कावासोतीको छिपछिपे सहकारीमा ठगी, राप्रपा सांसद गीता बस्नेतसहित १४ विरुद्ध पक्राउ पुर्जी जारी
नवलपुरको कावासोतीमा रहेको छिपछिपे बहुउद्देश्यीय सहकारी संस्थाको ठगी काण्डमा राप्रपाका सांसद गीता बस्नेतको नाम मुछिएको छ।
उनी बर्दियाकी हुन्। उनले कावासोतीको छिपछिपे सहकारीबाट करिब एक करोड, चितवनको सनराइज सहकारीबाट साढे दुई करोड र बर्दियाको एक सहकारीसहित गरी साढे पाँच करोड बढी ठगी गरेको पाइएको स्रोतले जनाएको छ।
उनी राप्रपाकी समानुपातिक सांसद हुन्। बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकाले आज पक्राउ पुर्जी जारी भएको बार एसोसियसन नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले बताए। सांसद गीता बस्नेतले गैरकानुनी रूपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ।
डुम्रेका अनुसार उनीसहित सहकारीका वर्तमान अध्यक्ष गोपी शर्मालगायत १४ जनाविरुद्ध संगठित अपराधअन्तर्गत पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एक अधिकृतले पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले प्रहरीले पक्राउ पुर्जीका लागि प्रक्रियामा रहेको स्वीकार गरे, तर उनले पक्राउ पुर्जी आइनपुगेको बताए। उनले भने, 'हामी प्रोसेसमा छौँ। थप केही भए सार्वजनिक गर्नेछौँ।'
कावासोतीको छिपछिपे सहकारीमा १० करोड बढी आर्थिक अनियमितता गरेको आरोपमा नवलपुर प्रहरीले यसअघि प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डेसहित सातजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनीहरूको पनि आज थप अनुसन्धानका लागि म्याद थप भएको एक अधिवक्ताले बताए।