
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य बिमाबापतको रकममा काउन्टरमा बसेका कर्मचारीहरुले ‘रिफन्ड’ भन्दै अनियमितता गरेको फेला परेको छ।
बिमाअन्तर्गत लिइने १० प्रतिशत रकम बिरामीबाट लिएर काउन्टरका कर्मचारीहरूले सफ्टवेयरमा ‘रिफन्ड’ लेख्दै गोेजीमा राखेको देखिएपछि छानबिन सुरु भएको छ । बिमामार्फत सेवा लिनेहरूले १० प्रतिशत नगद बुझाउनुपर्ने नियम छ । काउन्टरमा बस्नेहरूले दिउँसोको समयमा बिरामीहरूसँग लिएको रकम राति ‘रिफन्ड’ गर्ने गरेको भेटिएपछि छानबिन समिति बनेको छ । छानविनका लागि प्रतिष्ठानका सुचना अधिकारी समेत रहेका शाखा अधिकृत सुशीलकुमार अर्यालको संयोजकत्वमा एक कार्यदल बनाईएको हो ।
छानबिनका लागि गठन गरिएको कार्यदलका संयोजक अर्यालका अनुसार सिस्टममा रिफन्ड अर्थात फिर्ता गरिएको रकमको तथ्यांक हेर्दा अस्वभाविक देखिएपछि के भएको हो भनेर हेर्नका कार्यदल बनाइएको हो । यस विषयमा समान्य गुनासा त केही समयदेखि आएको थियो त्यसपछि १० फागुनमा सिस्टममा हेर्दा बिमातर्फको काउन्टरबाट भएको रिफन्ड डाटाको कारोबार अस्वभाविक देखिएपछि के भएको हो भनेर हेर्नका लागि कार्यदल गठन भएको उनले बताए।
चालु आर्थिक वर्षको कारोबार सिस्टममा हेर्ने काम भैरहेको उनले बताए । बिरामीले तिरेको पैसा सेवा प्राप्त गर्न नसकेकमा वा नगरेको खण्डमा फिर्तादिने चलन छ, कार्यदलले आफ्नो काम सुरु गरेको छ केही दिनमा प्रतिवेदन आएपछि यर्थाथ बाहिर आउने उनको भनाइ छ ।
एक करोड अनियमितता भएको अनुमान
अस्पताल स्रोतका अनुसार ‘रिफन्ड’ लेखेको रकम एक करोड हाराहारी रहेको अनुमान छ । सिस्टममा हेर्दा सेवाग्राहीले तिरेको रकम प्रायः रातको समयमा धेरै फिर्ता गरिएको देखिएको छ । फिर्ता गरिएको सो रकम बिमातर्फका कर्मचारी सिस्टममा फिर्ता देखाएर गोजीमा राखेर अनियमितता गरेको स्रोतको भनाइ छ । विशेषगरी ठुला जाँचमा लिइने रकम सिस्टमबाट फिर्ता गरेको देखाइएको छ ।