
विभागीय टोली मच्छिन्द्र फुटबल क्लबले दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आदर्शनगर खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सहलेस फुटबल क्लबलाई ३–१ गोलअन्तरले हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो।
सुरुदेखि नै आक्रामक देखिएको मच्छिन्द्रका खेलाडीले खेलको ७औँ मिनेटमा सहलेसका खेलाडीलाई गोल गर्नबाट रोक्दै डी एरियाको मुखमा शिशिर लेखीलाई लडाएका थिए। फ्रिकिकको सो अवसरलाई सदुपयोग गर्न नसक्दा सहलेसका खेलाडीको प्रदर्शन कमजोर देखिन थालेको थियो। त्यसपछि खेलको १०औँ मिनेटमा मच्छिन्द्रले पहिलो गोल गर्दै अग्रता बनाएको थियो।
मच्छिन्द्रका स्ट्राइकर स्टेफन जालीले पहिलो गोल गरे। उनलाई आदित्य शाक्यले पास गरेका थिए। खेलमा हाबी देखिएको मच्छिन्द्रले १३औँ मिनेटमा थप अर्को गोल गर्यो। मच्छिन्द्रका लागि दोस्रो गोल पनि स्टेफन जालीले नै गरेका थिए।
खेलको १७औँ मिनेटमा पुनः पाएको अवसरलाई सहलेसले सदुपयोग गर्न नसकेपछि थप कमजोर हुँदै गएको थियो। ६५औँ मिनेटमा अर्को गोल थप्दै मच्छिन्द्रले दबाब कायम राखेको थियो। मच्छिन्द्रका लागि तेस्रो गोल आदित्य शाक्यले गरेका थिए।
पूरै खेलमा कमजोर देखिएको सहलेस फुटबल क्लबले इन्जुरी समयको दोस्रो मिनेटमा एक गोल फर्काएर चित्त बुझाए पनि फाइनलमा स्थान बनाउन सकेन।
योसँगै शनिबार हुने उपाधि भिडन्तका लागि साबिक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्ने भएका छन्। पुलिसले बुधबार आयोजक वीरगन्ज युनाइटेड क्लबलाई सडन डेथमा पराजित गरेर फाइनल प्रवेश गरेको थियो।
आजको खेलमा म्यान अफ द म्याच मच्छिन्द्र फुटबल क्लबका खेलाडी स्टेफन जाली घोषित भए। उनले नगद १० हजार र सिल्ड प्राप्त गरेका छन्।