मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १६ शुक्रबार o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रविविरुद्ध एकैसाथ गरिएको थियो पाँच जिल्लामा अनुसन्धान- तर, पर्सामा किन रोकियो मुद्दा?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार o६:१३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले पाँच जिल्लामा एकसाथ अनुसन्धान सुरु गरे पनि पर्सामा भने मुद्दा रोकिएको छ । ‘माथिको आदेश’ भन्दै प्रहरीले अनुसन्धान सकेर पनि रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छैन । 

पर्साको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भन्दै यहाँ पनि रविमाथि अनुसन्धान भएको थियो । तीन महिनाअघि नै उनलाई पर्सा लगेर बयानसमेत लिइएको थियो । यसअघि कास्की, काठमाडौं, रूपन्देही र चितवन सबै जिल्लामा मुद्दा दर्ता गरेलगत्तै अदालतमा उपस्थित भई धरौटीमा छुटेपछि बाँकी पर्सामा भने मुद्दा दायर गर्न सरकार हच्किएको छ । यो प्रकरणमा प्रत्यक्ष रूपमा गृह मन्त्रालयको निर्देशनमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन् । 

वीरगन्ज महानगरपालिका– ६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको विषयमा यसअघि नै दुईपटक जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भइसकेको छ । 

पहिलोपटक २३ असोज ०८० मा सहकारीका वर्तमान तथा पूर्वपदाधिकारी १३ जनालाई प्रतिवादी बनाई सहकारी ठगी मुद्दा दर्ता गरिएको थियो । पछि २ फागुन ०८० मा अर्को मुद्दा पूरक अभियोगका रूपमा दर्ता भएको थियो । पूरक अभियोगमा पनि प्रतिवादी १३ जना नै छन् । 

सुरु अभियोगमा ४९ जनाको मात्र जाहेरी थियो भने पूरकमा १७९ जनाको जाहेरी राखेर पूरक अभियोग चलाइएको थियो । 

सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा साढे आठ करोड जम्मा गरेको विषय सुरुमै देखिए पनि ‘प्रमाण अभाव’का कारण गोर्खा मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा उनको कतै पनि सम्बन्ध भेटिएको थिएन । 

तर, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सरकारको आदेशमा रविको नाममा किटानी जाहेरी दिन लगाई अनुसन्धान थालिएको थियो । पर्सा प्रहरी स्रोतका अनुसार अनुसन्धानको काम एक महिनाअघि नै सकिए पनि तत्काल सरकारी वकिलमा प्रतिवेदन नबुझाउन भनिएको छ । 

पर्साका एसपी गौतम मिश्रले भने अनुसन्धानको काम बाँकी नै रहेकाले अनुसन्धान प्रतिवेदन नबुझाइएको दाबी गरे । ‘अनुसन्धान टोलीले काम गरिरहेकै छ,’ उनले भने, ‘अनुसन्धान पूरा नभएकाले नै प्रतिवेदन नबुझाएका हौँ ।’ 

एसपी मिश्र यसअघि चितवनको प्रहरी प्रमुख हुँदा त्यहाँ रविमाथि अनुसन्धान गरेका थिए । बयानपछि मध्यरातमा उठाएर लामिछानेलाई पोखरा पठाइएको थियो । जुन घटनाको सर्वत्र विरोध भयो । 

तर, सरकारले भने राम्रो काम गरेको भन्दै एसपी मिश्रलाई गत महिना चितवनबाट अर्काे महŒवपूर्ण जिल्ला पर्साको जिम्मेवारी दिएको छ । प्रहरीमा चितवनबाट पर्सामा सरुवा गरिएको इतिहास कमै रहेको प्रहरी अधिकारी बताउँछन् । 

पर्सामा यसअघि दुईपटक मुद्दा लगिसक्दा पनि संगठित अपराधको अभियोग भने लगाइएको छैन । चितवनमा सरकारी वकिलले रविविरुद्ध संगठित अपराधको अभियोग नलगाउँदा महान्यायाधिवक्ताको कार्यालयले काठमाडौं फिर्ता बोलाई यस विषयमा अनुसन्धान गर्न समितिसमेत बनाएको थियो । समितिले सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्नुभन्दा तीन दिनअघि नै महान्यायाधिवक्ताको कार्यालयमा यसबारे जानकारी गराएको स्रोत बताउँछ । 

चारै जिल्लामा लामिछाने धरौटीमा छुटेपछि उनलाई थुनामा राख्न माग गर्दै सरकारी वकिल उच्च अदालत पुगेको छ । रास्वपाले भने रवि सहकारी ठगीमा संलग्न नहुँदा पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशकको रूपमा चेक काटेकै आधारमा मुद्दा चलाएर राजनीतिक प्रतिशोध लिएको आरोप लगाउँदै आएको छ ।