मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ चैत ५ मंगलबार o७:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसइई परीक्षाको इतिहासमा पहिलोपटक नतिजाको मिति घोषणा

परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार o७:३५:oo

बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी करिब पूरा भएको छ । ७ चैतको बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन् । एसइई परीक्षाको इतिहासमा पहिलोपटक नतिजाको मितिसमेत घोषणा गरिएको छ । एसइईको तयारी तीनवटै तहका सरकारको समन्वयमा हुन्छ । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइईमा यसपटक देशभर दुई हजार ८० केन्द्र रहनेछन् । बोर्डले प्रत्येक केन्द्रमा २५० विद्यार्थी हुने गरी केन्द्र तोकेको छ । परीक्षा केन्द्रमध्ये एउटा जापानमा, एउटा केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि तोकिएको छ । 

  • नन्दलाल पौडेल, परीक्षा नियन्त्रक, राष्ट्रिय परीक्षा बोर्ड
  • परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको छ । प्रश्नपत्र छापिएर जिल्ला–जिल्लामा पठाइएको छ । केन्द्राध्यक्ष र सुपरिवेक्षक छनोट भइसकेका छन् । विद्यार्थीको प्रवेश–पत्र वितरण सुरु भइसकेको छ ।

बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी पूरा भइसकेको छ । प्रश्नपत्र छापिएर जिल्ला–जिल्ला पठाइसकिएको छ । परीक्षाका लागि कुल ७७ हजार आठ सय कर्मचारी खटिँदै छन्, त्यसमध्ये ३० हजार सुरक्षाकर्मी छन् । 

‘परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको छ । प्रश्नपत्र छापिएर जिल्ला–जिल्लामा पठाइएको छ । केन्द्राध्यक्ष र सुपरिवेक्षक छनोट भइसकेका छन्,’ उनले भने, ‘विद्यार्थीको प्रवेश–पत्र वितरण सुरु भइसकेको छ ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसइई परीक्षा मर्यादित बनाउन निर्देशन दिएकी छिन् । ‘परीक्षामा देखिएका बेथिति अन्त्य गर्नुपर्छ, सबैले समन्वय गरेर काम गर्नुहोला,’ सोमबार भर्चुअल बैठकमा मन्त्री भट्टराईले भनिन् ।

यसपटकको परीक्षामा सबैभन्दा बढी विद्यार्थी काठमाडौंबाट सहभागी हुनेछन् । काठमाडौंबाट ३९ हजार ६ सय विद्यार्थी सहभागी हुने भएका छन् । त्यस्तै, सबैभन्दा कम विद्यार्थी मनाङमा छन्, जहाँबाट ४३ जना विद्यार्थीले एसइई दिँदै छन् । 

एसइई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि २७ करोड ७० लाख खर्च हुने अनुमान गरिएको छ । बोर्डले उक्त रकम छुट्याइसकेको छ । त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुनेछ । अन्य रकम यसको व्यवस्थापन, कपी परीक्षण, जनशक्ति, तयारीलगायतमा खर्च हुनेछ । 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एसइई परीक्षामा कुनै पनि प्रकारको चिट चोर्न नदिने गरी परीक्षा सञ्चालन गर्न निर्देशन जारी गरेको छ । सबै जिल्ला शिक्षा समन्वय एकाइहरूलाई पत्राचार गर्दै केन्द्रले मोबाइल, किताब, गाइडलगायत चिट चोर्ने सामग्रीहरू लैजान नदिन पत्राचार गरेको छ । चिट चोरेको भेटिए विद्यार्थीको कापी खोसिने केन्द्रले जनाएको छ । 

जापानमा एउटा परीक्षा केन्द्र, २९ विद्यार्थी 
पछिल्लो पाँच वर्षदेखि परीक्षा बोर्डले जापानमा पनि एउटा परीक्षा केन्द्र सञ्चालन गर्दै आइरहेको छ । जापानमा बस्ने अभिभावकहरूले छोराछोरीलाई नेपाली पाठ्यक्रमअनुसार पढाउँदै आएको एभरेस्ट स्कुलले त्यहाँ केन्द्र सञ्चालन गर्नेछ । यसपटक सो स्कुलबाट २९ जनाले एसइई दिँदै छन् । नेपाली दूतावाससँगको सहकार्यमा परीक्षाको तयारी गरिएको परीक्षा नियन्त्रक पौडेलले बताए । अहिले परीक्षा दिने पाँचौँ ब्याच हो । परीक्षाको व्यवस्थापन दूतावासले गरे पनि प्रश्नपत्र नेपालबाटै पठाइन्छ । परीक्षा सकिएपछि दूतावासले उत्तरपुस्तिका नेपाल पठाउँछ । 

७ असारमा नतिजा 
परीक्षा सुरु भएको ७ चैतको मितिले ९० दिन पुग्ने गरी ७ असारमा नतिजा प्रकाशन हुनेछ । यसअघि नतिजा प्रकाशनबारे बोर्डले मिति नतोक्दा विद्यार्थी अन्योलमा हुन्थे ।