मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
घरको आँगनमा इसरा र सरस्वतीका आमा, हजुर आमा र भाउजूहरू । सरस्वतीका बुबा उदयराम खड्काले हत्यामा ६ जना संलग्न रहेको दाबी गर्दै अन्यलाई पक्राउ नगर्दा झन् त्रास बढेको बताए । 
२o८१ माघ २० आइतबार o६:२४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘यौन प्रस्ताव अस्वीकार गरेपछि सरस्वती मारिइन्, अपराधबाट उम्किन इसराको पनि हत्या’

छोरीहरूको हत्यापछि विक्षिप्त परिवार त्रासले रातभर सुत्दैन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार o६:२४:oo

अछामका दुई किशोरी हत्यामा प्रहरी अनुसन्धान

अछामको ढकारी गाउँपालिका–१ छिन्ने ओढारको जंगलमा मृत भेटिएका किशोरीहरू १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इसरा खड्काको आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । ढकारी– ८, घोडासैन काँसेगडाका उनीहरूको ढकारी–३, तालीका १७ र १५ वर्षका दुई किशोरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ११ माघको हत्या घटनामा संलग्न दुई किशोर पक्राउ परेपछि उनीहरूकै बयानका आधारमा प्रहरीले विवरण सार्वजनिक गरेको हो ।

यसरी भएको थियो सरस्वती र इसराको हत्या

शनिबार पत्रकार सम्मेलन गरेर घटनाविवरण सार्वजनिक गर्दै अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारी

अछाम प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार सरस्वती र १५ वर्षीय किशोर तथा इसरा र १७ वर्षका किशोर प्रेममा थिए । यौन प्रस्ताव अस्वीकार गरेपछि प्रेमीले सरस्वतीको हत्या गरेको र इसराले घटना सार्वजनिक गरिदिने भनेपछि दुवै किशोर मिलेर उनको पनि हत्या गरेको अनुसन्धानमा देखिएको भण्डारीले बताए । उनीहरूबिच विगतमा पनि पटक–पटक भेट र फोनमा कुराकानी भएको देखिएको, हत्या भएको दुई दिनअघि पनि फोन सम्पर्क भएको र सल्लाहबमोजिम नै ११ माघमा उनीहरूबिच छिन्ने ओढारमा भेट भएको अनुसन्धानमा खुलेको छ । 

प्रहरीका अनुसार भेटको सुरुवात सौहार्द देखिन्छ । जंगलको ठुलो ढुंगामाथि बसेर उनीहरूले सेयरइटमार्फत मोबाइलमा रहेका गीत, भिडियो आदानप्रदान गरेका थिए । त्यसपछि दुवै किशोरले आफ्नी प्रेमिकासँग मायाको चिनोस्वरूप दोपट्टा मागेका थिए । तर, इसराले दोपट्टा दिए पनि सरस्वतीले अस्वीकार गरिन् । यत्तिकैमा सरस्वती र उनका प्रेमी त्यो ठाउँबाट अलि तल अर्को ठाउँमा गएर बस्छन् । त्यहाँ प्रेमीले सरस्वतीसँग यौन सम्बन्धको प्रस्ताव राख्छन् । सरस्वतीले विवाहको ग्यारेन्टी माग्छिन् । तर, प्रेमीले अहिले उमेर नपुगेकाले पाँच वर्षपछि विवाह गर्ने आश्वासनमा यौन सम्बन्धका लागि दबाब दिन्छन् । सरस्वती फेरि अस्वीकार गर्छिन् । प्रेमीको यौन प्रस्ताव अस्वीकार गरेकै कारण सरस्वतीको हत्या भएको डिएसपी भण्डारीले पत्रकार सम्मेलनमा बताए ।

‘सरस्वतीलाई आफ्नै प्रेमीले पछाडिबाट ठुलो ढुंगाले हिर्काएको देखिन्छ, त्यही चोटले उनको मृत्यु भएको हो,’ उनले भने ।

प्रहरीका अनुसार सरस्वतीको हत्या भइसक्दासम्म पनि इसरा र उनका प्रेमीलाई थाहा थिएन । उनीहरू केही टाढा थिए । तर, जब सरस्वतीको हत्यापछि उनका प्रेमीले भवितव्य देखाउन माथिबाट ढुंगा खसाउन थाले, तब इसरा र उनका प्रेमीलाई पनि घटनाबारे थाहा भयो । त्यसपछि सरस्वतीको शवनजिकै पुगेर इसराले ‘तिमीहरूले फुपूलाई मार्‍यौ, अब म घरमा भन्छु’ भन्दै चिच्याउन थालेपछि दुवै किशोर मिलेर उनलाई पनि ढुंगाले हानेर हत्या गरेका थिए । ‘इसरालाई सुरुमा उनकै प्रेमीले ढुंगा प्रहार गरेको र त्यसपछि अर्का किशोरले पनि सघाएर हत्या गरेको देखिन्छ,’ डिएसपी भण्डारीले भने । सरस्वती र इसरा नाताले फुपूभदैनी थिए । दुवै स्थानीय विद्या प्रबोधनी माविमा कक्षा ८ मा अध्ययन थिए । हत्यापछि घटनालाई भवितव्य देखाउन भिरमाथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेर घर हिँडेका उनीहरू गत आइतबार (१३ माघ) राति ढकारी– ३, तालीस्थित घरबाटै पक्राउ परेका थिए ।

