
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको भुक्तानी गर्न नरोकिने बताएका छन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कानुनअनुसार निर्माण व्यवसायीले पेस गरेको बिलको भुक्तानी हुने बताएका हुन्।
यस्तै, उनले पुँजीगत खर्च बढाउनतर्फ सरकारले पहल गरिरहेको पनि दाबी गरे। गत आवको तुलनामा पुँजीगत खर्च बढे तापनि पर्याप्त नभएको उनको भनाइ थियो।
यस्तै, सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने दाबी पनि गरे। सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको उनको भनाइ छ। ‘अर्थतन्त्रको समस्या पुरानो हो, तर नबुझ्नेहरूले समाधान तत्कालै चाहियो भन्दै हिँडेका छन्,’ उनले भने।
कार्यक्रमा फेजा अध्यक्ष अध्यक्ष शर्मिला ठकुरीले वर्तमान अर्थतन्त्रको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्। त्यसमाथि त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागकी पूर्वडिन प्राडा कुशुम शाक्यले कार्यपत्रमाथि टिप्पणी गरेकी थिइन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत सुधार र व्यावहारिक कार्यान्वयन आवश्यक भएको बताइन्।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले अर्थतन्त्र अहिलेको जटिल अवस्थामा आउनुमा अस्थिर सरकार रहेको औँल्याए। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले धितोपत्र बोर्डको नियमावली बन्ने प्रक्रियामा रहेको बताए।