
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारी मिलेर एक क्रिप्टो कारोबारीको १४ लाख रुपैयाँ डकैती गरेका छन्। नेपाल प्रहरीका दुई जना तथा सशस्त्र प्रहरीका एकसहित ६ जना मिलेर सोमबार काठमाडौं महानगरपालिका–३ तिलिङेटारमा रोशन गुरुङको १४ लाख लुटेका हुन्। प्रहरीको परिचयपत्र तथा हत्कडी देखाएर उनीहरुले लुटपाट गरेका थिए।
यसरी लुटपाटमा संलग्न नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथ घर भएका खगेन्द्र मल्ल ठकुरी, जवान खोटाङ रावाबेंशी घर भएका हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दा प्यूठानका राजेन्द्र कुमार केसीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पक्राउ गरेको छ ।
त्यस्तै, लुटपाटमा सघाउने मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनिस कुमार रायलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी अपिल बोहराले बताए । गुरुङले क्रिप्टो कारोबार गर्ने गरेको सूचनाका आधारमा तीन प्रहरी लगाएर उनलाई मुद्दामा फसाइदिने भन्दै पैसा लिएर छाडिदिएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेका प्रहरीसहितको टोलीसँग १२ लाख १० हजार बरामद भएको छ।
क्रिप्टो कारोबार गर्ने गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले एक अर्ब ८७ करोड अभौतिक मुद्राको बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ ।