
पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिका बाहिरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिनामा थप अन्तर्राष्ट्रिय संस्थाहरूबाट देशलाई बाहिर राख्न सक्नेछन् । विशेष रूपमा प्रोजेक्ट २०२५ (रुढिवादी हेरिटेज फाउन्डेसनद्वारा विकसित उनको दोस्रो राष्ट्रपति कालको खाका)ले अमेरिकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकबाट बाहिर निस्कन आह्वान गर्छ । ट्रम्पको मागलाई स्वीकार गर्नुको सट्टा अमेरिकी बहिर्गमनले मुख्यतया वासिंटनलाई नै हानि पुर्याउनेछ ।
फेब्रुअरी ४ मा ट्रम्पले संयुक्त राज्य अमेरिका सम्बन्धित भएका र अमेरिकाले समर्थन गर्ने सबै अन्तर्राष्ट्रिय संस्था र अमेरिका सदस्य रहेका सबै महासन्धि र सन्धिको १८० दिनभित्र समीक्षा गर्न आदेश दिए । निर्देशन परियोजना प्रोजेक्ट २०२५ को लक्ष्यसँग मेल खान्छ, जसले आइएमएफ र विश्व बैंकलाई ‘महँगा बिचौलिया’को रूपमा खारेज गर्छ र विदेशमा परियोजना पुग्नुअघि अमेरिकी कोषलाई ‘रोक्छ’ । यदि ट्रम्पले यो रणनीति पछ्याए भने अमेरिका बहिर्गमननजिक हुनेछ । तर, यी संस्थाहरू कसरी वित्तपोषित र सञ्चालित छन् भनेर परियोजना २०२५ का लेखकले गलत बुझेका छन् । आइएमएफ र विश्व बैंकबाट बाहिरिँदा अमेरिकाले विश्वव्यापी प्रभाव र आर्थिक लाभको मुख्य स्रोत गुमाउनेछ । वास्तवमा, अमेरिकाले आफ्ना साझेदारलाई समर्थन गर्नका लागि महत्वपूर्ण स्रोतसाधन गुमाउनेछ ।
आइएमएफ र विश्व बैंकको मुख्यालय अमेरिकी विदेश मन्त्रालय, ट्रेजरी र कंग्रेसनिकट हुनु कुनै संयोग होइन । अमेरिकाले यी संस्थामाथि लगातार कडा नियन्त्रण कायम राखेको छ । आफ्नो राष्ट्रिय हितलाई अगाडि बढाउन उनीहरूको नीति र नेतृत्वलाई आकार दिँदै आएको छ । अमेरिकाले सधैँ विश्व बैंकको अध्यक्ष नियुक्त गरेको छ, इयुको नेतृत्व गर्न युरोपको छनोटलाई अनुमोदन गरेको छ र कोषको उप–प्रबन्धनिर्देशक चयन गरेको छ । आइएमएफ र विश्व बैंक दुवैलाई ८५ प्रतिशत बहुमत चाहिने भएकाले एकतर्फी रूपमा प्रमुख निर्णय रोक्ने शक्ति भएको यो एक मात्र सदस्य राष्ट्र हो ।
आश्चर्यजनक कुरा अध्ययनले बारम्बार देखाएका छन् कि आइएमई र विश्व बैंकको ऋण ढाँचा अमेरिकी राष्ट्रिय हितसँग मेल खान्छन्् । अमेरिकाले नियमित रूपमा अमेरिकी अर्थतन्त्रको रक्षा गर्न आइएमएफलाई ‘पहिलो जवाफकर्र्ता’को रूपमा लिइरहन्छ । ट्रम्पलाई यो थाहा छ । पहिलो कार्यकालमा उनले आफ्ना ‘पुराना’ मित्र तथा अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति मौरिसियो म्याक्रीलाई ५७ बिलियन अर्ब डलरबराबरको आइएमएफ कार्यक्रम प्रदान गर्न सहयोग गर्यो (कोषको इतिहासमै सबैभन्दा ठुलो यस अनुदानलाई इयुका सबै सदस्यले भुक्तान गरेका थिए) । त्यसैगरी, अमेरिकाले विश्व बैंकलाई सुरक्षा र आर्थिक गठबन्धन सुदृढ गर्न, आतंकवादको खतरालाई सम्बोधन गर्न र अमेरिकी नेतृत्वमा आक्रमणपछि इराक र अफगानिस्तानजस्ता देशहरूको युद्धपछिको पुनर्निर्माणमा सहयोग गर्न प्रयोग गरेको छ ।
