मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ चैत ४ सोमबार o६:१५:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नवराज सुवेदी नेतृत्वका लागि अघि सारिएपछि राजावादीमा खैलाबैला

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार o६:१५:oo

राजतन्त्र पुनर्स्थापनाका लागि पूर्वराजावादीलाई एउटै छातामुनि संगठित गर्दै आन्दोलन अगाडि बढाउने प्रयास औपचारिकता नपाउँदै विवादित बनेको छ । मोर्चाको नेतृत्व कसले गर्ने र पूर्वराजा ज्ञानेन्द्र शाहको विश्वासपात्र को बन्ने भन्ने विषयमा राजावादीहरूबिच नै तीव्र मतभेद देखिएको छ ।पूर्वराजा शाहले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजतन्त्र पुनस्र्थापनाका लागि मोर्चाबन्दी गर्दै आन्दोलन अगाडि बढाउने प्रयास गरेपछि संसद्को पाँचौँ ठुलो शक्ति राप्रपाको नेतृत्वले अस्वीकार गर्ने संकेत दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आह्वान गरेको आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पूर्वराजाले अघि सारेका ८६ वर्षीय सुवेदीको विपक्षमा राप्रपाका बहुसंख्यक वरिष्ठ नेता उभिएका छन् । 

राजतन्त्र पुनर्स्थापनाका लागि अहिले राप्रपा, राप्रपा नेपाल, विवादास्पद व्यवसायी दुर्गा प्रसाईं र पूर्वमन्त्री केशरबहादुर विष्टको समूह सतहमा आए पनि एजेन्डा र आन्दोलनको नेतृत्वलाई लिएर उनीहरूबिच ठुलो विवाद छ । उनीहरू सबैले आफ्नो दल वा समूहको नेतृत्वमा राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा जोड दिँदै एकले अर्काका नेतृत्व स्वीकार गर्न नसकिने अभिव्यक्ति दिएका छन् । 

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अधिकांश नेताले राप्रपाकै नेतृत्वमा मोर्चाबन्दी र आन्दोलन अगाडि बढाउनुपर्ने मत राखेका छन् । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन र समितिमा रहेका सिनियर नेताहरूसहित पूर्वराजा ज्ञानेन्द्रले अगाडि सारेका नेता सुवेदी पनि सहभागी थिए, जहाँ नेताहरूबिच आन्दोलन र नेतृत्वको विषयमा फरक–फरक धारणा आएका छन् । 

बैठकमा अधिकांश नेताले लामो समयदेखि संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र र हिन्दु राष्ट्रको मुद्दा उठाएर जनमतबाट संसद्मा समेत प्रतिनिधित्व गरिरहेको दल राप्रापाकै नेतृत्वदायी भूमिका कमजोर हुने गरी मोर्चाबन्दी र आन्दोलन सम्भव नहुने धारणा राखेका थिए । यस्तै, धेरैजसो नेताले व्यक्तिको सट्टा पार्टीलाई सर्वोपरि मानेर योजना र कार्यक्रम तय भए मात्र संवैधानिक राजतन्त्र पुनस्र्थापनाको आन्दोलन निष्कर्षमा पुर्‍याउन सम्भव हुने मत राखेका छन् ।

‘राप्रपा जनताबाट निर्वाचित भएर अहिले संसद्मा प्रतिनिधित्व गर्ने पार्टी हो । संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र र हिन्दु राष्ट्रको विचार बोक्दै आएको सबैभन्दा ठुलो पार्टी राप्रपा नै हो,’ बैठकमा अधिकांश नेताले राखेको साझा मत उद्धृत गर्दै ती सदस्यले भने, ‘लामो समयदेखि विभिन्न आरोह र अवरोहका बाबजुद अविचलित रूपमा जीवन्त ढंगले मुद्दा बोकेको पार्टी भएको नाताले व्यक्ति होइन, राप्रपाको नेतृत्वमा आन्दोलन हुनुपर्छ । व्यक्ति होइन, पार्टी नै सर्वोपरि हो भन्ने मत आएको छ ।’

बैठक आरम्भ गर्दै अध्यक्ष लिङ्देनले एउटा निचोडमा पुग्ने गरी मोर्चाबन्दी र आन्दोलनबारे खुलस्त धारणा राख्न आग्रह गरेका थिए । उनले लामो समयदेखि विभिन्न प्रहार खेपेर भए पनि एजेन्डाको नेतृत्व गरेर संसद्मा प्रतिनिधित्व गरिरहेको दल राप्रपामाथि प्रहार हुने ठाउँ दिएर अरू दललाई मोर्चाबन्दी गर्न दिन नहुने बताएका थिए । 

