
भोजपुरको विकट गाउँको निम्नवर्गीय परिवारमा जन्मिएका इन्द्रकुमार विश्वकर्माले ५ भदौ ०५२ मा धरानमा बराह सुनचाँदी पसल खोले । गरगहना बनाएर बिक्री गर्ने यो पसलले बराह ज्वेलरी इन्डस्ट्रिजको नाममा परिणत हुँदै ग्रुप अफ कम्पनीका नाममा साम्राज्य खडा गर्यो । बुबा इन्द्रकुमार र आमा विष्णुमायाको निधनपछि छोरा शिवकुमार लामिछाने (विश्वकर्मा) नेतृत्वमा आए । बराह सहकारीमा आमनागरिकले जम्मा गरेको बचत उनकै नेतृत्वमा योजनाबद्ध रूपमा बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको सिस्टमको सफ्टवेयरमा इन्ट्री गरी १० अर्ब ७३ करोड ४३ लाख झ्वाम पारियो ।
०६६ मा सहकारी स्थापनापछि थालिएको ठगीको अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले गत बिहीबार व्यक्ति र पाँच कम्पनीसहित २६६ विरुद्ध सहकारी ठगी र संगठित अपराधमा सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सहकारीको रकम अवैध रूपमा बराह ग्रुपका १४ सहित ३१ कम्पनीमा लगिएको तथा कारोबार गरिएको र घरजग्गामा पनि लगानी गरिएको अभियोगपत्रमा उल्लेख छ ।
सुनसरीका एसपी सुमन तिम्सिनाका अनुसार सहकारीको पैसा ३१ भन्दा धेरै कम्पनीमा गए पनि अचल सम्पत्तिसमेत रहेका भने पाँच कम्पनी मात्र छन् । ‘ती कम्पनीका हकमा सम्पत्ति जफत प्रयोजनको मुद्दा गएको हो, अन्य कम्पनीका सञ्चालक, सेयरधनीलाई व्यक्तिगत रूपमा मुद्दा गएको छ,’ एसपी तिम्सिनाले भने, ‘सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेकाले कुन कम्पनीमा कति पैसा गएको हो भनेर हेरिरहेका छौँ ।’ सम्पत्ति जफतका लागि बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि, इन्द्र बराह ट्राभल्स एन्ड टुर, बराह कृषि उपज तथा पशुपालन प्रालि, श्रीपा सुपर मार्केट स्टोर र बराह डिपार्टमेन्ट स्टोरविरुद्ध पनि मुद्दा छ ।
धरान उपमहानगर, संसदीय छानबिन समितिको प्रतिवेदन, भोजराज थापा क्षेत्रीसहित चार हजार १६८ जनाको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको हो । बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) तथा सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मासहित ३५ जनाको संलग्नता, लामो तयारी, सञ्जालको निर्माण, संगठित योजना, पिरामिड शैलीको तहगत जिम्मेवारी, आकर्षक ब्याज दिने (१८ प्रतिशत), आकर्षक स्किम, ज्वेलरीका नाममा पैसा उठाउने, सहकारीको पासबुक दिने र बचत नगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा लगानी र प्राविधिक मूल्यांकनविना नै कमसल जग्गा धितो राखेर तथा विनाधितो ऋण प्रवाह गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ । मुद्दा चलाइएकामध्ये २१० ऋणी हुन् ।
सहकारीमा कर्मचारीका भूमिका मात्र रहेका केही पक्राउ पर्दा मुख्य अभियुक्तहरू भने फरार छन् । पक्राउ परेका ११ मध्ये १० जनाको बयान सुनसरी जिल्ला अदालतमा सकिएको छ । बराह ज्वेलरी इन्डस्ट्रिजका सुपरभाइजर, बराह डिपार्टमेन्ट स्टोर, नारायणी बराह ज्वेलरीका संस्थापक सेयरधनी तथा सञ्चालक रवि पोर्तेल (रवि सुनार विक), बराह सहकारीका सञ्चालक समिति पूर्वसदस्य, नारायणी बराह ज्वेलरीका संस्थापक तथा सेयरधनी रिना राई (लामिछाने), बराह सहकारीका लेखा सुपरिवेक्षण समिति संयोजक, सुमिन (सुदिन) विक, बराह सहकारीका सञ्चालक समिति सदस्य विष्णुकुमारी तुलाधरसहितको बयान आइतबार र सोमबार भएको हो ।
