
नेप्से परिसूचक करिब एक महिनायताकै न्यून विन्दुमा झरेको छ। गत १ फागुनमा २६७८.४७ विन्दुमा पुगेर उकालो लागेको नेप्से एक महिनापछि बुधबार न्यूनतम विन्दुमा झरेको हो।
आज नेप्से परिसूचक १४.८८ अंकले घटेर दुई हजार ६८२.१५ विन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.६५ प्रतिशतले ओरालो लागेको छ।
बुधबार ३११ कम्पनीका ९५ लाख ८३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
नेप्सेका १३ समूहमध्ये होटेल तथा पर्यटन, म्युचल फन्ड र व्यापार समूह एक प्रतिशतभन्दा कमले बढ्दा बाँकी सबै समूहको सूचक ओरालो लागेका छन्। वित्त र जीवन बिमा समूह एक प्रतिशतभन्दा धेरैले घट्दा ओरालो लागेका बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।
मिथिला लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढ्दा गरिमा समृद्धि योजना, भूगोल इनर्जी विकास कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात प्रतिशतभन्दा धेरै आम्दानी गरेका छन्।
आज सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। सो कम्पनीका लगानीकर्ताले ९.२० गुमाउँदा हिमालयन पावर, श्वेतगंगा हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र मनकामना इन्जिनियरिङ हाइड्रोको सेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ।