मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
विमलाकुमारी झा
२o८१ माघ २४ बिहीबार o७:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अस्ट्रेलियामा रहेकी शिक्षिकालाई तलब दिने तीनजनाको जिम्मेवारी खोसियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार o७:४८:oo

‘असाधारण’ बिदा मागेर छोरी भेट्न अस्ट्रेलिया गएकी शिक्षिकाको हाजिरी गरिदिने र दसैँखर्चसहित चार महिनाको तलब निकासा प्रकरणमा जोडिएका नगर शिक्षा शाखाका प्रमुखसहित तीनजनाको जिम्मेवारी खोसिएको छ । सिराहाको गोलबजार नगरपालिका– ४ गोलबजारस्थित जनता नमुना (प्राविधिक) माविमा प्रावि द्वितीय तहमा कार्यरत शिक्षिका विमलाकुमारी झा ‘असाधारण’ बिदाको निवेदन दिएर तीन महिनादेखि अस्ट्रेलियामा रहे पनि विद्यालयको हाजिरी रजिस्ट्ररमा उनको हाजिरी उल्लेख थियो । साथै, दसैँखर्चसहित चार महिनाको तलब निकासा भएको थियो । हाजिरीमा भने पछि टिपेक्स लगाइएको थियो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीका अनुसार बुधबार नगर शिक्षा समितिको बैठकले अस्ट्रेलियामा रहेकी शिक्षिका विमलाकुमारी झाको आव ०८१/८२ को पहिलो चार महिनाको तलब र दसैँखर्च निकासा सिफारिसमा शाखा प्रमुख सुबोधकुमार लामाको संलग्नता हो/होइन भन्ने छानबिनका लागि जिम्मेवारीबाट हटाइएको हो । ‘छानबिनको अन्तिम किनारा नलाग्दासम्म उहाँको नाममा रहेको नगदी तथा जिन्सी सामान बरबुझारथ गर्न लगाई शाखाको कामकाजबाट जिम्मेवारीविहीन गराउने निर्णय भएको छ,’ उनले भने । विद्यालयका प्रधानाध्यापक भरतप्रसाद साह र लेखा प्रमुख रामेश्वर साहलाई पनि बुधबारदेखि नै लागू हुने गरी छानबिनको अन्तिम किनारा नलाग्दासम्म नगरपालिकामा उपस्थित गराई ठाडो हाजिरीमा राख्ने र तलब–भत्ता रोक्ने निर्णय भएको उनले बताए ।

छानबिन अवधिभर विद्यालयको दैनिक प्रशासनिक, आर्थिक र विद्यालय व्यवस्थापनका लागि अर्को व्यवस्था नभएसम्म सहायक प्रअ वीरेन्द्रप्रसाद यादवलाई प्रअको कामकाज गर्ने गरी जिम्मेवारी तोक्ने र लेखाको कामकाज गर्न कार्यरत शिक्षकमध्येबाट कामकाज गर्न व्यवस्था मिलाउने निर्णय भएको उनले बताए । उनका अनुसार पछिल्लो करिब आठ महिनादेखि विद्यालयमा अनुपस्थित शिक्षिका झाको तलब–भत्ता निकासामा शाखा प्रमुख, प्रअ र लेखा प्रमुखको मिलेमतो हुन सक्ने देखिएकाले तीनैजनाको जिम्मेवारी खोसिएको हो । 

‘असाधारण’ बिदाको निवेदन दिएर छोरी भेट्न अस्ट्रेलिया उडेकी शिक्षिकाको आार्थिक वर्ष ०८१/८२ को पहिलो चौमास साउनदेखि कात्तिकसम्म र दसैँखर्चसहित दुई लाख ९६ हजार ३४५ रुपैयाँ ९५ पैसा निकासा गरेर अपचलन गरिएको आरोपसहित विद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो ।