कालापहाडमै अस्ताए सल्यानका दुई परिवार

भारतको हिमाचल राज्यमा डेरा बसेको घरमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यान सिद्धकुमाख गाउँपालिकाका दुई परिवारका नौजनाको मृत्यु

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

श्रमको खोजीमा कालापहाड पुगेका सल्यानका दुई परिवार उत्तै अस्ताएका छन् । रोजगारीका लागि भारत जानुलाई ‘कालापहाड’ भन्ने गरिन्छ । 

भारत, हिमाचल राज्यको सोलान जिल्लाको अर्की बजारमा २७ पुस राति आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा रोजगारीका लागि पुगेका र उनका सन्तानसहित नौजनाको ज्यान गएको हो । घटनामा ज्यान गुमाउनेहरू सिद्धकुमाख गाउँपालिका– २, टाकुराका दुई घरका हुन् । अर्कीमा रहेका टाकुराका प्रेम विकले टाकुराकी वडासदस्यसमेत रहेकी श्रीमती लक्ष्मीलाई घटनाबारे जानकारी गराएपछि सिंगो गाउँ शोकमा डुबेको छ । शिद्धमाख गाउँपालिकाले टाकुरा वडामा शोक विदासमेत दियो ।

घटना भएको क्षेत्रमा रहेका कालीबहादुर विसीका अनुसार टाकुराका ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाका छोरा राजनसहित परिवारै उजाडिएको छ ।

त्यस्तै, ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकले ज्यान गुमाएका हुन् । काशीरामका ११ वर्षीय छोरा अभिषेक भने हजुरआमासँग सल्यानमै छन् । धनबहादुर कालीबहादुरका फूपुका छोरा र काशिराम ठुलीआमाका छोरा हुन् । ‘अहिलेसम्म सातजनाको क्षतविक्षत भएको शव फेला परेको छ । पूर्ण शरीर भएको शव एउटै छैन । कसको शवको टुक्रा कसको हो, छुट्याउन नसक्ने अवस्था छ,’ कालीबहादुरले टेलिफोनमा सुनाए, ‘सुरक्षाकर्मीले घटनास्थलमा घेरबार गरेर राखेको छ ।’

धनबहादुर र काशीरामको परिवार पसल रहेको घरको माथिको कोठामा बस्थे, जुन घरमा राति आगलागी भएको हो । काशीराम र धनबहादुर परिवारसहित दुई वर्र्षदेखि मजदुरी गर्दै आएका थिए  ।

कालीबहादुरका अनुसार आइतबार राति करिब २ बजेतिर नजिकै (५ मिनेटको दुरीमा) रहेको एक पसलमा आगो लागेको खबर आएपछि उनी उठेर घटनास्थल पुगे । ‘आगलागी भएको घरमा बस्दै आएका आफन्तले फोन गरेपछि घटना थाहा पाएको हुँ । म घटनास्थल नजिकै पुग्दा समेत पसलमा मात्र आगो लागि रहेको थियो । आगलागी भएको ठाउँमा कसैलाई जान दिएको थिइन । आगो लागेका केही समयमा नै पसलमा रहेका ग्यास सिलिन्डर पट्किन थाले । सिलिन्डर पट्किन थालेपछि हामी जम्मा भएका केही पर सुरक्षित स्थानमा गयौं,’ उनले सुनाए ।

ग्यास सिलिन्डर विस्फोट पनि आगो निभाउन आएको दमकल र प्रहरीले नियन्त्रणमा लिन सक्ने अवस्था थिएन । ‘आगो ठूलो भएको र अरु ग्यास सिलिन्डर पनि छन् की भन्ने डरले कसैले केही गर्न सकेन । रातभर हेरेर बस्ने बाहेक अर्को विकल्प रहेन । सोमबार बिहान दमकलले आगो निभायो,’ उनले भने ।

सन्ततीको सपनासँगै विलिन भयो सपना
घरको काइलो सन्तानकोरुपमा रहेका काशिरामको एक छोराबाहेक सबै परिवार उजाडिएको छ । हजुरआमासँग सल्यानमै बसेकाले उनको ज्यान बचेको हो । कमाई कमाई गरेर ल्याउन र साहु ऋण तिरौला भनेको परिवार छोरा बुहारी नाति नातिनीको मृत्यु हुँदा सबै सपना सपनामा नै सिमित भएको आमा बुरासी कामीले गहभरी आँशु पार्दै बताइन् । ‘कालापहाडबाट छोराबुहारी आलान भनेको लाश पनि आउछ, आउदैन थाहा छैन,’ उनले भनिन् ।

शोकमा डुब्यो गाउँ 
विस्फोटमा परी एउटै टोलका नौ जनाको हृदयविदारक मृत्यु भएपछि यतिबेला सिद्ध कुमाख गाउँपालिका शोकमा डुबेको छ । वडा सदस्य लक्ष्मी विकले स्वदेशमा रोजगारी नपाउँदा परदेशिनु पर्ने बाध्यता र मृत्युवरण गर्नु पर्ने बाध्यता रहेको बताइन् । ‘उत्पादन गरेको अन्नले ६ महिनासमेत खान नपुग्ने, वैकल्पिक रोजगारीको अभाव र गरिबीले थिचिएका नागरिकका लागि कालापहाड नै जीवन धान्ने अन्तिम सहारा छ,’ उनले भनिन् । 

यहाँका बासिन्दा वर्षमा दुई पटक कमाइका लागि भारत जाने गरेको स्थानीय वीरेन्द्र बुढाथोकीले बताए । असार अन्त्यतिर जानेहरू प्राय: स्याउ टिप्ने काममा पुग्छन् भने हिउँद सकिएपछि जानेहरू गोडमेल, होटल, ज्याला मजदुरीलगायत विभिन्न काममा लाग्ने गरेका छन् ।

धनबहादुरका दाइसहित छिमेकी हिँडे हिमाचल 
काशीराम विकका माइला दाई, कासीरामका ११ वर्षीय छोरा र छिमेकी मंगबार हिमाचल लागेका छन् । हिमाचलमा बस्दै आएका छिमेकी घटनाबारे जानकारी गराएपछि उनीहरू गएका हुन् ।  

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले आवश्यक समन्वय हुने बताए । गाउँपालिका अध्यक्षसँग कुराकानी भइरहेको र घटनाको वास्तविकता बुझ्ने कार्य भइरहेकाले दुतावास वा अन्य निकायसँग समन्वय नभए पनि परिवार र पालिकाले सहयोग मागेको खण्डमा सहयोग हुने उनले बताए ।
 

सुझावित समाचार