
सन् २००६ को फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि इटालीलाई दिलाएका गोलरक्षक जियानलुजी बुफानो नेपाल आउने भएका छन् । विश्व फुटबलकै उत्कृष्ट गोलरक्षक मानिने इटालीका पूर्वकप्तानसमेत रहेका बुफानो केपी ओली कप फुटबल प्रतियोगिता हेर्न आउन लागेको राष्ट्रिय युवा संघ नेपालका सचिव निरोज पौडेलले नयाँ पत्रिकालाई जानकारी दिएका छन् ।
‘केपी ओली कपमा विश्व च्याम्पियन गोलरक्षक तथा कप्तान बुफानो आउने पक्का भएको छ, हामीले यसका लागि सम्झौतासमेत गरेका छौँ,’ पौडेलले भने, ‘उहाँको आगमनले प्रतियोगिताको एउटा हाइट लिनेछ ।’ तेस्रो केपी ओली कप ११ देखि १९ फागुनसम्म हुनेछ । पौडेलका अनुसार बुफानोले दशरथ रंगशालामा हुने फाइनल खेल हेर्नेछन् ।
यसअघि युवा संघले ब्राजिलका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलगायतलाई नेपाल ल्याउने प्रस्ताव राखेको थियो । दुई ब्राजिलियन खेलाडी नआउने भएपछि बुफानोलाई प्रस्ताव गरेको पौडेलले बताए । ‘हाम्रो प्रस्ताव सहजै उहाँले स्विकार्नुभयो ।’ नेपालको छोटो बसाइका क्रममा बुफानोले प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूसँग भेटघाट गर्नेछन् । साथै, उनले सगरमाथा र लुम्बिनीको भ्रमण गर्ने पौडेलले बताए ।
बुफानोले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलरक्षक हुन् । उनले इटालीका लागि ८० खेलमा कप्तानीसमेत गरे । बुफानोले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । तेस्रो केपी ओली कपमा दुई विदेशीसहित नौ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । सेमिफाइनल र फाइनल खेल दशरथ
रंगशालामा हुनेछ ।