‘राजसंस्था हाम्रो आस्थाको विषय हो । २५ फागुनमा हामीले लोप्रोफाइलमा बसेर राजालाई स्वागत गर्‍यौँ । दुर्गा प्रसाईं राजाको पछि लागेर हात हल्लाउँदै हिँड्दा पनि हामी चुपचाप रह्यौँ । तर, अरू दललाई हाम्रोविरुद्ध मोर्चाबन्दी गर्ने अवसर दिनुहुँदैन । गणतन्त्र पक्षधरहरू हाम्रो विरोधमा मोर्चाबन्दी गर्ने अवस्थामा पुगे भने राम्रो हुँदैन,’ लिङ्देनले भने, ‘नवराज सुवेदी नेतृत्वमा आन्दोलनको मोर्चा बनाउने चर्चा छ । उहाँहरू पार्टी अध्यक्षलाई बाइपास गरेर छलफल गरिरहेको सुनेको छु । उहाँले नै यसबारे स्पष्ट भन्नुपर्छ ।’

बैठकलाई औपचारिक रूप दिएलगत्तै लिङ्देनले पूर्वराजाबाट प्रस्तावित संयोजक सुवेदीलाई बोल्ने समय दिएका थिए । त्यसलगत्तै सुवेदीले पूर्वराजाको इच्छाअनुसार आफूले सबैलाई एक ठाउँमा ल्याएर आन्दोलन अगाडि बढाउनका लागि संयोजनको जिम्मेवारी पाएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए । ‘मलाई डेढ वर्षदेखि यो जिम्मेवारी लिन भनिएको थियो । तर, म बुढो मान्छे, लौरो टेकेर हिँड्नुपर्छ, सक्दिनँ । लोकेन्द्रबहादुर चन्दलाई जिम्मा दिन खोजियो, तर उहाँले पनि स्वास्थ्यका कारण अस्वीकार गर्नुभयो । पशुपतिशमशेरजीलाई प्रस्ताव गरेँ, उहाँले पनि मान्नुभएन,’ सुवेदीले बैठकमा सुनाएका थिए, ‘अन्ततः फेरि मलाई नै नेतृत्व लिन भनियो । मैले राजेन्द्र लिङ्देन, कमल थापा, दुर्गा प्रसाईंलगायतका सबैसँग छलफल गरेँ । सोमबार दिउँसो बैठक बोलाएको छु । तर, यदि पार्टीकै नेताहरू उपस्थित भएनन् भने राम्रो संकेत हुँदैन । पार्टी अध्यक्ष बैठकमा सहभागी हुनुपर्छ ।’ 

तर, सुवेदीको प्रस्ताव अध्यक्ष लिङ्देनले घुमाउरो तरिकाले अस्वीकार गर्दै सोचौँला भन्दै प्रतिनिधि पठाउन सकिने जवाफ फर्काएका थिए । बैठकमा आठ सदस्यले धारणा राखेकोमा लिङ्देनसहित पशुपतिशमशेर राणा, ज्ञानेन्द्रबहादुर शाही, ध्रुवबहादुर प्रधान, हरिबहादुर बस्तेत, ठाकुर शर्मा, भरत गिरी र उद्धव पौडेलले राप्रपाकै नेतृत्वमा आन्दोलन हुनुपर्ने पक्षमा मत राखेका थिए । नेताहरू डा. प्रकाशचन्द्र लोहनी, विक्रमबहादुर पाण्डे र धवलशमशेर राणाले भने पूर्वराजाको इच्छाअनुसार सुवेदीकै नेतृत्वमा अगाडि बढ्नुबाहेकको विकल्प नरहेको मत राखेका थिए । 

कार्यसम्पादन समिति सदस्यसमेत रहेका नेता पाण्डेले सुवेदीकै नेतृत्वमा आन्दोलन अघि बढाउने विषयमा छलफल केन्द्रित भएको बताए । ‘बैठक मंगलबार पुनः बस्नेछ । उहाँ (नवराज सुवेदी)लाई कसैले जबर्जस्ती नेतृत्वका लागि अघि सारेको होइन, बरु सबैले मान्ने वरिष्ठ नेता भएकाले नेतृत्व स्विकारेर जान सहज हुन्छ भन्ने धारणा बनेको छ,’ पाण्डेले नयाँ पत्रिकासँग भने, ‘उहाँको नेतृत्व सबैका लागि स्वीकार्य हुन सक्छ । अबदेखि आन्दोलनसम्बन्धी बैठक उहाँले बोलाएमा उपस्थित हुनुपर्ने दिशामा छलफल भइरहेको छ ।’