झन्डै दुई अर्ब ऋण डुब्यो, ऋणको धितोमध्ये तीन करोड मात्र सुरक्षित
सहकारीमा ०७२ देखि ०८१ सम्मको अवधिमा मात्र झन्डै दुई अर्ब ऋण डुबेको छ । यो अवधिमा ग्रुप कम्पनी, ग्रुप कम्पनीका सञ्चालक, सहकारीका सञ्चालक र साधारण सदस्यलाई विनाधितो र कमसल धितोमा ७१ करोड ३९ लाख ऋण प्रवाह भएको देखिन्छ । जसको ब्याज मात्र ३६ करोड ३१ लाख चढिसकेको छ । यसरी हेर्दा दुई अर्ब ७७ करोड ऋण लगानी डुबेको देखिन्छ । यद्यपि, ऋणमध्ये धितोको तीन करोड मात्र सुरक्षित छ ।
बराह ग्रुपका पाँच कम्पनीमा मात्र ४० करोड ९३ लाख ऋण लगानी देखिन्छ भने १४ करोड ५५ लाख ब्याज थप भइसकेको छ । ग्रुप कम्पनीका सञ्चालकलाई १० करोड १४ लाख ऋण लगानी भएको छ, ६ करोड ९१ लाख ब्याज थप भइसकेको छ । सहकारी सञ्चालकलाई १२ करोड ५२ लाख ऋण प्रवाह भएकामा ६ करोड ८१ लाख ब्याज चढेको छ । त्यस्तै, साधारण सदस्यलाई चार करोड ५४ लाख विनाधितो ऋण लगानी हुँदा ब्याजबापत चार करोड ७१ लाख थप भएको छ । धितोसहितको लगानी भने तीन करोड २२ लाख गएकामा तीन करोड ३१ लाख ब्याज चढेको छ ।
यसबाहेक आठ हजार १५० सदस्यको ६८ करोड ९७ लाख बचत तथा पाँच हजार १४२ सदस्यको १० करोड १३ लाख सेयर देखिन्छ । तर, सहकारीका आठ हजार १५० बचतकर्तामध्ये चार हजार ८५२ सदस्यको मात्र सेयर रहेको र बाँकी बचत गैरकानुनी रहेको सहकारीले प्रयोग गरेको सफ्टवेयरमा देखिएको अभियोगपत्रमा उल्लेख छ । एउटै व्यक्तिको नाममा ३३ वटासम्म ऋण देखिएको छ भने हङकङमा ६५ करोबारमार्फत एक करोड ९९ लाख र दुबईमा दुई कारोबारमार्फत एक लाख ऋण लगानी भएको देखिएको छ । न्यू बराह सेभिङ एन्ड क्रेडिटका नाममा ३७३ कारोबारमार्फत १५ करोड ८८ लाख ऋण प्रवाह भएको देखिन्छ, जुन सहकारीबाट चलाएको ऋणको भुक्तानी अनुमान गरिएको छ । त्यस्तै, केटिएम न्युरोड हेड अफिसका नाममा २७५ कारोबारबाट तीन करोड ५८ लाख ऋण लगानी देखिन्छ, जुन रकम बराह ग्रुपको सञ्चालक समूहले रूपान्तरण गरेको रकम आकलन गरिएको छ । सहकारी बैंकबाट ३७ लाख, प्रभु बैंकबाट २५ लाख, मेघा बैंकबाट चार लाख र हिमालयन बैंकबाट दुई लाख ऋण लगानी गरेको देखाइएको छ । उक्त रकम बराह ग्रुपको बैंक कारोबारको रकम हुन सक्ने अनुमान छ । ‘डे बुक २० मा कुल संकलित रकम ९७२ करोडमध्ये २७ करोड कर्जा देखिन्छ, बाँकी ९४५ करोडको कुनै विवरण छैन,’ अभियोगपत्रमा भनिएको छ, ‘देखिने कर्जा २७ करोडसम्बन्धी पनि कुनै कागजात देखिँदैन । ऋण कहिले लगानी भयो, ब्याजदर कति, अन्तिम भुक्तानी मिति कहिलेलगायतका विवरण उपलब्ध हुन सकेनन् । २७ करोडको ऋण लगानी भएको व्यक्तिको नाम हेर्दा क वर्गका बैंकसम्मको नाम देखिन्छ ।’
सहकारीमा ४२ लाख ३३ हजार मात्र नगद
२६ मंसिर ०८१ सम्म बराह सहकारीमा ४२ लाख ३३ हजार मात्र नगद देखिन्छ । ‘तरलता अभावको स्थिति अस्वाभाविक हो, यो नगद मौज्दात नभई, संस्था सञ्चालनको जिम्मा लिएको समूह, व्यक्ति, कर्मचारीले अपचलन गरेको हो भन्ने सजिलै अनुमान गर्न सकिन्छ,’ प्रहरी अनुसन्धान प्रतिवेदनमा भनिएको छ । सहकारीका नाममा सात लाख २७ हजार मात्र बैंकमा मौज्दात छ, जब कि संस्थाका नाममा बैंकमा १२ खाता छन् । संस्थाको स्थिर सम्पत्ति तीन लाख ४४ हजार मात्र छ । संस्थाको दायित्व ३८ करोड ८८ लाख पुगेको छ ।
