सिराहाको गोलबजार नगरपालिका– ४, क्याम्पस चोकनजिक बिहीबार दिउँसो झडप हुँदा गोली लागेर औरही गाउँपालिका– २, तुलसीपुर घर भएका करिब १७ वर्षीय गणेश यादवको मृत्यु भएपछि पालिकाले शोकबिदा दिएको छ ।
औरही गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै बिहीबार गोलबजारमा भएको प्रदर्शनको क्रममा युवा विद्यार्थी यादसमेतको दुःखद निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतात्माको चिरशान्ति र श्रद्धाञ्जलीसहित शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।
पालिकाले शुक्रबार गाउँपालिकाअन्तर्गत सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था (आकस्मिक सेवाबाहेक) तथा मातहतका निकायहरूमा शोकबिदा दिइएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवद्वारा जारी सूचनामा अहिलेको दुःखद परिस्थितिमा सम्पूर्ण समुदाय, नागरिक समाज, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, धर्मगुरुहरू, सञ्चारकर्मी तथा प्रबुद्ध व्यक्तिहरूमा संयमता अपनाई धार्मिक तथा सामाजिक सदभाव कायम गर्न अपिल गरिएको छ ।
स्थानीय प्रशासनले बिहीबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्युकै समयमा क्याम्पस चोकनजिक झडप हुँदा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका– २, तुलसीपुरका करिब १७ वर्षीय गणेशको मृत्यु भएको थियो भने धनुषाको धनुषाधाम नगरपालिका– ७ का करिब १८ वर्षीय सुवाष ठाकुर घाइते भएका थिए। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिराहाले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणको आधारमा आन्दोलन वा हुलदंगा भई शान्तिसुरक्षा भंग हुने देखिएको भन्दै बिहीबार दिउँसो २ र ४ बजेदेखि सिराहाको गोलबजार र लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ ।
स्थानीय हाटबजार, पसल पूर्णतः बन्द रहेका छन् भने मुख्य बजार क्षेत्रहरूमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनको क्रममा गोलबजारमा क्षेत्रमा बिहीबार २० वटा मोटरसाइकल, एउटा विद्युतीय टेम्पोमा आगजनीसहित करिब एक दर्जन निजी घर तथा पसलहरूमा आगजनी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
प्रदर्शनको क्रममा सर्वसाधारण दुई तथा नेपाल प्रहरीका दुई डिएपीसहित १५ तथा सशस्त्र प्रहरी बलका एक डिएसपीसहित सातजना गरी २४ जना घाइते भएको उनले बताएका छन् । सिराहाको गोलबजारमा एकजनाको ज्यान जाने गरी भएको घटनापछि उत्पन्न झडप, आगजनी, तोडफोडको छानबिनका लागि मधेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ ।
मधेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा रहेको छानबिन समिति गठन गरिएको हो । छानबिन समितिले शुक्रबारदेखि नै घटनास्थल पुगेर छानबिन थाल्ने उनले बताए ।