Skip This
विपिन जोशीको परिवार इजरायलमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
इजरायलमा विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा
२o८२ श्रावण २७ मंगलबार o६:o४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपिन जोशीको परिवार इजरायलमा

विपिन अपहरणमा परेको किबुज आलिमुम जानुका साथै राष्ट्रपति, सभामुख, परराष्ट्रमन्त्री र सेना प्रमुखसँग पनि भेट गर्ने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार o६:o४:oo

झन्डै दुई वर्षअघि हमासको अपहरणपछि प्यालेस्टाइनको गाजामा  बन्धक बनाइएको विश्वास गरिएका कञ्चनपुरका विपिन जोशीको परिवार सोमबार इजरायल पुगेको छ । विपिनकी आमा पद्वा र बहिनी पुष्पा १० दिनका लागि इजरायल सरकारको व्यवस्थापनमा गएका हुन् । 

तेलअभिभबाट नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको परिवारका सदस्य सोमबार साँझ इजरायल पुगेको बताए । ‘उहाँहरू सोमबार साँझ आइपुग्नुभयो । १० दिन रहँदा भेटवार्ताहरू गर्ने र विपिन अपहरणमा परेको किबुज आलिमुमको भ्रमण गर्नेलगायतका कार्यक्रम छन् भन्ने जानकारी पाएको छु,’ राजदूत पण्डितले टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

परिवारको भ्रमणलाई इजरायलको विदेश मन्त्रालयस्थित एसिया प्यासिफिक डिभिजनअन्तर्गत दक्षिण एसिया हेर्ने अधिकारीले समन्वय गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पद्मा र पुष्पाले इजरायलका राष्ट्रपति आइज्याक हरजोग, सभामुख अमिर ओहाना, विदेशमन्त्री गिदोन साअर, इजरायली डिफेन्स फोर्स (आइडिएफ)का प्रमुख जनरल रभ अलुफ इयाल जमिर, इजरायली सेनाको गाजा डिभिजनका कमान्डर ब्रिगेडियर जनरल एभी रोजेनफेल्डलगायतसँग भेट गर्ने तय भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेट तय भैसकेको छैन । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विपिनको परिवारको इजरायल भ्रमणबारे समन्वय भएको बताए । ‘विपिन जोशीका परिवारजनको इजरायल भ्रमणबारे परराष्ट्र मन्त्रालय जानकार छ । उहाँहरूलाई आवश्यक समन्वय र सहजीकरण पनि गरेका छौँ,’ परराष्ट्र प्रवक्ता पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने ।  

इजरायल सरकारले उनीहरूलाई सुरुमा इजरायल भ्रमण गराउने र आगामी महिना संयुक्त राष्ट्रसंघको महासभा चलेका वेला अमेरिका लैजानेसमेतको योजना बनाएका छन् भन्ने जानकारी छ,’ एक कूटनीतिक अधिकारीले भने, ‘तर, यसबारे नेपाल सरकारसँग समन्वय भएको छैन ।’ 

विपिनको परिवारको भ्रमण इजरायल सरकारको इच्छाअनुसार भएको एक कूटनीतिक अधिकारीले बताए । सोहीअनुसार पद्मा र पुष्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली राजदूत स्मुलिक एरी बासले बिदाइ गरेका थिए । इजरायलको तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत पण्डितसहित इजरायली अधिकारीले स्वागत गरेका छन् । 

परिवारजन जानुपूर्व विपिनको जिल्ला कञ्चनपुरका सांसद तारा लामा तामाङसहितको टोली शुक्रबार इजरायल पुगेको थियो । टोलीले सोमबार विपिन अपहरणमा परेको आलुमिम किबुज क्षेत्रको भ्रमण गरेको छ । 

२०८० असोज २३ (७ अक्टोबर २०२३)मा हमास समूहको हमलामा १० नेपालीले ज्यान गुमाएका थिए भने विपिनलाई आलुमिम किबुज (कम्युन)बाट उक्त समूहले अपहरण गरेर हमास नियन्त्रित गाजापट्टी लगेका थिए । त्यही दिनबाट हराएका भीमदत्त  ३, कञ्चनपुरका विपिनको खोजी भइरहे पनि यकिन अवस्था सार्वजनिक छैन ।

विपिन अझै हमास समूहको कब्जामा रहेको इजरायली अधिकारीहरूको विश्वास छ । तर, अपहरणपछिको अवस्थाबारे इजरायल सरकारले जानकारी पाउन नसकेको विदेश मन्त्रालयका अधिकारीहरूले बताएका छन् । गाजापट्टीमा हमासको अपहरणमा परेका २५१ जनामध्ये अब ५० जना मुक्त हुन बाँकी छन् । ‘यीमध्ये २० जना इजरायली नागरिक जीवित छन् भन्ने सूचना छ । नेपाली विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी छैन । हमास समूहले बाँकी बन्धकहरूको हत्या गरिसकेको जानकारी पाएका छौँ,’ गत साता जेरुसेलममा नेपाली पत्रकारहरूसँगको छलफलमा इजरायलका विदेश मन्त्रालयका अधिकारीले भनेका थिए । इजरायल सरकारले विपिनलाई उनीहरूका नागरिकसरह नै खोजी कार्य गरिरहेको ती अधिकारीको भनाइ थियो । 

इजरायलको तेलअभिभबाट करिब ८५ किलोमिटर दक्षिणमा रहेको आलुमिमबाट हमास शासित प्यालेस्टाइनमा विपिनलाई लगेको अनुमान छ । हमासका हतियारधारी समूहले विपिनलाई कब्जामा लिएर गाजापट्टी लगेका थिए । त्यसवेला हमलामा घोडाघोडी– ४, कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी– ६, बझाङका गणेशकुमार नेपाली, बौनियाँ– ३, कैलालीका आशिष चौधरी, लेकम– ५, दार्चुलाका दीपेशराज बिष्ट, पचनाली– ३, डोटीका राजन फुलारा, लामिखाल– ८, डोटीका पदम थापा, शारदा– ३, सल्यानका प्रवेश भण्डारी, मालिकार्जुन– ४, दार्चुलाका लोकेन्द्रसिंह धाँमी, सपही– ६, धनुषाका आनन्द साह र मधुवन– १, सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो । 

सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत विपिनसहित ४९ जना २७ भदौ ०८० मा इजरायल गएका थिए । विपिनलाई त्यही दिन गाजाको अस्पतालमा लगिएको भिडियोबाहेक थप जानकारी छैन ।