प्रहरीका अनुसार घटना भएको दिन किशोरहरू ढकारी– १, डुफास्थित फुपूको घरबाट सरस्वती र इसरालाई भेट्न जंगल गएका थिए । माघीको कोसेली पुर्‍याउन फुपूको घर आएको मौका पारेर उक्त भेटको योजना बनेको थियो । किशोरहरूले छिन्ने ओढार जाने बाटो देखाइदिन भन्दै फुपूका १० वर्षीय छोरालाई समेत जंगल लिएर गएको अनुसन्धानमा खुलेको र ती बालक पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ । 

कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका दुई किशोरको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन । उनीहरूविरुद्ध यसअघि नै किटानी जाहेरी दर्ता भइसकेको छ । सरस्वती र इसराको शव भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम गरिएको छ, तर रिपोर्ट आउन बाँकी छ । त्रुटिरहित अनुसन्धान गर्ने प्रहरीको आश्वासनपछि परिवारले गत बुधबार उनीहरूको दाहसंस्कार गरेका छन् । यो घटनामा सिआइबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले अनुसन्धान गरेकोमा बाँकी अनुसन्धान जिल्ला प्रहरी कार्यालय एक्लैले गर्नेछ । 

छोरीहरूको हत्यापछि विक्षिप्त परिवार त्रासले रातभर सुत्दैन
सरस्वती र इसराको हत्या आरोपी सार्वजनिक भएपछि पनि गाउँले सुरक्षित महसुस गर्न सकेका छैनन् । छोरीहरूको हत्यापछि विक्षिप्त परिवार त डरले रातभर जाग्राम बस्ने गरेको छ । ‘हामी पीडामा छौँ, असुरक्षाको महसुस भएको छ,’ सरस्वतीका बुबा उदयराम खड्काले भने, ‘पीडा र डरले रातभर सुत्न सकिएको छैन ।’ उनले हत्यामा ६ जना संलग्न रहेको दाबी गर्दै अन्यलाई पक्राउ नगर्दा झन् त्रास बढेको बताए । 

उदयरामका पाँच सन्तानमा सरस्वती कान्छी थिइन् । उनको हत्यापछि यो घरको चुलोमा आगो बलेको छैन । मान्छे मात्रै होइन, गाईबस्तु पनि भोकभोकै छन् । घटनापछि आफूहरू डरले आँगन छोडेर बाहिर निस्किन नसकेको सरस्वतीकी कान्छीआमा जुनादेवी खड्काले बताइन् । ‘हामीलाई पनि मार्दिन्छ कि भन्ने डर छ,’ उनले भनिन्, ‘मेलापात जानै सक्दैनौँ ।’ 

छोरीको शव भेटिएको दिनदेखि सरस्वतीकी आमा तारा अझै अचेत छिन् । उनी खान, सुत्न मात्र होइन, बोल्नसमेत सक्दिनन् । ‘बोल्न सक्नुहुन्न,’ जुनादेवीले भनिन्, ‘इसराकी आमाको अवस्था पनि यस्तै हो ।’ 

डरले दुवै परिवार रातभर जाग्राम बस्ने गरेको इसराकी भाउजू कृष्णा विष्टले बताइन् । वरिपरि जंगलले घेरिएको काँसेगडा साँझ ढल्केपछि सुनसान हुन्छ । ‘राति कोठाबाट निस्कन धेरै डर लाग्छ,’ सरस्वतीकी भाउजू कल्पना खड्का भन्छिन्, ‘त्यो दिनदेखि एकछिन पनि निन्द्रा लागेको छैन ।’ 

यो दुई घरमा मात्र होइन, काँसेगडा टोलका सबै पाँच घर त्रासमा छ । ढकारी– ८ का पूर्ववडाध्यक्ष लालबहादुर भण्डारी यो घटनाले सिंगो गाउँमा त्रास उत्पन्न गरेको बताउँछन् । ‘यो टोलका सबैले असुरक्षित महसुस गरिरहेका छन्,’ उनले भने, ‘सुरक्षा निकायले यसबारे पनि सोचिदिनुपर्छ ।’