
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अहिले सरकार जाने पक्षमा नरहेको बताएका छन् । टीकापुरमा मंगलबार थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले कांग्रेस वा एमालेसँग मिलेर माओवादी सरकारमा नजाने बताए ।
‘विगतमा जस्तो कांग्रेसलाई वा एमालेलाई फकाएर सरकारमा जाने पक्षमा छैनौँ,’ उनले भने, ०८४ मा जनताको भरोसा, विश्वास जितेर फेरि एकचोटी एक नम्बर पार्टी भएर सुशासनको पक्ष, सामाजिक न्याय र आर्थिक विकासमा जान चाहन्छौँ ।’ ०८४ मा एक नम्बरको पार्टी बनेर सरकारको नेतृत्व गर्दै विगतका अनुभवका आधारमा काम गर्ने उनले बताए ।
०८४ मा पहिलो पार्टी बन्ने तयारीस्वरुप हुलाकी र मध्यपहाडीलगायत क्षेत्रमा अभियान थालिएको दाहालले बताए । ‘हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याएको कांग्रेस, एमालेले होइन नेपाली जनताले हो, म तीनपटक प्रधानमन्त्री बनेको पनि जनताकै बलले हो । तर अहिले कताकता बिर्सिन खोजेको हो की भन्ने परेको छ,’ उनले भने, ‘०६४ मा हामीलाई मतदान गर्ने जनताको घरघरमा गएर आत्मसमीक्षासहित अहिले आफ्नो जाति, वर्गतिर फर्किएका छौँ ।’
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा दलाली, भ्रष्टाचारी र नोकरशाहीविरुद्ध अभियान चलाएकै कारण भ्रष्टाचारी र दलालहरू मिलेर सरकारबाट बाहिरिन बाध्य पारेको बताए । ०८४ को निर्वाचनपछि ठूलो पार्टी बनेर यी अभियानलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
‘पछिल्लोपटक मैले सरकारको नेतृत्व गर्दैगर्दा सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा केही नयाँ अभियान चलाउन खोजेँ । भ्रष्टाचारविरुद्ध एउटा नयाँ अभियान सुरु गरियो, त्यसले जनतामा उत्साह जगाउँदै थियो,’ दाहालले भने, ‘सामाजिक न्यायको पक्षमा अभियान चलाउँदै थियौँ । केही काम अगाडि बढायौँ तर दलाली, भ्रष्टाचारी र नोकरशाहीविरुद्ध अभियान चलाएकै कारण भ्रष्टाचारी र दलालहरू मिलेर सरकारबाट बाहिरिन बाध्य पारे भन्ने कुरा तपाइहरुले बुझ्नु भएकै छ ।’
सरकारबाट बाहिरिए पनि जनताका बीचमा सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मुद्दा लिएर आएको उनले बताए । उनले अहिले संघीयता उल्टयाउने, जनताको अधिकार खोस्ने प्रयन्त प्रतिक्रियावादीबाट भइरहेको बताए । संघीयता, स्थानीय तह, प्रदेशको अधिकार खोस्ने र त्यसलाई उल्ट्याउने दुस्साहस भइरहेको उल्लेख गर्दै दाहालले यसको रक्षाका लागि माओवादी जनताको माँझ आएको बताए ।