मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 04 March, 2025
कमल खत्री म्याग्दी
२o८१ फाल्गुण २० मंगलबार २o:४o:oo
Read Time : > 1 मिनेट
समाचार

कुमारी सहकारीकाे बचत हिनामिना प्रकरण : थुनछेक बहस सुरु

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ फाल्गुण २० मंगलबार २o:४o:oo

म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी बचत रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सुरु भएको छ। सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेकाहरूको बयान सकिएसँगै म्याग्दी जिल्ला अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा वादीको तर्फबाट सरकारी वकिल गोविन्द उपाध्याय र प्रतिवादीको तर्फबाट दुई वकिलले थुनछेक बहस गरेको अदालतका स्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिए। उनका अनुसार, वादी र प्रतिवादीको तर्फबाट बुधबार पनि बहस हुनेछ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही १५ फागुनमा एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाई अभियोगपत्र दर्ता गरेको थियो।

रकम हिनामिना र अपचलन आरोपमा पक्राउ परेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख तथा कुमारी सहकारीका पूर्वसञ्चालक राजकुमार थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुनको बयान अदालतमा भए पनि प्रहरी हिरासतमा रहेको अवस्थामा बिरामी भएर उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएका सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजाको बयान भने बाँकी छ।

२५ जना अभियुक्तमध्ये मंगला गाउँपालिका–३, बरंजाका वडाध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष यामबहादुर रोकासहित १९ जना अझै फरार छन्। सहकारी रजिस्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध संगठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणबापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानी नोक्सानी पुर्‍याई सहकारी ऐन, ०७४ को नियमावली ०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो। 

मुद्दामा सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरूलाई विपक्षी बनाइएको छ। ६ हजार बचतकर्ता रहेको कुमारी सहकारी ०६५ मा स्थापना भएको हो। सहकारीको बचत रकमबाट सञ्चालकहरूले ढुकुटी खेलाउने, बोर्डिङ स्कुलमा लगानी, घरजग्गा कारोबारलगायतमा खर्च गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गरेको छानबिन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।