बुबा इन्द्रकुमारले थालेको ठगी छोरा शिवकुमारले फैलाए
तत्कालीन अध्यक्ष इन्द्रकुमारले बराह सहकारीको नामबाट ग्राहकलाई पासबुक वितरण गर्थे । तर, सहकारीमा सेयर रकम र बचत नगराई बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको सफ्टवेयरमा इन्ट्री गराउँथे । उनकै कार्यकालमा सहकारीको दुई अर्ब ४५ करोड ७७ लाख रुपैयाँ यही समूहले सञ्चालन गरेको गोर्खा एन्ड बराह ज्वेलरी र कम्पनीमा लग्नुका साथै आफूअनुकूलका व्यक्तिका नाममा जग्गा खरिद गरेको देखिन्छ । सुरुमा ज्वेलरीको नामबाटै बैंक जसरी कारोबार गरेर निक्षेप संकलन, सुन धितो लगानी, ऋणीसँग ब्याज संकलन तथा बचतकर्तालाई ब्याज दिइए पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अवैध रहेको खुलेपछि सहकारी खोलेका थिए । धरानमा ब्रिटिस लाहुरे र इन्डियन लाहुरेको राम्रो नगद प्रवाहलाई देखेर ०६६ मा सहकारी खोलेको र काठमाडौं, पोखरा, बेलायत, हङकङमा पनि कारोबार थालेको अनुसन्धानमा खुलेको छ ।
१६ माघ ०६९ मा इन्द्रकुमारको निधनपछि पत्नी विष्णुमाया सहकारीको अध्यक्ष बनिन् । उनको कार्यकालमा सहकारीको ७० करोेड १९ लाख हिनामिना भएको र एक करोड १२ लाख खराब कर्जा देखिएको छ । विष्णुमायाको पनि ०८० मा निधन भएपछि एक मात्र छोरा शिवकुमारले ठगीको साम्राज्य सम्हालेका थिए । शिवकुमारले बराह सहकारीको नामबाट ग्राहकलाई पासबुक वितरण गरेको, तर दुई अर्ब ७१ करोड बचत रकम कम्पनीमा लगेर अपचलन गरेको सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । उनले पनि बराह ज्वेलरीको सफ्टवेयरमा बचत रकम इन्ट्री गर्न लगाएर आफू संस्थापक तथा सेयरधनी रहेका कम्पनीका नाममा घरजग्गा खरिद गरेको अभियोग छ । यसरी शिवकुमार र उनका आमाबुबाको नाममा रहेकोसहित पाँच अर्ब ८८ करोड ४० लाख असुल गर्नुपर्ने मागदाबी गरिएको छ । त्यस्तै, उनीहरूले सहकारीको रकम हिनामिना गरी किनेको सुनसरीदेखि काठमाडौंसम्म ३१ ठाउँका घरजग्गा पनि जफत गर्नुपर्ने मागदाबीमा भनिएको छ । त्यस्तै, शिवकी बहिनी मन्दिरा लामिछानेमाथि मानबहादुर विश्वकर्मा नेतृत्वको समितिको पालामा सहकारीको एक अर्ब २३ करोड अपचलन गरेको अभियोग छ ।
शिवकुमारले बराह ग्रुप अफ कम्पनीको नेतृत्व सम्हाल्दा मानबहादुर विश्वकर्मा सहकारीको अध्यक्ष बने । अध्यक्षको हैसियतमा मानबहादुरले सहकारीको शाखा स्वदेश र विदेशमा पनि विस्तार गरे । ग्रुपका सेयर सदस्यसमेत रहेका मानबहादुर १३ कम्पनीका संस्थापक देखिन्छन् । मानबहादुरले सहकारीको एक अर्ब ११ करोड ४३ लाख बचत आफू संस्थापक तथा सेयर सदस्य रहेका विभिन्न कम्पनी, आफू र आफूअनुकूलका व्यक्तिको नाममा घरजग्गा खरिद गरेर ठगी गरेको अभियोगपत्रमा उल्लेख छ । उनले पत्नी जतनमाया विश्वकर्माको नाममा समेत सम्पत्ति खरिद गरेका थिए । उनी अध्यक्ष रहेकै वेला प्राविधिक मूल्यांकनविना नै कमसल जग्गा धितो तथा विनाधितोमा ३३० जनामा सहकारीको ऋण लगानी गरेको पनि देखिन्छ ।