मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 04 March, 2025
भैरहवामा सोमबार भएको क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम । तस्बिर : दीपेश पछाई/नयाँ पत्रिका
२o८१ फाल्गुण २० मंगलबार o६:२१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसमा वरीयताको बखेडा 

खड्का सहभागी कार्यक्रम कोइरालाद्वारा बहिष्कार, कोइराला उपस्थित कार्यक्रममा खड्का अनुपस्थित 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २० मंगलबार o६:२१:oo

कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र इतर समूहका नेता डा. शेखर कोइरालाबिच वरीयताको विवाद एक–अर्को उपस्थित कार्यक्रम एकजनाले बहिष्कार गर्ने तहमा पुगेको छ । पार्टीमा दोस्रो वरीयतामा रहेका उपसभापति खड्का सहभागी कार्यक्रममा कोइराला र दोस्रो वरीयता खोजिरहेका कोइराला सहभागी कार्यक्रममा उपसभापति खड्का अनुपस्थित हुन थालेका छन् ।

पछिल्लो एक महिनायता कांग्रेसका तीन ठुला कार्यक्रममा खड्का र कोइरालाले एक–अर्कालाई अस्वीकार गरेका घटना सतहमा आएका छन् । यद्यपि, औपचारिक प्रतिक्रियामा कांग्रेस नेताहरू यसलाई संयोग मात्र ठान्छन् । तर, खड्का र कोइरालानिकट स्रोतहरू भन्छन्, ‘उहाँहरूबिच वरीयताको विवाद देखिन्छ ।’ 

गत माघ २१ मा कांग्रेसले पोखरामा प्रदेश र जिल्ला तहमा संगठन र समसामयिक विषयमा नीतिगत स्पष्टताका लागि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो । उपसभापति खड्का नेतृत्वको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा डा. कोइराला सहभागी भएनन् । 

केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीदेखि केन्द्रीय नेता पोखराकेन्द्रित कार्यक्रममा डा. कोइरालालाई खड्काले आमन्त्रण नै गरेनन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कार्यक्रममा सहभागिताका लागि समयमा कुनै जानकारी नआएकाले कोइराला पोखराको कार्यक्रममा सहभागी नभएको बताए । 

२ फागुनमा कृष्णप्रसाद सिटौला नेतृत्वमा सभापति शेरबहादुर देउवाकहाँ गएका नेताहरूबिच पोखराको कार्यक्रमसमेत समीक्षा भयो । एक पूर्वपदाधिकारीका अनुसार त्यस दिन सभापति देउवाले १९ फागुनबाट भैरहवामा हुने क्षेत्रीय सभापतिको प्रशिक्षणमा कसैको पनि असन्तुष्टि नआउने गरी सिंगो कार्यसमिति बोलाउन निर्देशन दिएका थिए । 

त्यसैअनुसार भैरहवामा केन्द्रीय कार्यालयले सिंगो केन्द्रीय समिति नै निमन्त्रणा गरेको थियो । पोखराको निम्तो नपाएका कोइराला र नेता सिटौलालाई समेत भैरहवा कार्यक्रममा बोलाइएको थियो । ‘पोखराको कार्यक्रमको विषयले पार्टीमा असन्तुष्टि थियो । यसपालि असन्तुष्टि नआउने गरी सिंगो केन्द्रीय समितिलाई नै भैरहवामा सहभागी गराइएको छ,’ सिटौलाले आइतबार पत्रकारहरूसँग भनेका थिए । 

निम्ता पाए पनि कोइराला भैरहवाको कार्यक्रममा सहभागी भएनन् । उनका स्वकीय सचिव थपलियाका अनुसार पूर्वनिर्धारित कार्यक्रमका कारण सहभागी हुन सम्भव नभएको हो । ‘चार दिनअघि केन्द्रीय कार्यालयका कर्मचारीले टेलिफोनमा निमन्त्रणा दिनुभएको थियो । तर, उहाँ (कोइराला)को विराटनगरमा पूर्वनिर्धारित कार्यक्रम रहेकाले भैरहवा जाने अवस्था रहेन,’ उनले भने ।

