मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १९ सोमबार
  • Tuesday, 04 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण १९ सोमबार o६:४१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

लाल मोहम्मद हत्याका भारतीय ‘सुटर’ दुई वर्षपछि पक्राउ

प्रहरीले खुट्टामा गोली हानेर टोखाबाट लियो नियन्त्रणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण १९ सोमबार o६:४१:oo

सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि गोली प्रहारमा संलग्न मुख्य सुटर भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार साँझ टोखाबाट झोरतर्फ भाग्ने क्रममा गोली प्रहार गरी भारतीय नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । 

मोहम्मदको ३ असोज ०७९ मा कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित एड्भेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि गोली प्रहार गरी हत्या गरिएको थियो । अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतले पटेल मोहम्मद हत्यामा सार्पसुटरका रूपमा प्रयोग गरिएका मुख्य अभियुक्त रहेको बताए । ‘घटनामा संलग्नमध्ये केही त्यही वेला पक्राउ परेका थिए । तर, मुख्य अभियुक्त फरार थिए । घटनामा संलग्नमध्ये मुख्य अभियुक्त टोखाआसपास रहेको सूचना प्राप्त भयो । खोज्दै जाने क्रममा भेटियो । प्रहरीलाई देखेपछि भाग्न खोजेका वेला गोली प्रहार गरी पक्राउ गरियो,’ उनले भने ।   

प्रहरीका अनुसार पटेलविरुद्ध भारतमा पनि ६ वटाभन्दा धेरै मुद्दा दर्ता भएका छन् । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले मोहम्मदको हत्यापछि पनि पटक–पटक काठमाडौं आउने जाने गरेको बताए । ‘भारतमा पनि थुप्रै मुद्दा दर्ता भएको देखिन्छ । मोहम्मदको हत्यापछि पनि यो काठमाडौं आउने जाने गरेको रहेछ । यो व्यावसायिक सुटर हो । पप्पु पासवानसँग पैसा लिएर यसले मोहम्मदको गोली हानी हत्या गरेको देखिन्छ,’ उनले भने । 

प्रहरीका अनुसार केन्द्रीय कारागार सुन्धारामा रहेका युनुस अन्सारीको हत्या प्रयासकै वेला मोहम्मद दर्जीको हत्या गर्ने योजना बनाइएको थियो । युनुसमाथि २६ फागुन ०६७ मा केन्द्रीय कारागारभित्रै छिरेर हत्या प्रयास भएको थियो । हत्या अभियोगमा पक्राउ परेका मोहम्मद त्यसवेला ललितपुरस्थित नक्खु कारागारमा थिए । 

असोज ०७९ मा कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित एड्भेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई गोली हानी हत्या गरिएको थियो । घटनामा संलग्नमध्ये केही त्यही वेला पक्राउ परेका थिए । तर, मुख्य अभियुक्त भारतीय नागरिक गुड्डु पटेल फरार थिए । पटेल टोखाआसपास रहेको सूचना प्राप्त भएपछि आइतबार प्रहरी पक्राउ गर्न पुगेको थियो । ‘प्रहरीलाई देखेपछि भाग्न खोजेका वेला गोली प्रहार गरी पक्राउ गरियो,’ अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतले भने ।