
ग्वार्काे फ्लाइओभर निर्माणमा सरकारी निकाय र ठेकेदार कम्पनीको गम्भीर लापरबाही
निर्माणमा लगातार ढिलाइ भइरहेको चक्रपथको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर परियोजनामा झन्डै ४० मिटर लामो र्याम्प (फ्लाइओभर र सडकलाई जोड्न माटो भरेर निर्माण गरिएको विशेष संरचना)मा प्राविधिक समस्या देखिएपछि उक्त भाग भत्काएर पुनर्निर्माण थालिएको छ । फ्लाइओभरको पुलसँग जोडिएको सातदोबाटोतर्फको झन्डै ४० मिटर लामो र्याम्प पुनर्निर्माण (रेक्टिफिकेसन) गरिँदै छ ।
निर्माण पूरा भएको र्याम्पको भागमा समस्या देखिएपछि सडक विभागले त्यसलाई भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको थियो । त्यहाँ झन्डै २६ मिटर गहिराइसम्म कालोमाटो रहेको छ, जसको भारवहन क्षमता कमजोर हुन्छ । यसकारण र्याम्प निर्माण भएपछि जमिन थप दबिएर कंक्रिट प्यानल र ब्लकमा असर परेको थियो । ब्लक–ब्लकबिचमा हावा नै छिर्ने गरी धेरै नै ग्याप बनेको थियो ।
त्यसपछि सडक विभागले त्यसलाई सुधार गर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । त्यसपछि कम्पनीले डेढ महिना काम रोकेर आवश्यक अध्ययन गरी २३ माघबाट पुनर्निर्माण सुरु गरेको थियो । गत पुस–माघमा कम्पनीले काम रोकेको थियो । निर्धारित समयमै काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले उक्त भाग भत्काएर पुनर्निर्माण सुरु गरेको हो ।
फ्लाइओभरको कुल लम्बाइ ४९० मिटरको छ । त्यसमा पुललाई सडकसँग जोड्न बालकुमारीतर्फबाट २८० मिटर र सातोबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्याम्प बनाइँदै छ । बिचको सुपर स्ट्रक्चर (पुल)को लम्बाइ भने ३५ मिटर लामो हुनेछ । हालसम्म पुलको निर्माण सकिएको थियो भने र्याम्प निर्माण पनि अन्तिम चरणमा पुगेको थियो ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर पुजन गिरीका अनुसार विभागको निर्देशनअनुसार निर्माण कम्पनीले र्याम्प भत्काएर पुनर्निर्माण गरिरहेको छ । ‘निर्माण सम्पन्न र्याम्पमा समस्या देखिएपछि विभागले पुनर्निर्माण गर्न निर्देशन दिएको थियो र सोहीअनुसार निर्माण कम्पनीले काम गरिरहेको छ,’ उनले भने, ‘त्यहाँ कालोमाटो रहेको थियो, जसमा लोड थपिँदै जाँदा जमिन दबिने समस्या देखियो । त्यसकै असरले यसअघि बनाइएको र्याम्प प्रभावित भयो । प्यानल र ब्लक खुल्दा हावा छिर्ने अवस्था आयो, तर पर्खाल भने चर्किएको थिएन । त्यसपछि निर्माण कम्पनीलाई सुधार गर्न निर्देशन दिएका थियौँ र अहिले सोहीअनुसार र्याम्प सुधारको काम भइरहेको छ ।’
गिरीका अनुसार उक्त क्षेत्रका अन्य खण्डमा पनि कालोमाटो पाइए पनि ती भागमा भने हालसम्म कुनै समस्या देखिएको छैन । आगामी दिनमा समस्या नआउने गरी र्याम्पको पुनर्निर्माण भइरहेको र अहिले त्यहाँको जमिनको कालोमाटोलाई अधिकतम रूपमा दबाइएको उनको भनाइ छ । अर्थात्, अब त्यसमाथि र्याम्प बनाउँदा जमिन थप दब्नेछैन । यसैगरी र्याम्पको पर्खाल (प्यानल) जगमा पनि ढुंगाको पाइलिङ गरिएको उनको भनाइ छ ।
इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा यसको ठेक्का भएको थियो । डिजाइनका क्रममा निर्माण कम्पनीले माटो परीक्षणसमेत गरेका थिए । तर, निर्माणका क्रममा भने त्यसअनुसार काम नगर्दा पुनः भत्काउनुपर्ने बाध्यता आएको स्रोतको भनाइ छ ।
पछिल्लोपटक परियोजनाको समग्र भौतिक प्रगति ८२ प्रतिशतहाराहारीमा पुगेको थियो । तर, र्याम्प भत्काउनुपर्ने हुँदा परियोजनाको प्रगति पनि प्रभावित भएको छ । निर्माण कम्पनीले अब परियोजनामा र्याम्पको पुनर्निर्माण सक्काएर ‘फिनिसिङ’ गर्नुपर्नेछ । एप्रोच ट्र्याक, अकासेपानी व्यवस्थापन गर्नेलगायत संरचना पनि बनाउनुपर्नेछ ।
यसअघि निर्माण सुरु गर्नासाथ डिजाइनमा समस्या देखिएपछि माघ ०७९ मा पनि निर्माण अवरोध भएको थियो । त्यसपछि डिजाइन परिमार्जन गरेर निर्माण सुरु गरिएको थियो । त्यसपछि डिजाइनमा समस्या नदेखिए पनि निर्माणमा भने पटक–पटक समस्या आएको देखिन्छ । त्यसले त्यहाँ ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।
निर्माण कार्यका कारण अहिले त्यहाँ हुने सवारीसधानको आवतजावत प्रभावित भइरहेको छ । धुलो, जामलगायतका कारण यात्रुले धेरै दुःख पाएका छन् । त्यसले गर्दा पनि उक्त परियोजना छिट्टै सक्नुपर्ने दबाब छ ।
र्याम्प भत्काएर पुनर्निर्माण गरे पनि यसले सरकारलाई थप आर्थिक दायित्व भने पर्नेछैन । सडक विभागले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
इपिसी मोडलको ठेक्कामा निर्माणको अवधिमा थपिने कुनै पनि दायित्वमा सरकारले थप रकम भुक्तानी गर्नेछैन, जुन दायित्व स्वयं निर्माण कम्पनीले बेहोर्नेछ । यसअन्तर्गतको ठेक्का रकममा निर्माण अवधिमा हुने मूल्यवृद्धिसमेत समावेश हुन्छ । त्यसो हुँदा यसमा भेरिएसनको सुविधा पनि हुँदैन । तसर्थ, यसमा निर्माण कम्पनीले ठेक्का रकमभन्दा थप रकम नपाउने सनियर डिभिजनल इन्जिनियर गिरी बताउँछन् ।
कम्पनी आफैँले जरिवाना तिरेर गर्दै छ काम
यस परियोजनामा निर्माण कम्पनी आफैँले सरकारलाई जरिवाना तिर्ने गरी काम गरिरहेको छ । सडक विभागले ०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । कम्पनीले २३ पुस ०७९ बाट निर्माण कार्य सुरु गरेको थियो । सम्झौताअनुसार १२ फागुन ०८० भित्र फ्लाइओभरको निर्माण पूरा हुनुपर्ने थियो । तर, तोकिएको समयमा काम नसकिएपछि विभागले ०८१ असारसम्म म्याद थप गर्यो । सो अवधिमा पनि निर्माण सम्पन्न नभएपछि अन्तिमपटक ९ पुस ०८१ सम्मका लागि म्याद थपिएको थियो । तर, त्यस अवधि पनि नसकिएपछि कम्पनीले १० पुस ०८१ यताबाट जरिवाना तिरेर काम गरिरहेको छ । यस परियोजनामा निर्माण कम्पनीले ठेक्का रकमको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ, जुन करिब एक करोड ७० लाख रुपैयाँ पर्न सक्छ । जरिवाना लाग्ने मितिबाट दुई सय दिनभित्र कम्पनीले काम सक्नुपर्नेछ । जति छिटो काम सकिन्छ, त्यति कम जरिवाना लाग्नेछ । निर्माण कम्पनीले पाउने भुक्तानीमा जरिवाना रकम समायोजन गरिनेछ ।
कहिले सकिन्छ काम ?
निर्माण कम्पनीले पछिल्लोपटक चैत मसान्तसम्म परियोजना पूरा गर्ने लिखित प्रतिबद्धता जनाए पनि सो सम्भव नहुने निश्चित भइसकेको छ । चैत मसान्तसम्ममा मुस्किलले र्याम्प पुनर्निर्माणको काम सकिने स्रोतको भनाइ छ । बिचमा थप समस्या देखिएन भने अन्य बाँकी काम गर्दा वैशाख मसान्तसम्म परियोजना तयार हुन सक्ने एक अधिकारीले बताएका छन् । सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार परियोजना चालू आर्थिक वर्षमै (असार मसान्तसम्म) पूरा भए पनि राहत हुने बताए । ‘चैत मसान्तसम्म परियोजना तयार हुने सम्भावना देखिँदैन, तर असार मसान्तसम्म सकिए पनि धेरै सहज हुने थियो,’ उनले भने ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर पूजन गिरी भन्छन्–कालोमाटोमा लोड थपिँदै जाँदा जमिन दबिने समस्या देखियो, त्यसपछि विभागले पुनर्निर्माणका लागि निर्देशन दिएको हो
निर्माण सम्पन्न र्याम्पमा समस्या देखिएपछि विभागले पुनर्निर्माण गर्न निर्देशन दिएको थियो र सोहीअनुसार निर्माण कम्पनीले काम गरिरहेको छ । त्यहाँ कालोमाटो रहेको थियो, जसमा लोड थपिँदै जाँदा जमिन दबिने समस्या देखियो । त्यसकै असरले यसअघि बनाइएको र्याम्प प्रभावित भयो । प्यानल र ब्लक खुल्दा हावा छिर्ने अवस्था आयो, तर पर्खाल भने चर्किएको थिएन । त्यसपछि निर्माण कम्पनीलाई सुधार गर्न निर्देशन दिएका थियौँ र अहिले सोहीअनुसार र्याम्प सुधारको काम भइरहेको छ । अन्य खण्डमा पनि कालोमाटो पाइए पनि ती भागमा भने हालसम्म कुनै समस्या देखिएको छैन । आगामी दिनमा समस्या नआउने गरी र्याम्पको पुनर्निर्माण भइरहेको र अहिले त्यहाँको जमिनको कालोमाटोलाई अधिकतम रूपमा दबाइएको छ । अर्थात्, अब त्यसमाथि र्याम्प बनाउँदा जमिन थप दब्नेछैन । यसैगरी र्याम्पको पर्खाल (प्यानल) जगमा पनि ढुंगाको पाइलिङ गरिएको छ ।