गत २२ मंसिरमा कांग्रेस कोशी प्रदेशस्तरीय प्रथम सम्मेलनमा पनि कोइराला सहभागी भएका थिएनन् । सम्मेलनमा कोइराला मर्यादाक्रमको कारण देखाउँदै सहभागी भएका थिएनन् । आफ्नै गृहजिल्ला मोरङमा भएको सम्मेलन छाडेर उनी चितवन गएका थिए । पार्टीको सम्मेलनअघि कोइराला समूहले १८ मंसिरमै विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला आयोजना गरेको थियो । सोेही भेलापछि कोइरालाले १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भन्दै देशदौडाह थालेका थिए । 

१४औँ महाधिवेशनलगत्तै कांग्रेसको इतर समूहले सभापतिमा दोस्रो मत पाएका कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन दबाब दिँदै आएको थियो । सभापति देउवाले पनि कोइरालालाई पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेका छन् । तर, वरिष्ठ नेता भने घोषणा गरिसकेका छैनन् । कांग्रेसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठले समेत आफूलाई वरिष्ठ नेताको हैसियत दिनुपर्ने दाबी गर्दै आएका छन् ।

१६ मंसिर ०८० मा लुम्बिनी प्रदेश सम्मेलनमा खड्कालाई दोस्रो वरीयता नदिई कोइरालालाई दिने भएपछि खड्का अनुपस्थित भएका थिए । कोइरालानिकट प्रदेश सभापति अमरसिंह पुनले कोइरालालाई दोस्रो वरीयता दिनुपर्ने अडान राखेका थिए ।

त्यस्तै, ३ पुस ०८० मा भएको गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेताको रूपमा दोस्रो वरीयता दिइएको थियो । गण्डकीमा कोइरालानिकट प्रदेश सभापति शुक्रराज शर्मा छन् । दुवै जिल्ला सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिका रूपमा बोलाइएको थियो । 

२ पुस ०८० मा भएको नुवाकोट जिल्ला सम्मेलनमा पनि कोइरालालाई विशिष्ट अतिथिको रूपमा बोलाइएको थियो । यी सम्मेलनमा उपसभापति खड्का सहभागी थिएनन् । यस्तै विवाद ५ पुस ०८० मा मधेश प्रदेश सम्मेलनमा सभापति देउवानिकट प्रदेश सभापति कृष्ण यादवले कोइरालालाई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरेपछि कोइरालानिकटले विरोध गरेको थियो । 

१८ कात्तिक ०८० मा कांग्रेस धादिङ जिल्ला सम्मेलनमा प्रमुख अतिथि कोइराला थिए । सम्मेलन सभापति देउवा र महामन्त्री थापा समूहले बहिष्कार गरेको थियो । जिल्ला सभापति रामनाथ अधिकारी कोइरालानिकट मानिन्छन् । त्यस्तै, १५ मंसिर ०८० मा कोइराला प्रमुख अतिथि रहेको नवलपरासी जिल्ला सम्मेलन संस्थापन पक्षले बहिष्कार गरेको थियो । 

कोइरालानिकट केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले पार्टीमा उनलाई वरिष्ठ नेताको हैसियत दिनुपर्ने मत रहेको भए पनि नपाएकै कारण कार्यक्रममा नगएको भन्न नमिल्ने बताए । ‘पार्टीको परम्पराअनुसार उहाँलाई वरिष्ठ नेताको हैसियत दिइनुपर्छ भन्ने मत पार्टीमा छ । तर, वरीयताकै कारणले उहाँ सहभागी नहुनुभएको भने होइन,’ उनले भने, ‘भैरहवाको कार्यक्रममा उहाँ न प्रशिक्षक न प्रशिक्षार्थीको रूपमा हुनुहुन्थ्यो । विशेष रूपमा भूमिका थिएन । उहाँको पूर्वनिर्धारित कार्यक्रमले सहभागी नहुनुभएको हो ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोइरालालाई दोस्रो वरीयता दिने माग अव्यावहारिक र असम्भव रहेको बताए । ‘भैरहवाको कार्यक्रममा पार्टी केन्द्रीय पदाधिकारी, सदस्य र पूर्वपदाधिकारी सबैलाई निमन्त्रणा थियो । शेखर कोइराला वरीयताकै कारण सहभागी नहुनुभएको भन्ने चर्चा छ,’ उनले भने, ‘पार्टीको विधान र परम्पराअनुसार उहाँलाई दोस्रो वरीयता दिन सक्ने अवस्था छैन । उहाँ आफैँले खुलेर माग गर्नुभएको छैन, तर निकटबाट माग उठाउने गरेको देखिन्छ ।’