
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ः३० मा प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठकमा नेपाल प्रहरीका एआइजीदेखि सचिव बढुवासम्मको कार्यसूची छ ।
नेपाल प्रहरीमा रिक्त रहेको एआइजी पदमा डिआइजी जनक भट्टराईको गत ११ फागुनमा बढुवा सिफारिस भएकोमा निर्णयका लागि मन्त्रिपरिषदमा पठाइएको छ ।
त्यस्तै, सचिवका दुई रिक्त पदमा पनि बढुवाको सम्भावना छ । स्वास्थ्य सचिवमा वरिष्ठतम् सहसचिवहरू डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको एक साताअघि नै सिफारिस भएको थियो । मन्त्रिपरिषद्ले तीनमध्ये एकको बढुवा गर्ने प्रावधान छ ।
नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा रहेका सचिव टेकनारायण पाण्डेले अवकाश पाएपछिको रिक्त रहेको सचिव पदमा पनि बढुवा हुँदै छ । प्रशासनतर्फको रिक्त सचिव पदमा बढुवामा वीरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको सिफारिस भएको छ । उनीहरूमध्ये एकको सचिवमा बढुवा हुनेछ ।