
एमाले गण्डकी प्रदेश कमिटिले सहकारी ठगीको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ। आज बसेको पार्टीको चौथो सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्वउपसचिव, प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्यसमेत रहेका थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जानकारी दिए। शर्माका अनुसार बैठक पार्टीले सञ्चालन गर्न लागेको तीनमहिने अभियान प्रभावकारी बनाउने निर्णय गर्दै अभियानको तयारीसँगै जिम्मेवारी बाँडफाँट गर्ने निर्णयसमेत गरेको छ।
निलम्बनमा परेका थापा म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका छन्। थापासहित २५ जनाविरुद्ध म्याग्दी जिल्ला अदालतमा एक अर्ब १३ करोड रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय म्याग्दीले १५ फागुनमा जिसस प्रमुख थापासहित २५ जनाविरुद्ध सहकारी ठगी आरोपमा अदालतमा आरोपत्र दर्ता गरेको थियो। बेनी नगरपालिका–१ घर भएका ३६ वर्षका थापासँग १७ करोड ५८ लाख ६३ हजार ४२६ रुपैयाँ बिगो माग गरिएको छ। थापा कुमारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिका पदाधिकारीसमेत हुन्। एमाले म्याग्दीका पूर्वजिल्ला उपसचिवसमेत रहेका थापा ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका थिए।
बैठकलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज किरण गुरुङले पार्टी सरकारमा रहेको अवस्थामा पार्टीविरुद्धमा भएका र गरिएका कु–प्रचार र अफवाहरूको प्रतिकार गर्न उपस्थित नेता-कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए। उनले पार्टीलाई सबल पार्टी बनाउन सबै लाग्न आग्रहसमेत गरेका थिए।
बैठकमा पार्टीका बाग्लुङ जिल्ला अध्यक्ष हिराबहादुर के सी, लमजुङका अध्यक्ष राजकुमार विष्ट, गोरर्खाका अध्यक्ष सुरेन्द्र थापा, तनहुँका अध्यक्ष हरिराज कँडेल, पर्वतका अध्यक्ष गोविन्द पहाडी, म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले जिल्ला कमिटीहरूले गरेका काम, गतिविधि र कार्यक्रमहरू जानकारी गराएका प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए।