
कञ्चनपुर महेन्द्रनगर कबर्डहलमा सम्पन्न एलबिए क्रिकेट प्रतियोगिता ०८१ को उपाधि आयोजक टिमले नै जितेको छ। भीमदत्त नगरपालिका–३ महेन्द्रनगरमा रहेको लिटिलबुद्ध एकेडेमीले आयोजना गरेको क्रिकेट प्रतियोगिता सातौँ संस्करणको उपाधि आयोजक टिमले नै जितेको हो।
मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक एलबिएको टिमले होली फेम्ली इंग्लिस बोर्डिङ स्कुल जिमुवाको टिमलाई १२१ रनले हराउँदै उपाधि आफ्नै पोल्टामा पार्न सफल भएको हो। आयोजकले २० ओभरमा ३ विकेटको क्षतिसँगै २२२ रन बनाएको थियो। होली फेम्ली इंग्लिस बोडिङ स्कुल जिमुवाले २० ओभरमा ९ विकेटको क्षतिसँगै १०१ रन बनायो। विजेताको दौडमा रहेको होली फेम्लीले उपविजेतामा चित्त बुझाउनुपर्यो।
विजेता आयोजकले नगद एक लाख १५ हजार र उपविजेता होली फेम्लीले नगद ६० हजारसहित ट्रफी, मेडल पाएको छ। विभिन्न टिमको उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो। ३० माघदेखि लिग चरणअन्तर्गत १६ टिमबिच प्रतिस्पर्धा भएको थियो।