साहारा सहकारी मुद्दामा चितवन जिल्ला अदालतमा रविविरुद्ध संगठित अपराधको मुद्दा नचलाउने न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई रातारात सरुवा गरेको सरकारले उनीमाथि छानबिन पनि गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । उक्त समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् । यो समितिलाई साहारा सहकारीको बचत रकम अपचलन अभियोजनबारे छानबिन गरी प्रतिवेदन बुझाउन कार्यादेश छ ।
नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले एक साताभित्रै सरकारी वकिलमाथि छानबिन सकिने बताए । रेग्मीले भने, ‘तीन–चार दिनमै यस्तो जाँचबुझ प्रतिवेदन आइसक्छ । उहाँको आचरणगत वा अभियोजनसम्बन्धी दायित्वको बारेमा छानबिन समितिले जाँच्ने हो । उहाँमाथि छानबिन हुने भएपछि पदमा राखिरहन नमिल्ने भएकाले महान्यायाधिवक्ताको कार्यालय ल्याइएको हो ।’ लुइँटेलको केही त्रुटि देखिए निजामती सेवा ऐनअनुसार कारबाही अघि बढ्ने उनको भनाइ छ । अभियोजनमा त्रुटि नदेखिए कुनै कारबाही नहुने र देखिए सचेत गराउनेदेखि गम्भीर त्रुटि भेटिए अन्य कारबाहीको व्यवस्था ऐनले गरेको रेग्मीको भनाइ छ । ‘अहिले नै यसमा के कारबाही हुन्छ भन्न सकिन्न,’ उनले भने ।
सबैतिरका सरकारी वकिलले संगठित अपराधको कसुरमा मुद्दा चलाएकोमा चितवनका जिल्ला न्यायाधिवक्ताले उस्तै प्रकृतिको घटनामा उक्त मुद्दा नलगाउँदा प्रश्न उठेकाले लुइँटेलमाथि छानबिन चलिरहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । कानुन, नियम र तथ्यका आधारमा अभियोजन हुनुपर्नेमा अन्यथा देखिएपछि त्यसको जवाफदेही अभियोजनकर्ता नै हुने भएकाले जाँचबुझका लागि समिति गठन भएको रेग्मीको भनाइ छ ।
‘यस्ता जाँचबुझ थुप्रै भइरहेका हुन्छन् । हाम्रा सरकारी वकिलमाथि जहाँ प्रश्न उठ्छ, त्यसको छानबिन महान्यायाधिवक्ताको कार्यालयले गर्छ । वकिल जवाफदेही हुनुपर्छ,’ रेग्मीले भने । कार्यालय स्रोतका अनुसार लेनदेनको गम्भीर आरोप लागेपछि एक महिनाअघि २४ घण्टाभित्र हाजिर हुने गरी जिल्ला र सहायक जिल्ला न्यायाधिवक्तालाई झिकाएर जाँचबुझ गरिएको थियो ।