मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
दशगजा छुट्याउँदा कञ्चनपुरको दोधारा–चाँदनी– ८ धामीटोलमा ट्रयाक्टर लगाउँदै भारतीय पक्ष ।
मोहन विष्ट कञ्चनपुर
२o८१ माघ २४ बिहीबार १o:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय पक्षले दोधारा–चाँदनी क्षेत्रमा एकलौटी दशगजा सीमांकन गर्न खोजेपछि विवाद 

स्थानीय भन्छन्– नेपाली पक्षविनै दशगजा सीमांकन गर्न खोज्नु सीमा अतिक्रमणको प्रयास

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १o:१o:oo

सीमा सुरक्षा बल(एसएसबी)सहित भारतीय प्रशासनले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ धामीटोलमा एकलौटी तवरमा ‘दशगजा छुट्याउने’ काम गरेपछि विवाद उत्पन्न भएको छ । नेपाल–भारत ७६९(१६) नम्बर सीमा पिलर क्षेत्रमा भारतीय प्रशासनले ट्रयाक्टर ल्याएर एक्कासि दशगजा सीमांकन गर्ने भन्दै रेखांकन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् । 

किशोरकुमार लिम्बू, मेयर, दोधारा–चाँदनी नगरपालिका
मैले यस विषयमा सिडिओ साबसँग कुराकानी गरेको छु । यो सीमाको विषय हाम्रो मात्रै नभई समग्र सरकारको सरोकारको विषय हो । 

गत शुक्रबार भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले उक्त क्षेत्रमा सीमांकन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरूले भारतीय पक्षबाट दशगजा छुट्याउने निहुँमा सीमा अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन् । स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मीहरू फर्किएका थिए ।

स्थानीय युवा तमाङसिंह गुरुङले भारतीय पक्षले नेपाली पक्षको उपस्थितिविनै दशगजा छुट्याउने निहुँमा ट्रयाक्टर ल्याएर सीमांकन गर्न थालेपछि विरोध गरेको बताए । ‘घरकै दुई दाजुभाइको अंशबन्डा गर्दा पनि दुवै पक्षको उपस्थितिमा हुन्छ,’ उनले भने, ‘यहाँ त दुई देशको कुरो हो, दशगजा छुट्याउने निहुँमा भारतीय पक्षले एकलौटी आएर रेखांकन गर्ने कुरा सुहाएन ।’ भारतीय पक्षले एकलौटी दशगजा छुट्याउने काम दादागिरी भएको उनले बताए । 

अर्का स्थानीय कान्छा खत्रीले आफूहरूले वषौँदेखि उपभोग गर्दै आएको जमिनमा भारतीय पक्षले दशगजा छुट्याउने बहाना गर्नु जमिन हत्याउने कोसिस भएको बताए । खत्रीले हामीले पहिल्यैदेखि खाइपाई आएको र अहिले आएर उक्त जमिन दशगजामा देखाएको बताए । ‘यो हाम्रो निजी विषय मात्रै रहेन, यसमा नेपाल सरकारको सरोकार हुनुपर्छ,’ उनले भने, ‘सीमा पिलर क्षेत्रमा रहेको जमिनको दशगजा छुट्याउने विषयमा दुवै पक्षको सहमति चाहिन्छ ।’ 

दोधारा–चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बूले भारतीय पक्षले नेपाली पक्षको उपस्थितिविनै दशगजा छुट्याउन थालेपछि स्थानीयले विरोध गरेको बताए । ‘मैले यस विषयमा सिडिओ साबसँग कुराकानी गरेको छु,’ उनले भने, ‘यो सीमाको विषय हाम्रो मात्रै नभई समग्र सरकारको सरोकारको विषय हो ।’ नेपाली पक्षको उपस्थितिविनै एसएसबीले एकलौटी सीमांकन गरेको स्थान मान्य नहुने मेयर लिम्बूको भनाइ छ । 

यसरी भारतीय पक्षले एकलौटी सीमांकन गरेपछि स्थानीयसहित राजनीतिक दल, संघ–संगठन विरोधमा उत्रिएका छन् । विप्लव नेतृत्वको नेकपा कञ्चनपुरका इन्चार्ज विष्णुप्रकाश उपाध्यायले भारतीय पक्षको दादागिरी नरोकिएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सीमासम्बन्धी प्राविधिक विषय भएकाले यस विषयमा धारणा दिन नमिल्ने बताए । प्रजिअ सापकोटाले सीमा विवाद कूटनीतिक रूपमा नेपाल सरकारले नै समाधान गर्ने बताए ।