सायद सबैभन्दा महत्वपूर्ण कुरा आइएमएफ र विश्व बैंकमा अमेरिकी सहभागिताको वास्तविक लागत धेरैले अनुमान गरेभन्दा धेरै कम छ । प्रत्येक वर्ष ट्रेजरी विभागले आइएमएफमा देशको योगदानको वित्तीय प्रभावको मूल्यांकन गर्छ । विश्व बैंकले अमेरिकी स्रोत प्रयोग गर्न समान अवसर प्रदान गर्छ । विश्व बैंक समूहको मुख्य शाखा (जसमा अन्य चार सहायक कम्पनी छन्) पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक हो । आइबिआरडी सञ्चालनको लागत अमेरिकाले मात्र नभई भारत, टर्की, इन्डोनेसिया, अर्जेन्टिना र फिलिपिन्सजस्ता प्रमुख देशले भुक्तानी गर्छन् ।
धेरै बहुपक्षीय संस्थाहरूको विपरीत आइबिआरडी प्रत्यक्ष देशको अनुदानमा भर पर्दैन । यसको सट्टा यसले ऋणपत्र जारी गरेर पुँजी बढाउँछ र त्यसपछि विकासशील र उदीयमान अर्थतन्त्रलाई उधारो दिन्छ । वास्तवमा आइबिआरडीले २०२४ मा ५२.४ बिलियन डलर बन्ड जारी गर्दै आफैँलाई वित्तपोषण गर्यो । यद्यपि यसका बन्डहरू सदस्य देशबाट समर्थित छन् । आइबिआरडीले कहिल्यै पनि आफ्नो योग्य पुँजी प्रयोग गरेको छैन । फलस्वरूप, प्रत्येक सेयरधारकले आफ्नो प्रतिबद्ध सेयरको सानो अंश ‘भुक्तानी गरिएको पुँजी’को रूपमा प्रदान गर्छ । अमेरिकाका लागि त्यो ३.७ बिलियन डलर हुन्छ, जुन संघीय सरकारले विगत १५ वर्षमा इलोन मस्कको अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सलाई दिएको २० अर्ब डलर अनुदानको लगभग १९ प्रतिशत हो ।
विश्व बैंकमा अन्य तरिकाबाट अमेरिकाले योगदान पुर्याउने निश्चित छ । उदाहरणका लागि सन् २०१८ मा ट्रम्पको पहिलो प्रशासनले आइबिआरडीका लागि ७.५ अर्ब डलर पुँजी वृद्धिलाई अनुमोदन गर्यो । यसले अमेरिकाबाट थप आर्थिक सहयोगको माग गर्दैन । तर, बदलामा अमेरिकाले धेरै पाउँछ । उदाहरणका लागि विश्व बैंकको सहुलियतपूर्ण ऋण दिने शाखा इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसनमा यसका योगदान स्वेच्छिक छन् र प्रत्येक तीन वर्षमा पुनः सम्झौता गरिन्छ, जसले आइडिए ऋणमा अमेरिकालाई ठुलो प्रभाव पार्छ ।
सरल शब्दमा भन्नुपर्दा आइएमएफ र विश्व बैंकबाट बाहिरिनु एक गम्भीर गल्ती हुनेछ, जसले अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाका नियमलाई आकार दिने र आफ्नो रणनीतिक स्वार्थ पछ्याउने अमेरिकाको क्षमता खोसिनेछ । यद्यपि, कम्तीमा पनि ट्रम्प प्रशासनमा केही प्रलोभन देखिन्छन् । यदि अमेरिकाले विश्व बैंकबाट फिर्ता नभए र यसको सट्टा आफ्नो कोष रोक्यो भने कुल मतदान शक्तिको ७० प्रतिशत प्रतिनिधित्व गर्ने सदस्य राष्ट्रले आफ्नो वित्तीय दायित्व पूरा गर्न असफल भएकोमा उसको मतदान अधिकार निलम्बन गर्न सक्छन् । अमेरिकाले त्यसपछि बैंकको सम्झौताको धाराअन्तर्गत सबै अधिकार गुमाउनेछ (फिर्ता लिने अधिकारबाहेक) । यदि निलम्बन एक वर्षभन्दा बढी रह्यो भने संयुक्त राज्य अमेरिकाले स्वचालित रूपमा आफ्नो सदस्यता गुमाउनेछ । समान बहुमतले यसलाई पुनस्र्थापना गर्न मत नदिँदासम्म उसले सदस्यता गुमाउँछ ।
अमेरिकी पूर्वराष्ट्रपति थिओडोर रुजवेल्टले एकपटक भनेका थिए कि विदेश नीतिले ‘नरम बोल्नुपर्छ र ठुलो लट्ठी बोक्नुपर्छ ।’ ट्रम्प प्रशासन चर्को स्वरमा बोल्न र इलन मस्कलाई चिजहरू तोड्ने ठुलो छडी प्रयोग गर्न उत्प्रेरित गर्छन् । अन्य देश छक्क पर्न सक्छन्, तर तिनीहरू असहाय छैनन् । सँगै एकजुट भएर निर्णायक रूपमा कार्य गरेर तिनीहरू अझै पनि बहुपक्षीय प्रणालीलाई बचाउन सक्छन् ।
वुड्स अक्सफोर्ड विश्वविद्यालयमा ब्लाभत्निक स्कुल अफ गभर्मेन्टकी डिन हुन्
– प्रोजेक्ट सिन्डिकेटबाट