ज्ञानेन्द्र शाही सुवेदीको नेतृत्वका विपक्षमा कडा रूपमा प्रस्तुत भएका थिए । उनले सुवेदीलाई पूर्वराजा ज्ञानेन्द्रले नयाँ तुलसी गिरीका रूपमा नेतृत्वका लागि सार्न खोजेको दाबी गर्दै राप्रपाले नेतृत्व नगरे ०५९ र ०६१ मा जस्तै असफल बन्ने चेतावनी नै दिएका थिए । ‘उहाँले जनतामा भिजेको मान्छेलाई टिपेर (बोकेर) हिँड्नुपर्छ । ०५९ र ०६१ मा जनतामा भिजेको मान्छे र पार्टीलाई नचिनेर रणनीतिक त्रुटि भइसक्यो । त्यसबाट शिक्षा लिनुपर्ने आवश्यकता छ,’ शाहीको भनाइ थियो, ‘एउटा रणनीतिक त्रुटि भइसकेको अवस्थामा पार्टीलाई बाइपास गरेर अब हामीले अर्को रणनीतिक त्रुटि गर्नुहुँदैन । जनताले नयाँ तुलसी गिरीलाई स्विकार्दैनन् । उनको भर परेर आन्दोलन अघि बढाउने हो भने धोका हुन्छ । युवा पुस्तालाई मिनिमाइज्ड गरेर आन्दोलन सम्भव छैन । त्यसैले राप्रपाकै नेतृत्वमा आन्दोलनमा जानुपर्छ ।’ 

बैठकमा पूर्वअध्यक्ष राणाले पार्टीलाई विश्वासमा लिएर अगाडि बढ्दा मात्र आन्दोलन सफल हुने भन्दै संयोजनकारी धारणा राखेका थिए । ‘सुवेदीजीलाई शुभकामना छ । तर, पार्टीमै खुला छलफल गरेर निष्कर्षमा पुगौँ । पार्टीलाई विश्वासमा लिएर मात्र अगाडि बढौँ । नेतृत्वका सवालमा बैठकले जे निर्णय गर्छ, त्यस आधारमा अगाडि बढौँ,’ उनले भने, ‘आन्दोलनका योजना र कार्यक्रम राप्रपाको बैठकले बनाउनुपर्छ । पार्टी निर्णयकै आधारमा अघि बढ्नुपर्छ ।’

अर्का नेता डा. लोहनीले भने सुवेदीकै नेतृत्वमा अगाडि बढ्नुपर्ने जिकिर गरेका थिए । ‘अहिलेका लागि सबैलाई उपयुक्त हुने गरी जुन नेतृत्व अगाडि सारिएको छ, त्यो ठिक छ । उहाँ (नवराज सुवेदी)कै नेतृत्वमा अगाडि बढ्नुपर्छ,’ लोहनीले भनेका थिए, ‘पार्टीका पूर्वघोषित कार्यक्रमहरू अघि बढाऔँ ।’डा. धवलशमशेर राणाले नवराज सुवेदीको नेतृत्वमा आन्दोलन हुनु पार्टीका लागि खुसीको विषय भएको बताए । ‘हामी दुई–चार सिटका लागि मात्र पार्टी चलाउने ? हामीले के खोजेका हौँ ? अवसरहरू आउँदा जोखिम लिन किन हिचकिचाउने ? आन्दोलनको परिणाम के हुन्छ भन्न सक्दिनँ, तर यसले पार्टीलाई ठुलो बनाउने निश्चित छ,’ उनले भने ।

अर्का नेता ठाकुरप्रसाद शर्माले आन्दोलन असफल भए त्यसको जिम्मेवारी कसको हुन्छ भन्दै प्रश्न गरे । ‘आन्दोलनमा सहभागी हुने पात्रबारे मेरो आपत्ति छैन । तर, प्रक्रिया ठिक भएन । के राजाको नेतृत्वमा आन्दोलन गर्ने हो ? राजसंस्था पुनस्र्थापना भए पनि राजनीतिक दल आवश्यक पर्छ । सक्रिय राजतन्त्र फर्काउने योजना त छैन होला ?’ उनले भने, ‘राप्रपालाई अहिले नबिगारौँ । आन्दोलन सफल भए ठिकै छ, तर असफल भए यसको दोष कसले लिने ?’ 

