
खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेँसीसहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त्य भएको बताएका छन्।
बुधबार बेँसीसहरस्थित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहमा मन्त्री यादवले बेँसीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरी यहाँका नागरिकले बाह्रै महिना र २४ घण्टा नै स्वच्छ खानेपानी प्रयोग गर्न पाउने बताए।
उनले भने, ‘कुनै पनि समाजको समृद्धि, स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो। तर, विगतमा लमजुङको बेँसीसहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो। पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो, तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ।’
नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्रसहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो।
नेपालका कुनै पनि नागरिकले पानीको अभाव महसुस गर्नु नपरोस् भन्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको मन्त्री यादवले बताए। उनले आगामी वर्षहरूमा खानेपानी आयोजनालाई अझ परिस्कृत बनाउँदै सह–लगानी मोडेललाई उपभोक्तामैत्री बनाउन आफू लागिपरेको उल्लेख गरे।
नगर विकास कोषबाट लिइने ऋणमा ब्याजदर कम गर्न पहल गरिरहेको र यसले उपभोक्ताहरूलाई आर्थिक रूपमा थप सहज बनाउने विश्वास लिएको बताउँदै मन्त्री यादवले खानेपानी सेवाको विस्तार तथा नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयले दीर्घकालीन योजना बनाउने बताए।