नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सदभावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा मधेशका पाँच जिल्लाबाट हालसम्म ३६ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै धनुषा जिल्लाबाट १८ जना पक्राउ परेका छन्। त्यसैगरी, सर्लाहीबाट आठजना, सिराहाबाट पाँचजना, महोत्तरीबाट दुईजना र पर्साबाट एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्ला दिनहरूमा तराई–मधेशका विभिन्न जिल्लामा साम्प्रदायिक तथा सामाजिक सदभावमा असर पर्ने घटनाहरू बढ्न थालेपछि सामाजिक शान्ति, सुरक्षा र सदभाव कायम राख्न सुरक्षा निगरानी तथा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइएको छ।
प्रहरीले सामाजिक तथा साम्प्रदायिक सदभाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै नागरिकलाई आग्रह गर्दै कानुनको पालना गर्न अपिल गरेको छ। साथै, ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देशमार्फत सामाजिक एकता र आपसी सदभाव कायम राख्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।