मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २४ बिहीबार o६:२३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी अस्पतालको सुविधासम्पन्न क्याबिनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार o६:२३:oo
  • मुख्य आरोपी केशव दुलाल र सानु भण्डारी पाँच दिनदेखि सिनामंगलस्थित नेपाल मेडिकल कलेजको सुविधासम्पन्न १७ नम्बर क्याबिनमा, धरौटीमा छुटेका आरोपीदेखि उजुरीकर्तासम्मको भेटघाट

पुर्पक्षका लागि जेल चलान भएका नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दुई आरोपीलाई बिरामी भएको बहानामा अस्पतालको सुविधासम्पन्न क्याबिनमा राखिएको छ । केशव दुलाल र सानु भण्डारी पाँच दिनदेखि सिनामंगलस्थित नेपाल मेडिकल कलेजको १७ नम्बर क्याबिनमा छन् । बिरामी भएको कागज बनाएर उनीहरूलाई क्याबिनमा राखिएको हो । 

मुद्दाका केही उच्चपदस्थलाई जोगाउने रणनीतिअनुसार जेल प्रशासनकै मिलेमतोमा त्यसरी अस्पतालको क्याबिनमा लगेर राखिएको स्रोत बताउँछ । क्याबिनमा विभिन्न व्यक्तिहरू लगेर छलफल गराइएको छ । प्रहरी स्रोतका अनुसार अस्पतालमा सोही मुद्दामा धरौटीमा छुटेका अन्य आरोपीदेखि उजुरीकर्तासम्मलाई लगेर भेट गराइएको छ । ‘अस्पतालको जमघट हेर्दा ठुलै चलखेलजस्तो देखिन्छ,’ ती प्रहरी अधिकारीले भने । 

दुवैलाई अस्पतालको एउटै क्याबिनमा लगेर राखिनु र सो मुद्दामा जोडिएका विभिन्न व्यक्तिलाई लगेर छलफल गर्नुले यसमा मिलेमतो प्रस्ट देखिएको छ । उनीहरूलाई राखिएको अस्पताल कांग्रेस सांसद डा. सुनील शर्माको हो । शर्मा र अभियुक्त केशव दुलाल पुराना साथी हुन् । दुवैको घर मोरङ हो । त्यही कारण शर्माले नै भर्ना हुनुपर्ने कागज बनाएर आफ्नै अस्पतालमा राखेर विभिन्न व्यक्तिहरूसँग बैठक बस्ने वातावरण मिलाएको स्रोत बताउँछ । 

केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटवालले उनीहरू केएमसी अस्पताल भर्ना भएको पुष्टि गरे । ‘एकजनालाई प्रोस्टेट र अर्कालाई मुटु दुख्ने समस्या भएको भन्ने मेडिकल कागजका आधारमा अस्पताल भर्ना गरिएको हो, उनीहरू आज (बुधबार) कारागार फर्किसकेका छन्,’ उनले भने, ‘अन्य विषय गलत हल्ला हुन् ।’ तर, जेलर कटवालले दुलाल र भण्डारी कारागार फर्किसकेको बताए पनि बुधबार साँझसम्म भने उनीहरू अस्पतालमै देखिएका थिए । 

सानु भण्डारी तिनै व्यक्ति हुन्, जसको बयानको आधारमा यो मुद्दामा उच्चपदस्थ तानिएका थिए । नेताहरूले पैसा पनि लिएको, तर काम नगरिदिएको भन्दै उनले प्रहरीमा सबै यथार्थ बताइदिएका थिए । सोही आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार डा. इन्द्रजित राई तथा पूर्वसांसद आङटावा शेर्पालगायत उच्चपदस्थ पक्राउ परेका थिए । मुद्दा दायर भएको २१ महिना हुँदा पनि यसमा जिल्ला अदालतमा सुनुवाइ हुन सकेको छैन । यही अवस्थामा मुख्य आरोपीलाई अस्पतालमा राखेर विभिन्न पक्षसँग छलफल गराइएको छ । 

स्रोतका अनुसार केन्द्रीय कारागारका डिएसपी जीवन निरौलासमेत पूर्वगृहमन्त्री बालकृष्ण खाणनिकट हुन् । यही प्रकरणमा अनावश्यक चासो राखेको भन्दै यसअघि उपत्यका प्रहरी कार्यालयले उनलाई हटाउने तयारी गरे पनि पछि गृह मन्त्रालयकै निर्देशनमा त्यहीँ राखिएको कारागार स्रोत बताउँछ । जेलर कृष्ण कटवालको पनि गृह मन्त्रालयले दुई महिनाअघि सरुवा गरेकोमा पछि थमौती भएको थियो । कारागार प्रशासनले उनीहरूलाई अस्पताल जानेदेखि भेटघाटका लागि विशेष सहुलियत दिएको स्रोत बताउँछ । 

यो मुद्दाका मुख्य बिचौलिया बेचन झा गत असारमा पक्राउ परेकै आधारमा पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको आरोप माओवादी र रास्वपाका नेताहरूले लगाउँदै आएका छन् । झामाथि विस्तृत छानबिन नहुँदा यसमा मुछिएका थप उच्चपदस्थमाथि अनुसन्धान हुन सकेको छैन ।