
आगामी ४ देखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा तेस्रो कर्णाली चलचित्र कार्यशाला आयोजना हुने भएको छ। केबी इन्टरटेनमेन्ट प्रालिले तेस्रोपटक कार्यशाला आयोजना गर्न लागेको हो।
गत वर्ष २३ देखि २८ फागुनसम्म दोस्रो कार्यशाला सुर्खेतमा आयोजना भएको थियो। पहिलो र दोस्रो कार्यशालामा चलचित्रसम्बन्धी बेसिक कोर्स सिकेका विद्यार्थी र अन्य नयाँ विद्यार्थीलाई यसपटक एडभान्स कोर्स सिकाइनेछ।
आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काका अनुसार यसपटकको कार्यशाला प्रयोगात्मक सिकाइ विशेष हुनेछ। ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ। सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि तीन वर्षयता नियमित रूपमा कार्यशाला आयोजना गर्दै आएका हौँ,’ अध्यक्ष खड्काले भने।
कार्यशालामा यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार दिनेश डिसी, पूर्वअध्यक्ष एवं चलचित्र निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ।
बोर्डका सदस्य एवं निर्देशक राजु केसीले प्रयोगात्मकसहितको कक्षा लिनेछन्। सोही कार्यशालामा अभिनेतृ सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिनेछिन् भने छायाकार निरज कँडेलले छायांकनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिनेछन्। यस्तै, फिल्म सम्पादक रूपेश मिजारले कार्यक्रममा फिल्म सम्पादनसम्बन्धी कक्षा लिने भएका छन्। कार्यशालामा सहभागीहरूले तीनवटा वृत्तचित्र र दुईवटा लघु चलचित्र निर्माण गर्नेछन्।
कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ विद्यार्थीले कार्यशालामा भाग दिने भएका छन्। चलचित्र विकास बोर्डको सहकार्यमा हुने कार्यशालालाई नेपाल टेलिकम, नबिल बैंक, एनसेलको सहयोग रहनेछ।