मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार २२:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार २२:oo:oo

सरकार र लघुवित्तपीडितबिच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबिच पाँचबुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा दुई दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबिच सहमति जुटेको हो।

सरकारी वार्ताटोली र संघर्ष समितिका प्रतिनिधिबिच भएको सहमतिअनुसार लघुवित्तपीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलको ०८१ साउन २२ गतेको प्रतिवेदन कार्यान्वयनका लागि १५ दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।

नाम्सी पुलनजिक पहिरो, मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलनजिक शुक्रबार पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो खसेपछि उक्त स्थानमा सवारी आवागमन प्रभावित भएको छ । पहिरो हटाउन सडक डिभिजनको तैनाथ मेसिन तत्काल घटनास्थलमा परिचालन गरिएको छ ।

काठमाडौंमा सदभाव र्‍याली [फोटोफिचर]

संयुक्त विद्यार्थी संगठनले एकता र सदभावको आह्वान गर्दै र्‍याली निकालेको छ। शुक्रबार काठमाडौंको माइतीघरदेखि विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा सदभाव  र्‍याली निकालेका हुन्।

हिन्दु–मुस्लिमसहित सबै धर्म मान्ने दाजुभाइ रहेको सन्देश दिँदै निकालिएको र्‍यालीमा सहभागीहरूले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’, ‘हिमाल पहाड तराई, कोही छैन पराई’, ‘धर्मनिरपेक्षता जिन्दावाद’जस्ता नारा लगाएका थिए।

नागरिकको सुरक्षा र सामाजिक सदभाव कायम राख्न सरकार लागिपरेको छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न र सामाजिक सदभाव सुदृढ बनाउन सरकार निरन्तर योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल रास्वपाका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे।

गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजासम्बन्धी विधेयक पुनः हुबहु पारित

प्रदेश प्रमुखले प्रमाणीकरण नगरी गण्डकी प्रदेश सभामा फिर्ता गरेको गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पुनः हुबहु पारित गरेको छ।

२५ असारमा बसेको प्रदेश सभा बैठकबाट पारित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गरेसँगै प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि ३० असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर, प्रदेश प्रमुख डिल्लीराज भट्टले विधेयक प्रमाणीकरण नगरी ८ साउनमा प्रदेश सभामै फिर्ता पठाइदिएका थिए।

विवेक, सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन राप्रपाको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सम्पूर्ण नेपाली नागरिकहरूलाई संयम, विवेक, सहिष्णुता तथा राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ। शुक्रबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली समाजको शक्ति सहअस्तित्व र साझा राष्ट्रिय उद्देश्यप्रतिको प्रतिबद्धतामा निहित रहेको स्पष्ट पारेको हो।

परिस्थितिको यथोचित मूल्यांकन गरी उचित कदम चाल्न सरकार संवेदनशील भएन : नेकपा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार तराई–मधेशमा विकसित परिस्थितिको यथोचित मूल्यांकन गरी उचित कदम चाल्न तत्पर नदेखिएको टिप्पणी गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले सरकार प्रशासनिक, प्राविधिक र शक्ति प्रयोगद्वारा समाधान खोज्नेतर्फ केन्द्रित भएको भन्दै समस्याको राजनीतिक र दिगो समाधानका लागि जिम्मेवार हुन आग्रह गरेको हो।

सामाजिक सदभाव खलबल्याउने कार्यमा संलग्न नहुन धार्मिक अगुवाहरूको संयुक्त अपिल

सुनसरीलगायतका केही जिल्लामा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण अवस्थाबिच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमित रहन र सामाजिक सदभावमा असर पुग्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।

शुक्रबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै धार्मिक सहिष्णुता, सामाजिक एकता र भाइचारालाई मजबुत बनाउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका हुन्।

विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै विभिन्न प्रदेश र जिल्लामा खटाइए वरिष्ठ प्रहरी अधिकृत

नेपाल प्रहरीले हालको विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन वरिष्ठ प्रहरी अधिकृतहरूलाई विभिन्न प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारीसहित खटाएको छ।

प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत–साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकताअनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी पाएका छन्। 

बिहीबार गोली लागेर गणेश यादवकाे मृत्यु भएपछि शुक्रबार पालिकाले दियो शोकबिदा

सिराहाको गोलबजार नगरपालिका– ४, क्याम्पस चोकनजिक बिहीबार दिउँसो झडप हुँदा गोली लागेर औरही गाउँपालिका– २, तुलसीपुर घर भएका करिब १७ वर्षीय गणेश यादवको मृत्यु भएपछि पालिकाले शोकबिदा दिएको छ ।

औरही गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै बिहीबार गोलबजारमा भएको प्रदर्शनको क्रममा युवा विद्यार्थी यादसमेतको दुःखद निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतात्माको चिरशान्ति र श्रद्धाञ्जलीसहित शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।