मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
प्रेम गौतम काठमाडाैं
२o८१ चैत ६ बुधबार o६:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनमत र नागरिक उन्मुक्तिबिच अर्को साता एकताको तयारी 

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार o६:o८:oo
  • गत निर्वाचनबाट मधेश र सुदूरपश्चिममा उदाएका जनमत र नागरिक उन्मुक्तिले आगामी निर्वाचनमा तराई–मधेशको निर्णायक शक्ति बन्ने लक्ष्यसहित एकता प्रक्रिया अघि बढाए

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीबिच आगामी साता नै टुंग्याउने गरी एकता प्रक्रिया अगाडि बढेको छ । गत निर्वाचनबाट मधेश र थरुहटमा उदाएका जनमत र नागरिक उन्मुक्तिले आगामी निर्वाचनमा तराई–मधेशमा निर्णायक शक्ति बन्ने लक्ष्यसहित एकता प्रक्रिया अघि बढाएका हुन् । 

  • जनमतका वरिष्ठ उपाध्यक्ष एवं पार्टी एकता कार्यदलका संयोजक अब्दुल खान भन्छन्–एउटा पार्टीको नाम र अर्को पार्टीको चुनाव चिह्न हुने गरी एकताको समझदारी बनेको छ । पद बाँडफाँटको विषय भने टुंगिन बाँकी छ । एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नागरिक उन्मुक्तिको निर्णयपछि आगामी सातासम्म दुई दलबिच पार्टी एकता हुन्छ ।

एकता गर्न जनमतले आधिकारिक निर्णय गरिसकेको छ भने उन्मुक्तिले निर्णयका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । एकतापछि पार्टीको नाम जनमत र चुनाव चिह्न ढकिया राख्ने तयारी छ । एकतापछि रेशम चौधरी संरक्षक, सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुने मोटामोटी सहमति बनेको एक नेताले बताए । 

तर, जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पार्टी एकता कार्यदल संयोजक अब्दुल खानले पदीय जिम्मेवारी टुंगिनसकेको बताए । ‘एउटा पार्टीको नाम र अर्को पार्टीको चुनाव चिह्न हुने गरी एकताको समझदारी बनेको छ । पद बाँडफाँटको विषय भने टुंगिन बाँकी छ,’ खानले नयाँ पत्रिकासँग भने, ‘एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नागरिक उन्मुक्तिको निर्णयपछि आगामी सातासम्म दुई दलबिच पार्टी एकता हुन्छ ।’ पहिचानसहितको अग्रगामी परिवर्तनको एजेन्डा अगाडि बढाउन परिवर्तनकारी शक्ति एक भएपछि सहज हुने उनले बताए । 

जनमतले पार्टी एकताका लागि खानको संयोजकत्वमा डा. शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल गठन गरेको छ । उन्मुक्तिले एकताको आधिकारिक निर्णयसँगै कार्यदल बनाउने तयारी गरेको छ । उन्मुक्तिका संरक्षक रेशम चौधरीले जनमतसँग निरन्तर छलफल गरिरहेका छन् । उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि गत ३ चैतमा जनमतका अध्यक्ष डा. राउतसँग छलफल गरेकी थिइन् । अनौपचारिक संवादकै आधारमा एकतासम्बन्धी दस्ताबेज मस्यौदाको तयारी भइरहेको छ । कार्यकर्ता व्यवस्थापनको विषयमा पनि विभिन्न चरणमा छलफल भएको छ ।

एकता सम्बन्धमा छलफल गर्न उन्मुक्तिले ८ र ९ चैतमा केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले एकता सम्बन्धमा निर्णय गर्ने सांसद गंगाराम चौधरीले बताए । ‘जनमतले निर्णय गरेर कार्यदलसमेत गठन गरिसकेको छ । केन्द्रीय समिति बैठकले एकताको निर्णय गरी कार्यदल बनाएपछि एकता प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

एनका अनुसार एकताका लागि जनमतसहित अन्य पार्टीले पनि प्रस्ताव गरेको सांसद चौधरीले बताए । जनमत र उन्मुक्तिको एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने दाबी संरक्षक चौधरीको छ । संरक्षक चौधरी पहिचानको मुद्दा मिल्ने भन्दै जनमतसँग एकता गरेर जानुपर्नेमा छन् । अध्यक्ष श्रेष्ठ केन्द्रीय समिति बैठकको निर्णयअनुसार अगाडि बढ्ने पक्षमा छिन् । रेशम चौधरी र रञ्जिता श्रेष्ठ पतिपत्नी हुन् ।

प्रदेशतर्फ जनमतका मधेशमा १३ र लुम्बिनीमा तीन सांसद छन् भने नागरिक उन्मुक्तिका सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेशमा एक सांसद छन् ।