिसले अब उपाधिमा अर्को ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबलसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । नौ वर्षअघिको छैटौँ संस्करणको उपाधि भिडन्तमा पुलिस त्रिभुवन आर्मीसँग पराजित भएको थियो । पुलिससमक्ष दोस्रोपटक उपाधि उचाल्ने अवसर प्राप्त भएको छ । 

खेलको पहिलो मिनेटमै पुलिसले एपिएफविरुद्ध अग्रता लियो । मैदान खेलाडीबीच तालमेल मिलाउन नपाउँदै पुलिसका आशिष राईले खेलको ४७ सकेन्डमै गोल गरे । उनले उज्ज्वल राईको क्रसमा पेनाल्टी क्षेत्रबाट सहज गोल गरे । खेलको २०औँ मिनेटमा पुलिस २–० ले अगाडि रह्यो । यसपटक पुलिसका लागि रामचन्द्र बाजेले गोल गरे । उनले उज्ज्वलकै पासमा गोल गरे । 

दोस्रो हाफमा बराबरी गोल
सुरुको २० मिनेटमा दुई गोलले पछि परेको एपिएफले मध्यान्तरअघि नै खेलमा फर्कने छनक देखायो । एपिएफले खेलको ४२औँ मिनेटमा २–१ को गोलअन्तरमा खेल झारेको थियो । एपिएफका लागि प्रदीपले गोल गरे । उनले बुद्धिमान राईमा गोल गरेका हुन् । खेलको ६१औँ मिनेटमा एपिएफले २–२ को गोल गर्‍यो । एपिएफका युवराज खड्काले बराबरी गोल फर्काएका हुन् ।

प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१औँ मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनमा सहजै गोल गरे । खेलको ८८औँ मिनेटमा सुजन मगरले पुलिसलाई ३–२ को स्थितिमा राखे । उनले एपिएफका गोलरक्षक एन्जल श्रेष्ठलाई छकाउँदै गोल गरे । सुजनको पहिलो गोल प्रयास गोलरक्षक श्रेष्ठले बचाए । तर, बल रिबाउन्ड भयो । त्यसैमा सुजनले सुन्दर गोल गरेका हुन् । 

खेलको अन्तिम इन्जुरी समयमा एपिएफ १० खेलाडीमा सीमित भयो । एपिएफका विश्वास उदासले पुलिसका खेलाडीसँग विवाद गर्न थालेपछि रेफ्री उमेश विण्डारीले उनलाई रातो कार्ड देखाए । 

ad
ad