मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ६ बुधबार १८:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमाको पैसा भुक्तानीमा स्वचालित प्रणाली लागू हुनुपर्छ : सांसद तामाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १८:१५:oo

एमाले सांसद तारा लामा तामाङले उपचारपछि स्वास्थ्य बिमाको पैसा भुक्तानीको स्वचालित प्रणाली लागू हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘स्वास्थ्य बिमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव’मा धारणा राख्दै तामाङले बिमा गरेकाले उपचार गराउँदा स्वतः सम्बन्धित अस्पतालमा पैसा जाने स्वचालित प्रणाली लागू हुनुपर्ने बताए।

हाल पाँचजनाको परिवारले स्वास्थ्य बिमाका लागि वार्षिक तीन हजार पाँच सय प्रिमियम बुझाउनुपर्छ। यस्तो प्रिमियम कोषमा जम्मा हुन्छ र सरकारले रकम थपेर सम्बन्धित अस्पतालमा (उपचारबापतको) रकम निकासा गर्छ। तर, तामाङले ‘स्वास्थ्य बिमा गराएका बिरामीले जुन अस्पताल (स्वास्थ्य बिमामा आबद्ध)मा उपचार गराए, त्यहाँ स्वतः प्रिमियम र सरकारी योगदानबापतको रकम काटिने स्वचालित प्रणाली’को माग गरेका हुन्।

मन्त्री तामाङले सरकारले स्वास्थ्य बिमालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके पैसाको अभावले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सकिने पनि बताए। सांसद सुनीलकुमार शर्माले बुधबार मात्र संसदमा स्वास्थ्य बिमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका थिए, जसमा १० सांसद प्रस्तावक छन्।

स्वास्थ्य बिमालाई व्यवस्थित गर्न सकेमा सबै नेपालीले उपचार पाउने उनले बताए। ‘बिमितले पनि किन बिमा गरे भन्ने हुँदैन,’ तामाङले भने, ‘युवामन्त्री (प्रदीप पौडेल) हुनुहुन्छ, धेरै कुरामा रुमल्लिनुभन्दा एउटा काम (स्वास्थ्य बिमा) व्यवस्थित गर्न अनुरोध गर्दछु।’ स्वास्थ्य बिमा र अस्पतालको गुणस्तर सुधारका लागि आफूहरू पनि सघाउन तयार रहेको तामाङले बताए। ‘मन्त्रीज्यूलाई लाग्छ भने सांसदलाई पनि जिम्मा दिनुहोस्, कहाँ लाग्नुपर्छ, के गर्नुपर्छ,’ उनले भने,  ‘स्वास्थ्य बिमामा सबै नेपालीको पहुँच हुने गरी काम गरौँ।’

यसबाहेक बिरामी परेपछि अस्पताल जानुभन्दा बिरामी नै हुन नदिने गरी काम थाल्नुपर्ने सांसद तामाङले बताए। ‘यसका लागि सरकारले खानपिनको शिक्षा दिनुपर्नेछ,’ उनले भने।

कञ्चनपुरबाट निर्वाचित सांसद तामाङले खुला सीमानाकाले अखाद्य वस्तु भित्रिरहेको र यसले नागरिकको स्वास्थ्यमा असर गरिरहेको बताए। ‘भारतमा कामै नलाग्ने ब्रोइलर कुखुरा आयात भइरहेको छ, रोक्नका लागि गृह र अर्थसँग पनि समन्वय गर्नुपर्ने देखिन्छ,’ उनले भने।