आयोजक धरान फुटबल क्लब आइतबार पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लबसँग सडनडेथमा ७–६ ले पराजित हुँदै बुढासुब्बा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । निर्धारित समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । धरान र कार्साङले टाइब्रेकरमा पनि ५–५ गोल गरे । त्यसपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो । धरानका मनोज राईको प्रहार पोस्टमाथि गएपछि कार्साङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा धरानका दोर्जे तामाङ, विवेक राई, सुम जिमी, कार्लाेस सम र बाफोरले गोल गरे । सडनडेथमा धरानका प्रज्वल थापाले गोल गरे भने मनोज राईको प्रहार अकासिएको थियो । टाइब्रेकरमा कार्साङका विशाल क्षेत्री, सदीश राई, श्रीजल राई, रुस्तम प्रधान र राज राउतले गोल गरे । सडनडेथमा आकाश प्रधान र हेमराज भुजेलले गोल गर्न सफल भए ।
खेलको १७औँ मिनेटमा हेमराज भुजेलले उत्कृष्ट गोल गर्दै कार्साङलाई १–० को अग्रता दिलाए । नयन प्रधानले प्रहार गरेको बल धरानका गोलरक्षक प्रवीण लिम्बूले रोकेका थिए । गोलरक्षकबाट रिबाउन्ड भएको बललाई भुजेलले फिनिसिङ गरेका हुन् । खेलको ४४औँ मिनेटमा धरानका विनोद राईले खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । उनले मैदानको मध्यभागबाट एकल प्रदर्शनमा उत्कृष्ट गोल गरेका हुन् ।
धरानले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन ग¥यो । तर, धरानका खेलाडीले फिनिसिङ गर्न सकेनन् । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको धरानले दोस्रो हाफमा गोल अवसर धेरै गुमाएको थियो । दोस्रो हाफको ११औँ मिनेटमा मनोज राईको क्रसमा डिबक्सभित्रबाट तपन कार्कीले गोल गर्न चुके । दोस्रो हाफको २३औँ मिनेटमा कार्लाेसले दिएको पासलाई विवेक राईको हेडिङ पोस्टभन्दा बाहिर गयो । प्रतियोगिताको सोमबार इटहरीको राजा क्लब र भुटानको आरटिसीबिच खेल हुनेछ ।