
अफ्रिकी मुलुकहरूमा ठुलो समस्या बनेको लागुऔषध ‘ट्रामाडोल’ काठमाडौंका बजारमा पनि उपलब्ध हुने गरेको पाइएको छ । भारतको मुम्बईस्थित ‘अभेओ’ नामक कम्पनीबाट उत्पादित हुँदै आएको ट्रामाडोल ठुलो परिमाणमा बरामद भएसँगै काठमाडौंमा समेत बिक्री हुने गरेको खुलेको हो ।
लागुऔषध अनुसन्धान ब्युरोले गत ९ फागुनमा काठमाडौं मनपा– ४ टोखाबाट ट्रामाडोलको पाँच लाख ३४ हजार एक सय क्याप्सुल बरामद गरेको छ । प्रहरीका अनुुसार काठमाडौंका बजारमा ट्रामाडोल प्रतिक्याप्सुल ६० रुपैयाँसम्ममा बिक्री हुने गर्छ । यस आधारमा बरामद ट्रामाडोलको बजारमूल्य तीन करोड २० लाख ४६ हजार रुपैयाँ पर्छ ।
ब्युरोका प्रवक्ता एसपी नारायणप्रसाद अधिकारीका अनुसार चिकित्सकीय प्रेस्क्रिप्सनविना ट्रामाडोल बिक्री गर्न पाइँदैन । ‘टोखामा हालसम्मकै ठुलो परिमाणमा ट्रामाडोल बरामद भएको छ । यो औषधि भारतबाट नेपाल भित्रिएको देखिन्छ । विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरमा बिक्री गर्ने उद्देश्यले यसलाई उपत्यका ल्याइएको अनुमान छ,’ उनले भने ।
भारतको मुम्बईस्थित ‘अभेओ’ले उत्पादन गर्ने ट्रामाडोललाई भारतीय सरकारले बिक्री र निर्यातमा कडाइ गरेको छ । भारत सरकारको कडाइपछि ‘अभेओ’ले सोही ‘कन्टेन्ट’ टेपेन्डोल, क्यारिसोप्रोडोल, टाफ्रोडोलजस्ता नाममा उत्पादन गर्दै आएको छ । यी औषधि हाल अफ्रिकी मुलुकमा निर्यात भइरहेका छन् ।
घानास्थित ‘तमेल’ बजारमा टेपेन्डोल, क्यारिसोप्रोडोल, टाफ्रोडोलका खोलमा ‘अभेओ’ लोगो भेटिएपछि बिबिसी वल्र्ड सर्भिसले घटनाको ‘अन्डरकभर अप्रेसन’ थालेको थियो । अनुसन्धानका क्रममा बिबिसी टोली मुम्बईस्थित ‘अभेओ’ कारखानासमेत पुगेको थियो । त्यहाँ बिबिसी टोलीले ‘अभेओ’का निर्देशक विनोद शर्मासँग कुराकानी गरेको थियो । शर्माले कम्पनीबाट उत्पादित औषधि स्वास्थ्यका लागि हानिकारक रहेको स्विकारे पनि यो उनको व्यवसाय रहेको बताएका थिए । ‘कम्पनीको योजना नाइजेरियाका किशोरकिशोरीलाई औषधि बेच्नु हो । उनीहरूले एकैचोटि दुई वा तीन क्याप्सुल सेवन गर्दा आराम महसुस गर्छन् । तर, यो स्वास्थ्यका लागि धेरै हानिकारक छ । तर, आजभोलि यो व्यवसाय हो ।’
भारत सरकारको कडाइपछि ट्रामाडोलको अफ्रिकी मुलुकमा निर्यातमा गिरावट आएको छ । तर, सोही औषधि नेपाली बजारमा आउने गरेको ब्युरो स्रोतको दाबी छ । यसका लागि तस्करले नेपालमा ‘र्याकेट’ नै बनाइरहेको आशंका छ । ठुलो परिमाणको ट्रामाडोलसहित टोखाबाट पक्राउ परेका पर्सा महुवन गाउँपालिका– ६ का ३८ वर्षीय साइमन बनवारी पक्राउ परेका छन् ।
ब्युरोका प्रवक्ता एसपी अधिकारीका अनुसार साइमन बनवारी काठमाडौं उपत्यकाभित्र ट्रामाडोलको मुख्य डिलर हुन् । ‘टोखाबाट पक्राउ परेका साइमन बनवारीले यसअघि पनि ठुलो परिमाणमा यस्ता औषधि बिक्री गर्दै आएका थिए । तर, यसअघि पक्राउ परेका थिएनन्,’ उनले भने । बनवारीले उक्त औषधि उपत्यकाभित्रका मेडिकल फार्मेसी र मातहत बनेको आफ्नै नेकवर्कबाट पनि बिक्री गर्ने गरेको ब्युुरोका प्रवक्ता एसपी अधिकारीले बताए । ‘उसले औषधि बेच्न आफ्नै नेटवर्क बनाएको छ । दुर्व्यसनीले प्रत्यक्ष भेटेर पनि योमार्फत औषधि लिन्छन् । बरामद औषधि प्रतिक्याप्सुल ३० रुपैयाँदेखि ६० रुपैयाँसम्म बिक्री हुने गरेको खुलेको छ,’ उनले भने ।
बिबिसीका अनुसार ‘अभेओ’ले उत्पादन गरेका औषधिको संयोजन कुनै पनि देशमा प्रयोगका लागि अनुमति प्राप्त छैन । यसले श्वास–प्रश्वासमा समस्या, मस्तिष्कघातजस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । ओभरडोज भएमा सेवनकर्ताको ज्यानसमेत जान सक्छ । यी औषधि अफ्रिकी मुलुकका सडक–सडकमा सजिलै पाइन्छन्, जसले लाखौँ युवालाई दुव्र्यसनमा फसाइरहेको छ ।