
करिब दुई अर्ब रुपैयाँ बराबरको क्रिप्टो तथा हुन्डीको कारोबार गर्ने कैलालीका माइकल डगौराको समूह जेल चलान भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सात जनालाई पक्राउ गरी एक अर्ब ८७ करोड ६५ लाख ३० हजार सात सय ५२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेकोमा जिल्ला अदालत, काठमाडौंले गत शुक्रबार नै उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
अदालतले माइकलसहित सातै जना गत शुक्रबार नै पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको सिआइबीले जनाएको छ ।
प्रहरीले डगौरासहित अनिल विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाई, सत्यम कुमार सहनी तथा भारतीय नागरिकद्वय रोशन कुमार र मुन्ना कुमारलाई पक्राउ गरेकोमा उनीहरु कारागार चलान भएका छन् । उनीहरुविरुद्ध क्रिप्टो कारोबार, ठगी तथा हुन्डीको अभियोग लागेको थियो ।
अन्य १४ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । प्रहरीले कैलालीका अजय बम, किरण पुन, दोलखाका आशिष चौलागाई, सिन्धुपाल्चोककी अञ्जली शर्मा, काठमाडौंका दिनेश शर्मा, नुवाकोटका ज्ञानबहादुर तामाङ, सुनसरीका फैजुल्ला अन्सारी, सोलुखुम्बुका जगतबहादुर राई, सिन्धुपाल्चोकका कृष्ण श्रेष्ठ, ललितपुरका रबिन ब्यञ्जनकार, नवलपरासीकी शोभा भण्डारी र काठमाडौंका आशिषमान श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । उनीहरुमध्ये किरण पुन माइकलकी श्रीमती हुन् ।
माइकलले यही धन्दाबाट अस्वभाविक सम्पत्ति आर्जन गरेका थिए । बुढानिलकण्ठमा घर किन्नुका साथै बैंकमा समेत करिब पाँच करोड रुपैयाँ भेटिएको छ । गिरोहमा संलग्न अन्य व्यक्ति उपर अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।