
गृह मन्त्रालयमा महिनौंदेखि पाँच सहसचिव जिम्मेवारीविहीन रहेको अवस्थामा मन्त्रालयमा थप १७ सहसचिवको सरुवा भएको छ। गत सोमबारको मन्त्रिपरिषद्को बैठकले ७८ जना सहसचिवको सरुवा गरेकोमा १७ जनालाई गृह मन्त्रालयमा पठाइएको छ।
हाल गृहमा शशिधर घिमिरे, सूर्यप्रसाद सेढाईं, बन्धु बाँस्तोला, प्रेमप्रसाद भट्टराई र नारायण रिसाल जिम्मेवारीविहिन छन्। मन्त्रालयमा सहसचिवका पद रिक्त नभए पनि ठुलो संख्यामा सहसचिव ल्याइएको छ।
हालै सहसचिवमा बढुवा भएका भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदीश्वर उपाध्याय, दिव्यराज पोखरेल र धर्मराज जोशीलाई गृह मन्त्रालयमातहत खटाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बलराम रिज्याल, श्रम मन्त्रालयका सुरेन्द्र पौडेल, अख्तियार दुरुप्योग अनुसन्धान आयोगका ईश्वरीप्रसाद अर्याल, नरहरि घिमिरे र माधवप्रसाद पोखरेलको पनि गृहमा सरुवा भएको छ।
कर्णाली प्रदेशमा कार्यरत आनन्द सारू, लुम्बिनी प्रदेशमा कार्यरत वेदप्रसाद खरेल, गण्डकी प्रदेशमा कार्यरत कुमानसिंह गुरुङ, सार्वजनिक खरिद अनुगमनको कार्यालयमा कार्यरत दीपकराज नेपाललाई पनि गृहमा पठाइएको छ।
गृह मन्त्रालयबाट भने दुईसचिव मात्र बाहिरिएका छन्। बाँकेको सिडिओका रूपमा कार्यरत खगेन्द्रप्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगल र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत रामबन्धु सुवेदीको सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सरुवा भएको छ।
हाल रौतहट र ओखलढुंगामा सिडिओ पद रिक्त छ। एक वर्ष अवधि पुगेका कतिपय जिल्लामा पनि सिडिओको नियमित सरुवा हुन सकेको छैन। नयाँ सहसचिव आएसँगै धेरै जिल्लामा सिडिओ हेरफेर गर्ने गृह मन्त्रालयको तयारी छ।