नेता उद्धव पौडेलले कठिन अवस्थामा राजसंस्थाको मुद्दा स्थापित गर्न राप्रपाले खेलेको भूमिका अवमूल्यन गर्न नहुने बताए । यस्तै, हरिबहादुर बस्नेतले भने, ‘राजालाई स्वागत गर्नेहरू पार्टीको झन्डा होइन । राष्ट्रिय झन्डा बोकेर आएका थिए । त्यसैले अहिले बनिरहेको वातावरण धमिल्याउने काम नगरौँ । नवराज सुवेदी नेतृत्वको आन्दोलनलाई सर्तविना स्वीकार गरौँ ।’

नेता ध्रुवबहादुर प्रधानले पार्टी र नेतृत्व कमजोर बनाएर आन्दोलन सम्भव नहुने बताए । ‘हामी अहिले राजसंस्था पुनस्र्थापना गर्ने प्रयास गर्दै छौँ कि अन्त्य गर्ने ? पार्टी र नेतृत्वलाई कमजोर बनाएर आन्दोलन सम्भव छ ?’ उनले भने, ‘हाम्रो आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्छ ?’निरञ्जन थापाले पार्टी अध्यक्षलाई जानकारी नै नदिई आन्दोलन समिति कसरी बन्न सक्छ भनेर प्रश्न गरे । ‘यसरी आन्दोलन सम्भव छैन,’ उनले भने । 

नेतृत्व गर्ने विषयमा कसको के चाहना ? 
राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मोर्चाबन्दी चाहेको छ । राप्रपा नेपाल संस्कृतिविद् डा. जगमान गुुरुङको नेतृत्वमा सबै राजावादी अटाउने मोर्चाबन्दीको पक्षमा छ । २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पुगेको समूहको जस राप्रपाले लिएकोमा दुर्गा प्रसार्इंले भोलिपल्ट असन्तुष्टि पोखेका थिए । राजावादी समूह सञ्चालन गरेका पूर्वमन्त्री केशरबहादुर विष्ट पनि राप्रपालाई मान्न तयार भएनन् । राप्रपा नेपाल राप्रपाको नेतृत्व स्विकार्न तयार छैन । यही मेसोमा पूर्वराजा ज्ञानेन्द्रका निकट मानिएका ८६ वर्षीय नवराज सुवेदीले सबैलाई संयोजन गर्ने जिम्मा पाएको स्रोतको भनाइ छ । तर, उनको नेतृत्व मान्न धेरै राजवादी तयार देखिँदैनन् । 

 राप्रपा बैठकमै पक्ष–विपक्षमा बाझाबाझ
अध्यक्ष राजेन्द्र लिङ्देनले आह्वान गरेको आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पूर्वराजाले अघि सारेका ८६ वर्षीय नवराज सुवेदीको विपक्षमा राप्रपाका बहुसंख्यक वरिष्ठ नेता उभिएका छन् । बैठकमा आठ सदस्यले धारणा राखेकामा लिङ्देनसहित पशुपतिशमशेर राणा, ज्ञानेन्द्रबहादुर शाही, ध्रुवबहादुर प्रधान, हरिबहादुर बस्नेत, ठाकुर शर्मा, भरत गिरी र उद्धव पौडेलले राप्रपाकै नेतृत्वमा आन्दोलन हुनुपर्ने पक्षमा मत राखेका थिए । नेताहरू डा. प्रकाशचन्द्र लोहनी, विक्रमबहादुर पाण्डे र धवलशमशेर राणाले भने पूर्वराजाको इच्छाअनुसार सुवेदीकै नेतृत्वमा अगाडि बढ्नुबाहेकको विकल्प नरहेको मत राखेका थिए ।

राजेन्द्र लिङ्देन
अध्यक्ष, राप्रपा

राजसंस्था हाम्रो आस्थाको विषय हो । २५ फागुनमा हामीले लोप्रोफाइलमा बसेर राजालाई स्वागत गर्‍यौँ । दुर्गा प्रसाईं राजाको पछि लागेर हात हल्लाउँदै हिँड्दा पनि हामी चुपचाप रह्यौँ । तर, अरू दललाई हाम्रोविरुद्ध मोर्चाबन्दी गर्ने अवसर दिनुहुँदैन । गणतन्त्र पक्षधरहरू हाम्रो विरोधमा मोर्चाबन्दी गर्ने अवस्थामा पुगे भने राम्रो हुँदैन । नवराज सुवेदी नेतृत्वमा आन्दोलनको मोर्चा बनाउने चर्चा छ । उहाँहरू पार्टी अध्यक्षलाई बाइपास गरेर छलफल गरिरहेको सुनेको छु । उहाँले नै यसबारे स्पष्ट भन्नुपर्छ । 

 डा. प्रकाशचन्द्र लोहनी
नेता, राप्रपा

अहिलेका लागि सबैलाई उपयुक्त हुने गरी जुन नेतृत्व अगाडि सारिएको छ, त्यो ठिक छ । उहाँ(नवराज सुवेदी)कै नेतृत्वमा अगाडि बढ्नुपर्छ । पार्टीका पूर्वघोषित कार्यक्रमहरू अघि बढाऔँ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुवेदीका विषयमा मुख नखोले पनि सकारात्मक छन् । महामन्त्री राजाराम बर्तौला भन्छन्, ‘जसले नेतृत्व लिए पनि हामीलाई फरक पर्दैन ।’