
मकवानपुरको बकैया गाउँपालिका–६ जुइनामा माझी समुदायले धुमधामसँग लदी पर्व (कोशी पुजा) मनाएका छन्। उनीहरूले बागमती नदीकिनारमा सामूहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनुष्ठान गर्दै पर्व मनाएका हुन्।
परम्परागत भेषभूषामा सजिएर बागमती नदीकिनारमा उपस्थित भएका माझी महिला, पुरुष र बालबालिकाहरूले नदीको पुजाअर्चना गरी परम्परागत संस्कृतिअनुसार धार्मिक विधिहरू पूरा गरेका थिए।
उक्त अवसरमा समुदायका ज्येष्ठ सदस्यहरूले नदी पूजा गर्दै खोला, डुंगा र माछापालनसँग जोडिएको आफ्नो पहिचान र संस्कृतिको महत्वलाई स्मरण गराएका थिए। यस वर्ष पनि बागमती प्रदेश सरकारले माझी समुदायको चाड लदी पर्वको अवसरमा समुदायका लागि सार्वजनिक बिदा दिएको थियो।
कार्यक्रममा बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको समेत उपस्थिति थियो। नेपाल माझी उत्थान संघको आयोजनामा मनाइएको लदी पर्वका बारेमा जानकारी दिँदै केन्द्रीय अध्यक्ष चिनीमाया माझीले बिहान सबैजना सामूहिक रूपमा नदीकिनारमा भेला भएर पराम्परागत रूपमा नदीको पूजा गरेको बताइन्।
उक्त अवसरमा मुख्यमन्त्री लामाले समावेशी विकास र समुदायको उत्थान प्रदेश सरकारको प्राथमिकता रहेको बताए। उनले सरकारले सबै समुदायको हितका लागि काम गरिरहेको र सबै सम्भावित विकल्पहरू प्रयोग गरिरहेको दाबी गरे।
मुख्यमन्त्री लामाले समावेशी विकासको बाटो पहिल्याउने सरकारको प्रतिबद्धतालाई दोहोर्याउँदै प्रदेशभित्र रहेका सबै समुदायको उत्थानका लागि दत्तचित्त भएर काम गर्ने र त्यसका लागि सबै समुदायको साथ, समर्थन र सुझावहरू आवश्यक रहेको बताए।
०७८ सालको जनगणनाअनुसार नेपालमा माझी समुदायका एक लाख ११ हजार ३५२ जना रहेका छन्। बागमती प्रदेशमा मात्रै ४१ हजार ६७१ माझीहरू रहेको तथ्यांक छ। जसमा मकवानपुरमा मात्रै ११ हजार ५३८ जना रहेका छन्।